पुस्तक : शिवपुरी सन्देशको नियात्रा विशेषाङ्क

सुशीला घिमिरे
Read Time = 7 mins

शिवपुरी सन्देश विगत २८ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको छ । यो नै मात्र पनि यसको सफलता हो । यसअवधिमा यस त्रैमासिकले आफ्नो १००औं अङ्क ‘नियात्रा विशेषाङ्कका रूपमा प्रकाशित भएको छ । यसका प्रधान सम्पादक तथा प्रकाशक वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी हुनुहुन्छ र उहाँकै प्रयमासमा पत्रिकाले यत्रो लामो फड्को मार्न सफल भएको छ । यस पत्रिकाको १००औं अङ्क २०८० वैशाख-असार अङ्कका रूपमा आएको छ । यसको यो १००औं अङ्क पुर्‍याउन वियोगी बुढाथोकी तथा उहाँको समूहको योगदान रहेको कुरा भनिरहनु पर्दैन । एकजनाको मात्र प्रयासबाट यस्तो सफलता प्राप्त हुन सम्भव थिएन र नै यसका लागि सबैको अथक प्रयास रहेको छ भनिएको हो ।

कुनै साहित्यिक पत्रिकालाई सयौं अङ्कसम्म पुर्‍याउनु आफैँमा एउटा ठूलो उपलब्धि हो जुन शिवपुरी सन्देशले हासिल गरेको छ । दुई-चार अङ्क प्रकाशित गरेर धेरै पत्रिकाहरू बन्दहुँदैआएको देखिएकै हो तर यसले यति लामो यात्रा गरेको छ । शिवपुरी सन्देशले विधिन्न अङ्कमा विभिन्न विशेषाङ्क प्रकाशित गर्दै आएकोमा सयौं अङ्कलाई नियात्रा विशेषाङ्कका रूपमा प्रकाशन गरेको छ । यसका लागि प्रधान सम्पादक तथा प्रकाशक बुढाथोकी, सम्पादक विष्णुबहादुर सिंह, यस अङ्कका लागि अतिथि सम्पादक विनोद नेपाल, व्यवस्थापक एकता बुढाथोकीलगायत व्यक्तिहरूको योगदान छ । डिएमआई साइजको स्तरीय यस पत्रिकाको नियात्रा विशेषाङ्क छपाइ र प्रयोग भएको कागजका दृष्टिकोणले स्तरीय छ । यो विशेषाङ्क १४८ पृष्ठको छ, यसको मूल्य २५० रुपैयाँ छ ।

नेपाली साहित्यका लागि यस पत्रिकाले लामो समयदेखि योगदान पुर्‍याउँदै आएको छ । यसरी निजी क्षेत्रबाट प्रकाशित गरी सयौं अङ्क पुर्‍याउन र यसको स्तरीय नियात्रा विशेषाङ्क प्रकाशित गर्न सफल भएकोका वियोगी बुढाथोकीलगायत यस पत्रिका संबद्ध समूह धन्यवादको पात्र बन्न सफल भएको छ । 

यस अङ्कमा पत्रिकाका प्रकाशक सम्पादकलगायतको जानकारीपछि यससका विशिष्ठ सदस्यहरूको नाम दिइएको छ । त्यसपछि सम्पादक द्वय वियोगी बुढाथोकी र विनोद नेपालको सम्पादकीय रहेको छ । नियात्रा : यो प्रेरक सिजना शीर्षकमा । त्यसपछि वरिष्ठ साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरे, मोहन दुवालका शुभकामना छन् । त्यसपछि विषय सूची रहेको छ । यस अङ्कमा जय छाङ्छा, कृष्ण प्रधान र प्राडा.कुमारप्रसाद कोइरालाका नियात्रा सिद्धान्तहरू रहेको पाइन्छ । घनश्याम राजकर्णिकार र चन्द्रप्रसाद भट्टराईका अन्तर्वार्ताहरू रहेको छन् भने देवीचन्द्र श्रेष्ठ र एकलव्यका संस्मरण छन् । प्रा.कपिल अज्ञात र अनुपमा रेग्मीका नियात्रा समीक्षाले पनि यसमा स्थान पाएका छ । अन्त्यमा तैँ चुप मै चुप र साहित्यिक समाचार छन् ।

यस अङ्कमा रञ्जुश्री पराजुली, विष्णुबहादुर सिंह, गोविन्दबहादुर कुँवर, बुद्धिराज पाण्डे, रामप्रसाद पन्त, वियोगी बुढाथोकी, किशोर पहाडी, वासुदेव गुरागाईं, प्रतीक ढकाल तथा विष्णुप्रसाद पराजुलीका नियात्राहरू समेटिएका छन् । यसैगरी यस अङ्कका अन्य नियात्रा लेखकहरूमा डा.दामोदर पुडासैनी, श्रीओम श्रेष्ठ ‘रोदन’, खगेन्द्र गिरी ‘कोपिला’, विनोद नेपाल, तुल्सीराम पुडासैनी, जीवा लामिछाने, युवराज नयाँघरे, ज्ञानेन्द्र विवश, गीता रेग्मी, जीविका अश्रु, प्रभा बराल र चेतनपथ माधव छन् ।

नियात्रा यात्रा निबन्ध हो । पहिले पहिले यात्रा निबन्ध भनिने गरेको निबन्धको एउटा प्रकार नै वर्तमान दिनमा नियात्राका रूपमा चिनिने गरेको छ । हालका दिनहरूमा बढी लेखिने र पढिने विधाका रूपमा यसलाई लिइन्छ । आफूले यात्रा गर्न नपाएका ठाउँहरूको विशेषता, अवस्थिति, सौन्दर्य तथा आफूल जानुपरे कहाँबाट कसरी जान सकिने रहेछ भन्नेजस्ता विविध जानकारी पाइने हुनाले नियात्रा पाठकको रुचिमा परेको विधा हो । यसलाई प्रवद्र्धन गर्ने प्रयास शिवपुरी सन्देशको यस अङ्कले विशेषाङ्क निकालेर गरेको छ ।

नेपाली साहित्यका लागि यस पत्रिकाले लामो समयदेखि योगदान पुर्‍याउँदै आएको छ । निजी क्षेत्रबाट प्रकाशित गरी सयौं अङ्क पुर्‍याउन र यसको स्तरीय नियात्रा विशेषाङ्क प्रकाशित गर्न सफल भएकोका वियोगी बुढाथोकीलगायत यस पत्रिका संबद्ध समूह धन्यवादको पात्र बन्न सफल भएको छ । शिवपुरी सन्देश समूलाई बधाई छ र आगामी दिनहरूमा पनि यसरी विभिन्न विधाका विशेषाङ्कहरूको प्रकाशनका लागि अग्रीम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?