खुट्टा गनाउने समस्या छ ? यसरी छुटकारा पाउनुहोस्

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । धेरैलाई खुट्टा गनाउने समस्याले सताउने गरेको छ । यसको कारण समयमा सरसफाई नगर्ने र लामो समय जुत्ता लगाएर बस्नुपर्ने हुन् । लामो समय जुत्ता लगाएर बस्दा खुट्टामा आएको पसिना हावाको कमीले समयमा सुक्न पाउँदैन र खुट्टा भिजेको रहिरहन्छ । खुट्टा पसिनाले भिजिराखेपछि त्यहाँबाट दुर्गन्ध आउने गर्छ । कोहीकोहीको खुट्टा यति गनाउँछ कि छेउको मानिस वा कोठामा रहेका अन्यलाई बसिनसक्नु हुन्छ । अब खुट्टा गनाउने समस्यालाई कसरी हटाउन सकिन्छ ।

घरेलु उपाय

अदुवालाई पिँधेर त्यसको रस निकाल्नुहोस् । त्यसपछि अदुवाको रसमा कपास भिजाउनुहोस् र त्यसलाई राति सुत्नुभन्दा अघि पाइतालामा दलेर रातभर छाड्नुहोस् । बिहान राम्रोसँग खुट्टा धुनुहोस् । खुट्टाको सरसफाइमा ध्यान दिनुहोस् । सफा जुत्ता तथा सफा मोजा लगाउने गर्नुहोस् । यदि यसो गर्दाप्नि खुट्टाबाट दुर्गन्ध आउने समस्या नहटेमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

मनतातो पानीमा नुन घोल्नुहोस् अनि त्यो घोलमा खुट्टा डुबाउनुहोस् । केहीबेर नुनपानीमा खुट्टा डुबाइसकेपछि निकाल्नुहोस् अनि चिसो पानीले मज्जाले खुट्टा पखाल्नुहोस् । सिधे नुन पानीमा घोलेर खुट्टा डुबाउँदा अझ लाभदायी हुन्छ ।

एउटा भाँडोमा मनतातो पानी राखेर त्यसमा दुइ चम्चा बेकिङ सोडा तथा कागतीको रस हाल्नुहोस् । अनि त्यसमा दश मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । हप्तामा एकपटक यसो गर्दा खुट्टा गन्हाउने समस्या कम हुन्छ ।

राम्रोसँग पिँधेर मीहिन बनाएको अलिकति मकैको पिठो जुत्ताभित्र हाल्नुहोस् । यसले खुट्टाबाट निस्किने पसिना सोस्दछ अनि खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ । जुत्ता र खुट्टा भने हरेक दिन सफा गर्नुपर्छ ।

नुनले खुट्टाबाट आउने दुर्गन्धलाई कम गर्छ । मन्तातो पानीमा नुन हालेर खुट्टा केहीबेर राख्नुहोस् र त्यसपछि राम्रोसँग चिसो पानीले धुनुहोस् ।

बेकिङ सोडा खुट्टाको दुर्गन्ध रोक्ने सबैभन्दा सरल र सस्तो उपाय हो । मनतातो पानीमा दुई चम्ची बेकिङ सोडा र कागतीको रस राख्नुहोस् । त्यसपछि त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टामा सफा मोजा लगाउनुहोस् । यो हप्तामा कम्तिमा एकपटक गर्नुहोस्।

कागती पानी मिलाएर खुट्टा धोए पनि खुट्टा गनाउने समस्याबाट छुटकारा पाउन सिकन्छ । अझ कागती टुक्रा लिएर खुट्टामा दलेर खुट्टा धोए भने त्यसको असर झन् चाँडो हुन्छ ।

चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर राख्नुहोस् । यसले खुट्टाको दुर्गन्ध कम गर्न मद्दत गर्छ ।

एउटा भाँडामा पानी लिनुहोस् र एक चौथाई कप विनेगर हाल्नुहोस् । त्यसमा १० मिनेटसम्म खुट्टालाई डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टा पुछेर क्रिम लगाउनुहोस् । यसको साथै दैनिक रुपमा खुट्टा धुने र सफा र सुतीको मोजा लगाउने गरे खुट्टा गनाउने समस्याबाट पार पाउन सकिन्छ ।

चिकित्सकको सल्लाह

जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुट्टा खुल्ला राख्नुपर्छ ।

खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केही बेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ ।

नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा व्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेष गरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ ।

कपडाको जुत्ता लगाउनु बेश हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नुहोस् । विशेष गरी गर्मीको याममा त जुत्ताभन्दा चप्पलरस्लीपर जुत्ता लगाए नै वेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ । तुना बान्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ ।

मोजा गनाउने समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ, ताकि त्यसमा फंगसका कुनै चिन्ह नरहुन् । साथै पसिनाको गन्ध पनि जाओस् र खुट्टा नगनाओस् ।

नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०-१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टामा पाउडर लगाएर काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु बेश हुन्छ । यसले पसिना आउन कम गर्छ र पसिना कम आएपछि फंगस पनि केही कम हुन्छ ।

स्वीमिगं पुलको वरिपरि, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा बेश हुन्छ किन भने यस्तो ठाउँबाट फंगस सर्ने बढी सम्भावना हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?