गीत लेखन र निर्देशनमा पूजाका पदचाप

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गीतकार र निर्देशकका रूपमा आफूलाई श्रोता/दर्शकमाझ चिनाउनु भएकी पूजा ठकुरीका एक दर्जनभन्दा बढी गीत सार्वजनिक भएका छन् भने त्यतिकै संख्यामा उहाँले आफ्नो निर्देशन कला पनि दर्शकमाझ पस्किनु भएको छ । सुदूर पश्चिमको महेन्द्रनगर कञ्चनपुरकी स्थायी बासिन्दा पूजा काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन पस्किरहनु भएको छ । उहाँका ‘भुल्नै गाह्रो भयो’, ‘ओ झेली माया’, ‘तिम्रै नामको कात्रो ओढेर’, ‘डालिले पात फेर्छ’ जस्ता गीत लोकप्रिय रहेका छन् । विसं २०७४ देखि गीतसंगीतको क्षेत्रमा होमिनुभएकी पूजाले ‘भुल्नै गाह्रो भयो’मार्फत संगीत क्षेत्रमा पहिलो पाइला चाल्नुभएको हो ।

नेपाली गीत लेखनको फाँटमा एक आशा लाग्दो गीतकारका रुपमा पूजाको चर्चा हुन्छ भने उहाँको निर्देशन कलाले पनि तारिफ बटुलिरहेको पाइन्छ । उहाँ नेपाली गीत लेखनमा केही फरक तथा नौलोपन दिएर आफ्नो भिन्नै चिनारी बनाउने राजमार्गमा हुनुहुन्छ । गीति लेखनबाट चर्चा कमाइ रहनुभएकी पूजा म्युजिक भिडियो निर्देशनतिर पनि व्यस्त हुनुहुन्छ ।

चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘एउटा प्रश्न’, प्रविण बेडवालको ‘मलाई भन्थे सबैले’, ‘सुसेलीले डाकौं भने’, प्रमोद खरेलको स्वरमा रहेको गीत ‘म परदेश जान्छु’, अनु चौधरीको ‘अलिअलि हँसाउँदै अलिअलि रिसाउँदै’, हेमन्त शिशिरको ‘हिजो हँसायौ’, रचना रिमालको ‘कति पनि’, ‘वसन्तमा डालिले पात फेर्छ’, ‘तिम्रो नामको सिन्दुर’लगायत गीतहरू उहाँको निर्देशनमा श्रोता/दर्शकमाझ आउका छन् भने केही भिडियोहरू बजारमा आउनेक्रममा छन् ।

आफूलाई निर्देशन र लेखन दुवै विधा प्रिय लाग्ने भएकाले दुवै विधामार्फत सांगीतिक क्षेत्रमा अगाडि बढेर केही गरौ भन्ने चाहाना रहेको पूजा बताउनुहुन्छ । गीतसंगीत तथा भिडियो निर्देशनको विधामा केही फरकपन दिएर आफूले गरेका कामलाई जीवन्त बनाउने र निरन्तर सांगीतिक क्षेत्रमा नै संघर्ष गरिरहने पूजा पछिल्लो समय दर्शकको रुचिमा पर्न थाल्नुभएको छ । आफ्नौ छुट्टै पहिचान बनाउने दौडधुपमा निरन्तर लागिरहनुभएकी उहाँ डान्सिङ गीतभन्दा सेन्टिमेन्टल गीतहरूमा आफ्नो बढी रुचि रहेको र तिनै गीतहरूलाई आफूले रचना गर्ने तथा भिडियो निर्माण गर्ने गरेको सुनाउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?