श्रम कूटनीतिमा जोड

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले श्रम कूटनीतिलाई देशले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल-युएई चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले खाडी र अन्य श्रम गन्तव्य मुलुकसँगको द्विपक्षीय सम्बन्धमा श्रम कूटनीति अपरिहार्य रहेको बताउनुभएको हो । युएईमा ठूलो संख्यामा नेपाली आप्रवासी कामदार रहेकाले नेपालले जनता-जनताबीचको सम्बन्ध प्रवद्र्धन गर्न सक्ने उहाँको भनाइ थियो ।

चेम्बरले राजदूत क्षेत्रीसहित नेपालका लागि युएईका नवनियुक्त राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शम्सीको स्वागतमा आयोजना गरेको उक्त कार्यक्रममा राजदूत क्षेत्रीले नेपालबाट हुने कपडा, गलैँचा र हस्तकलाले युएईमा राम्रो बजार पाउन सक्ने र त्यहाँको बजारमा नेपाली सामान प्रवद्र्धन गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खाडी मुलुक नेपालका लागि पर्यटन र लगानीको राम्रो स्रोत हुन सक्ने पनि उहाँले बताउनुभयो । राजदूत क्षेत्रीले भन्नुभयो, ‘नेपालले उच्च मूल्यका वस्तु युएईको बजारमा निर्यात गरी पर्यटक आकर्षित गर्ने रणनीति बनाउनुपर्छ, युएईबाट पर्यटकको संख्या बढाउनुपर्ने आवश्यकता छ किनकि गत वर्ष करिब छ सय पर्यटकमात्र नेपाल आएका थिए ।’

नेपालस्थित युएईका राजदूत अल शम्सीले दुवै देशले सहकार्यबाट लाभान्वित हुने गरी भविष्य निर्माण गर्ने प्रतिबद्धता गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता युएईका लागि राम्रो आकर्षण हुन सक्ने बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले युएईको समृद्धिमा नेपाली कामदारको भूमिका अपार रहे पनि त्यहाँ समस्यामा परेको भन्दै नेपालले व्यावसायिक सुरक्षा उपाय लागू गर्नुपर्ने र त्यसका लागि युएई सरकारलाई अनुरोध गर्नुपर्ने बताउनुभयो । युएईको आवश्यकता हेरेर नेपालमा रोजगार अभिमुखीकरण केन्द्र बढाउनुपर्ने उहाँको भनाइ थियो । गत वर्ष नेपालबाट करिब सात लाख नेपाली वैदेशिक रोजगारीमा गए पनि नेपालको अभिमुखीकरण केन्द्रले वर्षमा करिब एक लाखलाई मात्रै तालिम दिन सकेको सचिव भण्डारीले बताउनुभयो । उहाँले जलवायु परिवर्तनका मुद्दालाई विश्वव्यापी रूपमा उठाउन नेपाल सरकारलाई कोपलाई प्लेटफर्मका रूपमा प्रयोग गर्न पनि सुझाव दिनुभयो । युएईमा हुने आगामी कोप सम्मेलनमा ३३ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

नेपाल युएई चेम्बरका अध्यक्ष पवनकुमार अग्रवालले नेपाली व्यवसायीलाई युएईका व्यवसायीसँग सम्बन्ध स्थापित गर्न वा त्यहाँ व्यवसाय विस्तारका लागि द्विराष्ट्रिय चेम्बरले प्रयास गर्दै आएको बताउनुभयो ।

नेपालमा लगानी आकर्षित गर्न र त्यहाँ नेपाली उत्पादन प्रवद्र्धन गर्न युएईमा वकालत अभियान चलाउन उहाँले राजदूत क्षेत्रीलाई आग्रहसमेत गर्नुभयो । सरकारी तथ्यांकअनुसार करिब पाँच लाख नेपाली रोजगारीका लागि युएईमा रहेका छन् भने २८ करोड ५० लाख अमेरिकी डलर रेमिट्यान्स आउने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?