सर्वोच्च अदालतमा आजदेखि ‘पेसी तारेख अटोमेसन सिष्टम’ सुरु हुँदै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सर्वोच्च अदालतले आज(सोमबार) देखि ‘पेसी तारेख अटोमेसन सिष्टम’ सुरु गर्ने भएको छ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले सो सिष्टम सुरु गर्न लागेको जानकारी दिनुभएको हो । आइतबार बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँगको सामूहिक भेटमा उहाँले अदालतभित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पार्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेसन सिष्टमको सुरुवात गर्नुपरेको बताउनुभयो । उहाँले प्रविधिकै माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताउनुभयो । सर्वोच्च अदालतपछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिष्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ । उहाँले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानविन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सकभर हामीहरू चाहिँ एउटा प्रविधिबाटै जाऊँ । यस्तै माध्यमबाट हामी अनियमिततालाई छेक्ने, अनियमितता हुन नदिने आदि कुराहरू सानातिना व्यवस्थापकीय कार्यहरूबाट पनि गर्न सकिन्छ होला ।’ कर्मचारीहरूले त्यो प्रविधिमा आबद्ध भएनन् भने कामै अगाडि नबढ्ने र जान्नैपर्ने बाध्यता भएको उहाँको जिकिर छ ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले सुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले न्यायाधीश नियुक्ति नगरी नहुने भएकाले आफू त्यसमा लागिपरेको बताउनुभयो । मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरू समेत नहुँदा अफ्ठयारो भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ थियो । उहाँले भन्नुभयो, ‘न्यायाधीश नियुक्तिको विषय म तत्काल गरिहाल्छु । न्यायाधीश नियुक्ति नगरी नहुने भएको छ । त्यो मैले महसुस गरेको छु । म त्यसमा लागिसकेको छु । छिट्टै त्यो नतिजामा आउँछ होला । साथीहरू कम छन् । मुद्दाहरूको बोझ छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?