सिमसार संरक्षणमा जुट्दै सन्दकपूर

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । सन्दकपूर गाउँपालिका इलामका नदीनालाको मुहान क्षेत्र मात्रै हैन इलाम सदरमुकामका हजारौ नागरिकको खानेपानी श्रोत पनि हो । सिमसार र नदिनालाको मुहान क्षेत्र रहेको सन्दपूर क्षेत्रको हिमाली क्षेत्रमा अहिले वन संरक्षणका काम पनि धमाधम हुँदै आएका छन् ।

सन्दकपूर गाउँपालिका इलामको शिर हो । सन्दकपूर मुहान भएर बन्ने नदीले इलाममा मात्रै नभएर झापामा हजारौँ हेक्टर जमिन सिचाईसँगै खानेपानीको श्रोत पनि भएको छ । सन्दकपूर पुवा, माई, राते, मेवा, धुवा, जमुना, इङ्ला, गिताङ खोलाको मुहान क्षेत्र हो ।

यी खोला मिसिएर बनेको नदीलाई इलामको चुरे क्षेत्र र झापामा कन्काई नदी भनिन्छ । लाखौँको जिविपोपार्जनको माध्यम बनेको नदीको मुहान क्षेत्र रहेका र सिमसार क्षेत्र संरक्षण सन्दकपूर पालिकाको प्राथमिकता हो । सिमसार क्षेत्रमा जैविक विविधता संरक्षणसँगै वृक्षारोपणको काम हुँदै आएको सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताउनुभयो ।

सिमसार संरक्षणको थालनी पालिकाको पहिलो ५ वर्षे कार्यकालमा नै भएको थियो । नेपाल भारत सीमा क्षेत्रका उजाड डाँडाहरुमा वृक्षरोपण गर्ने निति लिएको पालिकाले स्थानीय जातका रुखबिरुवाको नर्सरी नै स्थापना गरेको छ ।

नर्सरीमा हरेक वर्ष २ लाख बढी बिरुवा उत्पादन हुने गरेको हो । नर्सरीमा उत्पादन भएको बिरुवा सामुदायीक वन समूहको समन्वयमा वृक्षरोपण हुदै आएको छ । यती मात्रै हैन छिमेकी पालिकाहरुलाई वृक्षरोपणका लागि बिरुवा हस्तान्तरण समेत हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनुभयो ।

भारतसँग सीमा जोडिएको सन्दकपूरको भारतीय भु-भागमा सिंहलिला संरक्षित क्षेत्र छ । जसका कारण सयौँ चराहरु र वन्यजन्तुको बास  नेपालपट्टि पनि हुने भएकाले वन संरक्षण र विस्तारमा पालिकाले लगानी गर्दै आएको हो । पालिकाको काममा इलाममा विद्युत उत्पादन गर्ने जलविद्युत आयोजनाहरुले पनि सहयोग गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?