ममाथि एकतर्फी प्रहार भयो : नम्रता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सारुक ताम्राकार आत्महत्या प्रकरणमा आफूविरुद्ध एकतर्फी प्रहार गरिएको नायिका नम्रता श्रेष्ठले गुनासो गर्नुभएको छ । अभिनेत्री श्रेष्ठले अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको प्रकरणमा आफूविरुद्ध एकतर्फी रूपमा प्रहार गरिएको सामाजिक सञ्जालमार्फत गुनासो गर्नुभएको हो ।

उहाँले केही मुठ्ठीभरका मानिसहरू आफूविरुद्ध हात धोएर लागेको पनि जिकिर गर्नुभएको छ । उहाँले आफूलाई सारुकको आत्महत्याको मुख्य कारक ठहर गर्ने प्रयास गरिएको र आफूविरुद्ध गलत हल्ला फैलाइएको समेत लेख्नुभएको छ । उहाँले आफू क्यानडा नगएको तर मिडियामा क्यानडा भागेको भनेर गलत हल्ला फैलाइएको समेत बताउनुभएको छ ।

‘मेरो परिवार र हाम्रो कानुनी टिमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं, एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु,’ उहाँले लेख्नुभएको छ ।

सारुक ताम्राकारले आत्महत्या गरेपछि उहाँले काम गरिरहेको चलचित्र ‘माया’ की कलाकारसमेत रहनुभएकी नम्रतालाई नै कारक ठहर गर्नेगरी केही हल्ला बाहिरिएका थिए । केहीले सारुक र नम्रताको झगडा भएको समेत दाबी गर्ने गरेका छन् ।

उहाँले सारुकको निधनप्रति श्रद्धाञ्जलि दिँदै परिवारप्रति समवेदना व्यक्त गरेर आफ्नो कुरा सुरु गर्नु भएको छ । यस्तै, सारुकको आत्महत्याले आफूलाई अचम्मित तुल्याएको पनि बताउनुभएको छ । घटना केही समयअघिको भए पनि अहिले सामाजिक सञ्जालमार्फत् यसबारे बोल्न बाध्य भएको उहाँको भनाइ छ ।

आफू विरलै मिडियामा आउने गरेको तर यो घटनापश्चात् एकलौटी रूपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचार लेख्न र लेखाउन केही अनलाइन मिडियाहरू, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लागेको र यो क्रियाकलापलाई उहाँको परिवार र कानुनी समूहले नजिकबाट नियालेका उहाँले उल्लेख गर्नुभएको छ ।

अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उहाँले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको बताउनुभएको छ । ‘तर यहाँ एकतर्फी रूपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ,’ उहाँले भन्नुभएको छ, ‘आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैन ।’

सारुकको डेढ महिनाअघि र सारुकका बुबाको शनिबार निधन भएको थियो । छोराको निधनबाट विक्षिप्त बन्नुभएका सानुको निधन भएको हो । सारुकको निधनपछि नम्रता विवादमा तानिँदै आउनुभएको थियो । उहाँ सारुकसँग अफेयरमा रहेको र मृत्युअघि उहाँहरूबीचको झगडा परेका जस्ता कुराहरू बाहिर आएका थिए । सारुकको निधनपछि नम्रताले सार्वजनिक रूपमा कुनै पनि टिप्पणी गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?