बँदेल र बाँदरले भोकमरी गराउने डर

हिमालय टाइम्स
Read Time = 5 mins

-नविनकुमार शर्मा

दैलेख । जब रातपर्छ अनि गाउँमा हो हल्ला गर्दै भाँडा बजाउनु पर्ने दैनिकी नारायण नगरपालिका–१ धाउने गाउँका शिव पुलामीको छ । मकैको घोगा लाग्ने बेलामा बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उहाँ मात्र होइन गाउँका सबै किसानहरूको रात अहिले मकै बारीमा नै बित्ने गरेको छ ।

गाउँघरबाट सहरतिर वस्ती सर्ने र युवाहरू विदेश जाने क्रम बढेपछि गाउँमा बस्ने मानिसहरूको संख्या दिनदिनै घट्दै जाँदा गाउँघर खाली हुँदै गएका छन् । जसका कारण जंगली जनावरहरू गाउँबस्तीमै प्रवेश गरेर खेतबारी नष्ट गर्न थालेका छन् ।

बँदेल र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि किसानहरू मारमा परेका छन् । जंगल क्षेत्रको विस्तारसँगै नजिक आउने जंगली जनावरले यसरी मकैखेती सखाप पारेपछि भोकमरी गराउने चिन्ता किसानहरूमा आएको छ । केही दिनभित्र भित्र्याउन तयार हुन लागेको मकै खेती जंगली जनावरले सखाप पार्दा किसानहरू अब कसरी आफ्नो परिवारलाई खाने जोहो गर्ने भनेर वैकल्पिक खोजीमा लाग्न थालेका छन् ।

नारायण नगरपालिकाका अन्य वडाहरू लगायत जिल्लाका अधिकांश गाउँघरमा अहिले बँदेल र बाँदरले मकैखेती नष्ट गरेको गुनासो आउन थालेको छ । कृषि विकास कार्यालय दैलेखका अनुसार यहाँका ११ स्थानीय तहमा बँदेल र बाँदरले किसानको मकैखेती मात्र नभई अन्य खेतीमासमेत क्षति पु¥याउँदै आएको देखिन्छ । कार्यालय प्रमुख दशरथ पाण्डेले दैलेखका सबै स्थानीय तहका ९० वडामा २१ हजार १७५ हेक्टरमा किसानले मकैखेती लगाउँदै आएको बताउनुभयो ।

उहाँले पछिल्ला वर्षमा समेत जंगली जनावरले किसानको बालीमा क्षति गर्ने गरेको र यस वर्षमा अत्यधिक मात्रमा बँदेल र बाँदरले मकैखेती नष्ट गरेको बताउनुभयो । किसानहरूको नष्ट भएको खेतीको राहत उपलब्ध गराउन नसकिएको बताउँदै अहिले मकैखेतीको समय हो, बँदेल र बाँदरले मकैखेतीमा क्षति पु¥याउँदै आएको छ, यसलाई नियन्त्रण गर्न आम किसानसँगै सम्बन्धित स्थानीय निकायहरूले समेत चाँसो देखाउनु पर्ने उहाँले बताउनुभयो ।

दुःख पसिना बगाएर लगाएको खेती एक रातमा सबै सखाप पार्ने गरेको बताउँदै भैरवी गाउँपालिकाका–३ का भद्रबहादुर केसी भन्नुहुन्छ, ‘धेरैको संख्यामा आउने बँदेलले बारीमा पसेपछि सबै मकैका बुटाहरू फेदबाट काटिदिन्छ र भर्खर गेडा लाग्न लागेको मकै खाएर जान्छ ।

पटक–पटक स्थानीय सरकारलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ भएको छैन ।’ कृषि शाखा प्रमुख प्रकाश भट्टराईले एक वडामा पाँचदेखि सात रोपनी जग्गामा किसानले लगाएको मकैमा बँदेलले क्षति पु¥याएको हुन सक्ने बताउनुहुन्छ ।

गाउँपालिकाका सबै वडाबाट जंगली जनावरले पुर्याएको क्षतिको विवरण संकलन गर्ने कामलाई तीव्रता दिएको समेत उहाँको भनाइ छ । मकैबालीमा बँदेल र बाँदरले भैरवी गाउँपालिका–१, २, ३, ४, ५ वडामा बढी मात्रमा क्षति पुगेको पुर्याएको छ । दैलेख जिल्लामा यस वर्ष मकैखेतीमा जंगली जनावरले कति क्षति पुर्यायो भन्ने यकिन विवरण हालसम्म कुनै निकायहरूसँग रहेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?