नेपालमा धार्मिक लडाई राजनीति र लोकतन्त्रकै कारण हुँदैछ : प्रसाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले नेपालमा लोकतन्त्र र अस्थिर राजनीतिका कारण अराजक तत्व भित्रिएको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले राजनीति र लोकतन्त्रकै कारण आर्थिक मन्दी भएको, आगामी महिनादेखि चरम लुटपाट हुनसक्नेसमेत आशंका व्यक्त गर्नुभयो । प्रसाईले सरकारप्रति लक्षित गर्दै भन्नुभयो, ‘कसले खानुपर्छ खाउ, केवल जनतालाई गरी खाने वातावरण देऊ ।’

उहाँले एमाले अध्यक्ष केपी ओलीतिर लक्षित गर्दै भन्नुभयो, ‘केपी बा प्रसाई यस्तो-उस्तो भनेर हिँड्नुभएको छ । उहाँले आफूलाई एक पटक फर्किएर राम्ररी हेर्नु होला ओली कस्तो मान्छे भनेर जनताले चिनिसकेका छन् ।’ नेपालमा केही वर्षयता ५५ जना व्यापारी र १० जना शीर्ष पार्टीका नेता मिलेर सर्वत्र हालिमुहाली गरेको उहाँको आरोप छ ।

बैंक पनि यिनैका हातमा, लघुवित्त पनि यिनैका हातमा, सहकारी-इन्स्योरेन्स, रक्सी र सवारीसाधानमा पनि उनीहरूले कब्जा गरेका कारण नेपालमा चरम आर्थिक मन्दी देखिएको उहाँले बताउनुभयो । ‘बैंक र लघुवित्तको कर्जा तिर्न नसकेर मान्छे झुण्डिएर मर्न थाले । लघुवित्तको पैसा तिर्न नसक्दा एउटै रुखमा तीन चेली झुण्डिएर आत्महत्या गरे मेरै गाउँमा । यही दुःखद् परिस्थितिको अन्त्य गर्न हामीले महाअभियान थाल्न लागेका हौं,’ उहाँले भन्नुभयो, ‘हिजो यिनै जनताले गणतन्त्र ल्याए । भोलि राजतन्त्र फर्काउँछन् । जनताले खुशी भएर राजा राख्छन् भने कसलाई किन टाउको दुखाइ छ । यो त जनताको हातमा छ ।’

पहिलो संघीयता खारेज गर्नुपर्ने, दोस्रो, धर्मनिरपेक्षताको साटो वैदिक सनातन राज्य बनाउनुपर्ने र तेस्रो, देशमा गरिखान पाउने व्यावसायिक वातावरण हुनुपर्ने उहाँको माग छ । गणतन्त्रसँग जनता खुशी छैनन्, तर राजसंस्था चाहिन्छ भनेर पनि खुलेर भन्न थालेको उहाँको दाबी छ । देश र जनताका लागि लडेकै कारण चौतर्फी आक्रमण आफूमाथि भइरहेको र यसको प्रतिरक्षा जनतासँग मिलेर गर्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?