आज जनैपूर्णिमा, रक्षाबन्धन, गाईजात्रा, ऋषितर्पणी, क्वाँटी खाने दिन र संस्कृत दिवस

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । आज (बिहीबार) एकैदिन धेरै पर्व परेका छन् । आज जनैपूर्णिमा, रक्षाबन्धन, गाईजात्रा, ऋषितर्पणी, क्वाँटी खाने दिन र संस्कृत दिवस परेका छन् । यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा आज विविध कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष रक्षाबन्धन र गाईजात्रा एकदिन पर्न गएकाले आज दुवै पर्व मनाइँदै छ ।

जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी
हिन्दू धर्मावलम्बीहरूले आज जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी पर्व मनाउँदै छन् । जनै लगाउनेहरूले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । यसैदिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रही आएको छ । शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राहृमण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको सांगे (समाप्ति)को दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ ।

यसदिन स्नान गरी सप्तऋषिसहित ब्रहृमा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।

यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाट लगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रूपमा मनाउँछन् ।

जनै पूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ ।

गाईजात्रा पर्व देशभर मनाइँदै
भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ । काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर, पाटनसहित विशेष गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाईजात्रा पर्व मनाइन्छ । मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाईजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरूको तस्बिरका साथै पुतलाहरू बनाएर आ-आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ । गाई र मानिसलाई सिँगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफूल, मिठाई, दुध, दहीलगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ ।

यसरी नगरपरिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ । राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकले विहृवल भएकी आफ्नी रानीलाई फकाउनका लागि हाम्रो छोरा जस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आ-आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको जनश्रुति पाइन्छ ।

यतिले पनि रानीको मन शान्त हुन नसकेकाले गाईजात्रा पर्वमा विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप आजसम्म सोही परम्पराअनुसार यो पर्व मनाइँदै आएको मानिन्छ । आजदेखि आठ दिनसम्म लगातार विभिन्न जात्रा पर्वहरू मनाउने प्रचलन छ ।

विश्व संस्कृत दिवस
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार प्रसारमा सहयोग पुर्‍याउने हेतुका साथ आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संस्कृत भाषाको संवद्र्धन तथा प्रवद्र्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो ।

श्रावण शुक्ल पूर्णिमा ऋषिहरूसँग जोडिएको ऋषि तर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसैदिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको सुरुवात गरिएको हो । संस्कृतलाई सबैभन्दा पुरानो भाषाका रूपमा लिइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?