सत्तामोहले कानुन निर्माणमा बाधा

नन्दराम जैशी
Read Time = 5 mins

सुर्खेत । गतवर्ष पुस १८ गते दोस्रो कार्यकालको पहिलो बैठक बसेको कर्णाली प्रदेशसभाले यही भदौ १८ मा आठ महिना पूरा गर्दै छ । तर, आठ महिनासम्म जम्मा तीनवटा मात्रै कानुन बनेका छन् । प्रदेशसभाको यो अवधिको कामलाई हेर्ने हो भने सांसदहरू सत्तामोहमै अड्किएका छन् । सरकार जोगाउने खेलले कानुन निर्माणमा बाधा पुगेको छ । दोस्रो कार्यकालको प्रदेशसभा गठनयता हालसम्म जम्मा सातवटा मात्रै विधेयक संसद्मा दर्ता भएका छन् । प्रदेशसभामा दर्ता भएका सात विधेयकमध्ये तीनवटाले कानुनको रूप लिएका छन् भने बाँकी चार विधेयक हाल संसदीय समितिमा छलफलका लागि पठाइएको छ ।

कानुन निर्माणको मुख्य जिम्मेवारी भए पनि कर्णाली प्रदेशसभाले यो अवधिमा अपेक्षाअनुसार कानुन निर्माण गर्न सकेको छैन । आठ महिनामा जम्मा तीनवटा मात्र कानुन निर्माण हुनुले कर्णालीमा कानुन निर्माणको गति सुस्त रहेको देखाउँछ । मुख्यमन्त्री चयन र पटक–पटक मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने काममा प्रदेशसभा अल्झिँदा कानुन निर्माणले गति लिन नसकेको हो । संसद् बिजनेसविहीन हुने स्थितिले पनि कानुन निर्माणले अपेक्षित गति लिन नसकेको प्रदेशसभा सचिवालयले जनाएकोे छ ।

आफ्नो दायित्वबाट विमुख हुँदा दोस्रो कार्यकालको प्रदेशसभा गठन भएको झण्डै पाँच महिनासम्म सिंगो संसद् नै ‘बन्धक’ जस्तै बनेको थियो । जसले गर्दा पनि कानुन निर्माणमा प्रगति देखा पर्न सकेन । नीति निर्माणमा जनताबाट चुनिएर गएका सांसदहरू नै सत्ता जोगाउने खेलले लामो समय कामविहीन भए । सरकारले संसद्लाई पर्याप्त बिजनेससमेत दिन सकेन ।

यी हुन् दर्ता र पारित विधेयक
दोस्रो कार्यकालको प्रदेशसभा गठनयता संसद्मा दर्ता भएका सात विधेयकमध्ये आर्थिक विधेयक, विनियोजन विधेयक र कर्णाली प्रशिक्षण प्रतिष्ठान विधेयक गरी जम्मा तीनवटा विधेयक पारित भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार यी विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनको तहमा पुगिसकेका छन् ।

तर, बाँकी चारवटा विधेयकलाई संसद्ले कानुनको रूप दिन सकेको छैन । प्रदेशसभामा दर्ता भएका कर्णाली प्रदेश खेलकुदसम्बन्धी संशोधन विधेयक, विद्युत्सम्बन्धी विधेयक, कर्णाली प्रदेश निजामती सेवा गठन तथा सञ्चालनसम्बन्धी विधेयक र कर्णाली प्रदेश प्रहरी सेवा गठनसम्बन्धी विधेयक हाल दफाबार छलफलका लागि विषयगत समितिमा पठाइएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा पनि संसद्मा पेस भएका यी विधेयकमाथि विषयगत समितिमा दफाबार छलफलसमेत भएको थियो । तर, विधेयकहरू सच्याउनुपर्ने भन्दै रोकिएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा जम्मा ६४ वटा विधेयक दर्ता हुँदा ५३ वटा कानुन बनेका थिए भने ११ वटा विधेयक निष्क्रिय भएका थिए ।

४९ बैठक सम्पन्न, दुई अवरुद्ध
प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेशसभा गठन भएयता ४९ वटा बैठक बसेका छन् । जसमा दुईवटा अधिवेशन भएका छन् । पहिलो अधिवेशनमा १५ र चालु अधिवेशनमा ३४ वटा बैठक सम्पन्न भएको बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार दोस्रो कार्यकालमा हालसम्म दुईवटा बैठक अवरुद्ध भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले चालु आर्थिक वर्षका लागि पेस गरेको बजेट न्यायोचित नभएको तथा कर्णालीका दुर्गम जिल्लामा नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवामा लगाएको प्रतिबन्धको विरोधमा प्रदेशसभाका दुईवटा बैठक अवरुद्ध गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?