एमाले लुम्बिनी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चुन्ने प्रयास असफल

रिजाल र कँडेलबीच चुनावी प्रतिस्पर्धा हुँदै

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनले नयाँ नेतृत्व निर्विरोध चयन गर्न असफल भएको छ । अध्यक्ष केपी शर्मा ओलीले समेत सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिए पनि प्रदेश अध्यक्षका लागि चुनाव नै हुने अवस्था आएको हो । खासगरी एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पक्षबीच अघोषित प्रतिस्पर्धा र द्वन्द्व देखिएको लुम्बिनीमा नेतृत्वका लागि चुनाव हुने भएको हो । शनिबारदेखि बुटवलमा जारी प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनाव गर्न लागिएको हो । एकजना पोलिटब्युरो सदस्यका अनुसार अध्यक्षका आकांक्षी हरि रिजाल र राधाकृष्ण कँडेलबीच सहमति नजुटेको हो । एमाले केन्द्रीय सदस्य रिजाल महासचिव शंकर पोखरेलको साथ लिएर प्रदेश अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

वर्तमान अध्यक्ष कँडेल उपाध्यक्ष विष्णु पौडेलको साथ लिएर फेरि दोहोरिन चाहनुभएको छ । तर, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अधिवेशन उद्घाटन समारोहमा कुनै उम्मेदवारलाई नबोकेको बताउनुभएको थियो । यसैबीच महासचिव पोखरेलले आफ्नोे प्रतिनिधि बनाएर पोलिटब्युरो सदस्य चेतनारायण आचार्यलाई अधिवेशनमा खटाउनुभएको छ । उपाध्यक्ष पौडेलले अर्का पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई खटाउनुभएको छ । आचार्य र भट्टराई महासचिव र उपाध्यक्षको प्रतिनिधिका रूपमा अधिवेशनस्थलमा खटिनुभएको छ । उता, प्रदेश कमिटी सदस्य तय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिइएको छ । तर, पदाधिकारीमा भने चुनाव हुने देखिएको छ ।

शान्ति प्रक्रिया र एमसिसीबारे ओलीसँग होलेनको चासो
नेकपा एमालेका अध्यक्ष र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेट भएको छ । आइतबार सिंहदरबारमा रहेको एमाले संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहनुभएका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गर्नुभएको थियो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताउनुभयो । उहाँले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राख्नुभएको र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुने गरी टुंंगोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने बताउनुभएको जानकारी दिनुभयो ।

उपाध्यक्ष नेम्वाङले भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न सुरु गरेकोमा खुसी लागेको बताउनुभएको जानकारी गराउनुभयो । उहाँले अमेरिकाले सम्झौता कार्यान्वयन गर्न सुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताउनुभएको जानकारी दिनुभयो । होलेन शुक्रबार नेपाल आउनुभएको थियो । होलेन अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?