युरोप रोजगारीको प्रलोभनमा ठगिने बढ्दै

लागत खर्च २० गुणा बढी तीर्न बाध्य कामदार

रमेश भारती
Read Time = 9 mins

काठमाडौं । झापाको कन्काई नगरपालिका-३ कन्काई टोलमा डेरा गरी बस्दै आएका मोरङ पोखरियाका सञ्जय सरदारले युरोप रोजगारको प्रलोभन देखाएर सयभन्दा बढी युवालाई ठगी गरेर फरार भएका छन् । उनीहरूलाई क्रोएसिया, रोमनिया, पोल्याण्ड र युरोपको आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा पारेर प्रतिव्यक्ति एक लाखदेखि तीन लाखका दरले रकम उठाएर सरदार भागेको पीडित बताउँछन् । युरोेपको वैदेशिक रोजगारीका नाममा सरदारले अन्य धेरैलाई ठगेको र पाँच करोड रुपैयाँभन्दा बढी रकम झापाबाट मात्र उठाएर भागेको पीडितहरूको दाबी छ । यस्तै, वैदेशिक रोजगारीका लागि क्यानडा र अमेरिका जाने नक्कली विज्ञापनको प्रलोभनमा पर्दा धेरै नेपाली शिक्षित युवाहरू पनि ठगीमा पर्दै आएका छन् ।

फेसबुक, इन्स्टाग्राम, टिकटकमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि वर्कपर्मिट भिसाको प्रचार गरी नक्कली विज्ञापनका भरमा क्यानडा र अमेरिका जाने प्रलोभनमा नौजना युवाबाट ३४ लाख ठगिएको काठमाडांै उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले जनाएको छ । रोजगारीको खोेजीमा रहेका युवासँग पैसा लिएपछि नक्कली विज्ञापन गर्ने व्यक्तिले आफ्नो आइडी नै ब्लक गरेर फरार भएको प्रहरीले जनाएको छ । ठगिने युवाहरू सबै शिक्षित रहेको प्रहरीले जनाएको छ । उनीहरूले स्नातकदेखि स्नाकोत्तरसम्म गरेका छन् । रोजगारीका लागि माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगल, क्यानडा र अमेरिका जाने नक्कली प्रलोभनमा परी दैनिक ठूलो संख्यामा कामदार ठगिने गरेको सरकारी अध्ययनहरूले औैँल्याएका छन् ।

विकाशित देशको रोजगारीमा जाने प्रलोभनमा परेर लाखौं रकम बुझाएर पैसा कमाउने सुन्दर भविष्य देखेर गन्तव्य देश पुगेपछि रोजगारी नपाएर अलपत्र पर्ने, खान–बस्न नपाउने र एक देशदेखि अर्को मुलुकमा रोजगारीका लागि भौतारिने अवस्थामा धेरै नेपाली कामदार रहेको ती अध्ययनमा उल्लेख छ । सरकारी अध्ययनहरूले खाडीका देश जान लाग्ने लागतभन्दा युरोप जान चाहनेहरूले २० गुणासम्म बढी पैसा म्यानपावरमा बुझाउनुपर्ने अवस्था रहेको छ । पछिल्लो समयमा युरोपको रोजगारीमा जानेहरूलाई त्योभन्दा कैयौँ गुणा चर्को भर्ना शुल्क असुलिएको भन्दै यसमा विस्तारै आवाज उठ्न थालेको छ । युरोपका देश रोजगारीमा जाने कामदारसँग म्यानपावरले कम्पनी ८० देखि ९० हजार मात्र लागत खर्च लिन पाउने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ । तर, युरोपका देश रोजगारीमा जाने कामदारसँग म्यानपावर कम्पनीले आठदेखि ११ लाखसम्म रकम लिने गरेका छन् ।

खाडी देश र मलेसिया रोजगारीका लागि जानेहरूसँग चर्को भर्ना शुल्क असुलिँदै आएको विषयमा विगत लामो समययता बहस हुँदै आएको छ । तर, युरोपका देश रोजगारीमा जाने कामदार ठगिएको र लागत खर्च बढी म्यानपावरले दिएको विषयमा चर्चा कम हुँदा यसको फाइदा म्यानपावरलाई पुगेको वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ औँल्याउनुहुन्छ । युरोप जाने कामदारको विषयमा यकिन बहस नहुँदा म्यानपावर र व्यक्तिले ठूलो रकम ठगी गरिरहेको उहाँको दाबी छ । ‘सरकारले तोकेभन्दा बढी सेवा-शुल्क रोजगारीका लागि युरोप जाने कामदार तिर्न बाध्य छन् । अर्कातर्फ त्यस्ता श्रमिक ठगीमा परेमा न्याय पाउन सक्ने अवस्था छैन । किन भने युरोपमा नेपाली सरकारको पहुँच छैन’ उहाँले भन्नुभयो ।

जर्मनीस्थित नेपाली दूतावासले पोल्याण्ड, चेक रिपब्लिक, सर्विया, हंगेरी, सोल्भाक, रोमानिया, बुल्गेरिया, युक्रेन लगायतका देशमा रहेका नेपाली हेर्नुपर्छ । यस्तै, फ्रान्सको पेरिसस्थित नेपाली दूतावासलाई पोर्चुगल, मोनाको र एण्डोरा हेर्ने जिम्मेवारी छ । बेलायतस्थित नेपाली दूतावासले माल्टा र आयरल्याण्ड हेर्दै आएको छ ।

नियन्त्रण गर्न मुस्किल
युरोपको वैदेशिक रोजगारीका नाममा शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्यक्तिबाट ठगिएका तीन हजारभन्दा बढी पीडितले विभागमा वार्षिक एक्लै र सामूहिक उजुरी दिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । युरोपको रोजगारीका नाममा चालु आर्थिक वर्ष सुरु भएयता १२० वटा उजुरी म्यानपावर, कन्सल्टेन्सी, व्यक्ति र ट्राभलका नाममा परेको विभागले जनाएको छ । विभागका अनुसार युरोप रोजगारीको प्रलोभनमा परेर मासिक पाँच करोडभन्दा बढी विगो दाबीसहितको उजुरी आउने गरेको छ ।

सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । वैदेशिक रोजगारीको प्रलोभन देखाएर भइरहेको ठगी नियन्त्रणभन्दा बाहिर गएका कारण यसलाई रोक्न कडाइका साथ लाग्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सरकारले सबै ठगीलाई वैदेशिक रोजगारीसँग जोडेर हेर्न पनि समस्या भइरहेको छ । शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्यक्तिबाट ठगिएका कतिपय पीडितसँग प्रमाण हुँदैन । हाल देखिएका समस्या भने समाधान भइरहेको छ । उहाँले थप्नुहुन्छ, ‘वैदेशिक रोजगार ऐनमा रोजगारीको प्रलोभनमा पारी ठग्ने शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र अन्य संस्था तथा व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन समस्या भइरहेको छ ।’ कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेर सञ्चालक नै फरार हुने गरेको उजुरी लिएर पीडित दैनिक विभागमा आउने गरेको उहाँको भनाइ छ ।

संस्थागत ११० देश र व्यक्तिगत १७२ देशमा वैदेशिक रोजगारीका लागि नेपाली कामदार जाने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक छ । तर, अहिले वैदशिक रोजगारीमा ५४ देश जाने कामदार बढी ठगिने गरेको विभागले जनाएको छ । भारत हुँदै खाडीका देश, मलेसिया, युरोपेली मुलुक, अफ्रिका, अमेरिका, अष्ट्रेलिया र क्यानडा रोजगारीमा जाने प्रलोभनमा धेरै कामदार आर्थिक शोषणमा पर्ने गरेको विभागको तथ्यांकमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?