गुल्मीमा आठ वर्षपछि सिनेमाहल

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीमा पहिलो पटक ‘डिजिटल डल्बी साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित सिनेमाहल सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालनमा रहेको सिनेमा बन्द भएको आठ वर्ष पछि ‘दियो’ सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक बद्रीप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

सञ्चालक श्रेष्ठका अनुसार यस जिल्लामा सिनेमा क्षेत्रमा अत्याधुनिक प्रविधि र सुविधालाई एकै ठाउँमा ल्याउन करिब एक करोड लगानी गरिएको छ । लक्जरी सिटसहितका १०४ जना क्षमताको हल निर्माण गरिएको छ ।

सदरमुकाम तम्घासमा यसअघि सञ्चालनमा रहेको शिवशक्ति चलचित्र मन्दिर बन्द भएको आठ वर्षपछि पुनः निजी लगानीमा अत्याधुनिक सुविधासहित सिनेमा हल सञ्चालमा ल्याउन लागिएको उहाँले बताउनुभयो । पहिले बन्द रहेको सिनेमा हलमा करिब एक करोड लगानी थपगरी अहिले अत्याधुनिक सिनेमा हल निर्माणको तयारी अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

सिनेमा हलभित्र उच्चस्तरको डिजिटल साउण्ड, अत्याधुनिक फोरके लेजर प्रोक्जेसन, सिलभर स्क्रिन, लक्जी एस सलाइडिङ चियर जडान गरिएको छ । सिनेमा हलभित्र आफ्नै चमेनागृहको समेत व्यवस्था मिलाइएको छ । दिनमा पहिलो चरणमा दुई सो देखाइनेछ । दर्शकहरूको मागनुसार सो बढाइनेछ । सिनेमा हलमा नेपाली तथा विदेशी चलचित्र प्रर्दशन गरिनेछ ।

गुल्मी जिल्लामा विसं २०४७ मा प्रथम पटक तम्घासको बाख्रेछेडामा पशुपति चलचित्र मन्दिर सञ्चालनमा ल्याइएको थियो । त्यो चलचित्र मन्दिर पछि विसं २०६२ तिर बन्द भएको थियो । तम्घासको पुतलीबजारमा २०५३ सालमा शिवशक्ति चलचित्र मन्दिर सञ्चालमा ल्याइएको थियो । पछि आधुनिक प्रविधि युट्युबको प्रयोगसँगै, तत्कालीन समयमा गरिएका नेपाल बन्द, हाअहड्ताल जस्ता गतिविधिका कारण त्यो चलचित्र मन्दिर २०७२ सालमा आएर बन्द भएको थियो ।

त्यसपश्चात् तम्घासमा कुनै पनि सिनेमा हल सञ्चालमा रहेका थिएनन् । अहिले पुरानो सिनेमा हल शिवशशिक्त चलचित्र मन्दिर भएको स्थानमा नयाँ प्रविधिको प्रयोगसँगै नयाँ व्यवस्थापनका साथ सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक श्रेष्ठले बताउनुभयो । यो सिनेमा हल सञ्चालमा आएपछि पाँचजनाभन्दा बढीले प्रत्यक्ष रोजगारसमेत प्राप्त गर्नेछन् ।

सिनेमा हललाई दिगो रूपमा सञ्चालनका लागि आफूहरू लागिपरेको उहाँको भनाइ छ । पाँच करोडभन्दा बढी मूल्य रहेको पुरानो सिनेमा हललाई थप व्यवस्थापन गरी अत्याधुनिक बनाउन पछिल्लो पटक झण्डै एक करोड लगानी गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?