कर्णालीको सबैभन्दा ठूलो जात्रा सम्पन्न

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा संचालन भएको कर्णालीको सबैभन्दा ठूलो र लामो जात्रा सम्पन्न भएको छ । तामझाम र स्थानीयको बाक्लो उपस्थितिमा लाखे काटेर रथ यात्रा गरेपछि जात्रा विधिवत रुपमा सम्पन्न भएको छ ।

वि.सं. १९५३ साल देखिशुरु गरिएको नेवार संस्कृतिको जात्रा सम्पन्न भएको जात्रा व्यवस्थापन समितिका महासचिव आनन्द अधिकारीले जानकारी दिनुभयो । प्रतिपदाको दिन शुरुहुने जात्रा नवमीको दिन लाखे काटेर सम्पन्न हुने गरेको छ । महासचिव अधिकारीले भन्नुभयो, “ जिल्लामा लाखे नचाउँने र देउडा खेल्ने चलन रहेको छ । यो संस्कृति विशेष गरी मल्लकालिन सभ्यता बाट शुरुवात हुँदै आएको इतिहास छ । त्यस सभ्याताले जन्माएको संस्कृति मुलुकका थुप्रै जिल्लामा वर्षेनी धुमधामसँग मनाउने गरिन्छ । सदरमुकाम खलंगामा जात्रा वर्षेनी धुमधामका साथ मनाईने गरिएको अधिकारीको भनाइ छ । ”

जात्राका जानकार चित्रलाल श्रेष्ठका अनुसार वर्षै पिच्छे मनाउँदै आएको जात्राले वर्षभरि काम गरेका कर्णाली लगायत हिमाली जिल्लाका सर्वसाधारणहरुको थकान मेटाई तथा मनोरञ्जन दिनुको साथै संस्कृतिको पनि संरक्षण गरेको छ । जात्राका लागी जुम्लाका ग्रामिण वस्तिवाट मानिसहरु सदरमुकाममा बाक्लो रुपमा भित्रिएका गरेका छन् । जात्रामा जिल्ला प्रशासन, नेपाली सेना र नेपाल प्रहरीले पनि आफ्नो संलग्नताका साथ संस्कृतिलाई पनि संरक्षण गर्दै आएको छ ।

जात्रामा नेपाली सेना तथा नेपाल प्रहरीले आशा गुर्जा, बालगोपाल लाई भित्र्याएकोमा श्रीकृष्ण सलामी दिने र लाखेकाटेपछि सेनाको लस्कर सहित सलामी अर्पण सहित लामो रथयात्रा गरि सकेपछि सम्पन्न गरिने चलन रहेको छ । जानकार बिष्णुप्रसाद उपाध्यायका अनुसार अन्तिम दिन वडिमालिकाबाट ल्याईएको सामग्रीको सरकारी रथ र नागरिकले वनाएको रथ सँगै मिसाएर चन्दननाथ मन्दिरमा सामग्री चढाउने, लाखे काट्ने र सलामी दिने प्रचलन रहेको बताउनुभयो । कृष्ण अष्टमीको दिन रातको १२ वजे कृष्ण जन्मिने र यसपछि देउडाखेल खेलेर रमाईलो गर्ने चलन रहेको छ । करिब एक साता लामो जात्रा हेर्न जुम्लामा डोल्पा, मुगु, दैलेख, कालिकोट, जाजरकोट सुर्खेत र रुकुम जिल्ला समेतका मानिसहरु आउने गरेको जात्रा व्यवस्थापन समिति जुम्लाले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?