सेयर बजारको गिरावट कायमै

Read Time = 3 mins

काठमाडौं । सेयर बजारको ओरालो यात्रा कायमै छ । साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा सुधार आउन सकेन । नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० अंकमा झरेको छ । ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.५२ अंकले घटेर ३६३.२६ अंकमा झरेको छ । तर, नेप्से परिसूचक घटे पनि विभिन्न तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

यस दिन दुई सय ५९ कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता सेयर एक अर्ब छ करोड ९८ लाख रुपैयाँमा खरिदबिक्री भएका छन् । गत बिहीबारको तुलनामा कारोबार नौ करोड ५९ लाख रुपैयाँले घटेको छ । बिहीबार नेप्से ५.३२ अंकले घटे पनि एक अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार कारोबारमा आएका ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ५२ कम्पनीको सेयर मूल्य घटेको छ । २२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

तर, मानुषी लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिन भेञ्चर लिमिटेडको ७.१८ र एनआइबिएल समृद्धि फण्ड-२ को इकाईमूल्य ४.१७ प्रतिशतले बढेको छ ।

सानिमा ग्रोथ फण्ड इकाईको मूल्य सबैभन्दा बढी ८.५६ प्रतिशतले घटेको छ भने सिर्जनशील लघुवित्त ७.३३, मनकामना स्मार्ट लघुवित्त ३.९५, सबैको लघुवित्त ३.९३ र मिथिला लघुवित्तको सेयरमूल्य ३.९० प्रतिशतले घटेको छ । हिमालयन डिष्टिलरीको सर्वाधिक छ करोड १० लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट चार करोड पाँच लाख, एनआइसी एसिया बैंकको चार करोड, नेपाल लाइफ इन्स्योरेन्स तीन करोड ९२ लाख र नबिल बैंकको तीन करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । १३ समूहगत सूचकहरूमध्ये पाँचवटाको बढेकोमा सातवटको घटेको छ । म्युचुअल फण्डको सबैभन्दा बढी १.१७ प्रतिशतले घटेको छ भने होटल एण्ड पर्यटनमूलक सबैभन्दा बढी ०.८७ प्रतिशतले बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?