इण्डष्ट्रियल अटोमेसन तालिम

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । उद्योग संगठन मोरङले वर्कर्स फर्दर ट्रेनिङअन्तर्गत यस क्षेत्रका विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको २५ दिने इण्डष्ट्रियल अटोमेसन तालिम सम्पन्न भएको छ ।

तालिम समापनमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै संगठनका अध्यक्ष राकेश सुरानाले औद्योगिक विकासका लागि पुंँजी, प्रविधिका साथै श्रमिकको दक्षता विकास समानान्तर रूपमा हुनुपर्ने बताउनुभयो । परिवर्तित प्रविधिलाई आत्मसात गरी व्यावसायिक तालिमको माध्यमबाट श्रमिकको समयसापेक्ष दक्षता अभिवृद्धि गर्न सके उद्योगको उत्पादकत्व अभिवृद्धि हुने उहाँको भनाइ थियो । प्राविधिक क्षेत्रमा देखिएको दक्ष जनशक्ति अभाव सम्बोधन गर्न संगठनले आगामी दिनमा थप उद्योगको आवश्यकताका आधारमा पाठ्यक्रम तयार गरी तालिम सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो ।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले पेशाकर्र्मीको ज्ञान र सीप अभिवृद्धि गरी हाल गर्दै आएको कार्य थप परिष्कृत रूपमा गर्न तालिमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै प्राविधिक क्षेत्रमा कार्यरत श्रमिकको कार्यसम्पादन क्षमतामा सुधार ल्याउन आग्रह गर्नुभयो । सैद्धान्तिक र प्रयोगात्मक गरी दुई सत्रमा विभाजित तालिममा डिजिटल पावर इलेक्ट्रोनिक्स, प्रोसेस कन्ट्रोल, रिले को–अर्डिनेसन, पिएलसी, भिएफडी, सेन्सर, सर्भो सिस्टमलगायतका विषय समेटिएका थिए ।

त्यसैगरी संगठनले हेल्भेटास, इन्स्योर परियोजनाको सहकार्यमा आइतबारदेखि फेरि पनि २५ दिने इन्स्ट्रमेन्टेसन तालिम सुरु गरेको छ । तालिममा विभिन्न उद्योगका २० प्राविधिकको सहभागिता रहेको छ । आगामी दिनमा उद्योगको मागअनुरूप बोइलर अपरेटर, प्लाष्टिक इन्जेक्सन मोल्डिङ अपरेटर तालिम आयोजना गर्ने तयारी भइरहेको संगठनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?