भोजभतेरमा छुट्टाछुट्टै भान्छा गरे कारबाही

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङका सहर बजारदेखि गाउँसम्म अहिले पनि जातीय छुवाछुत कायमै छ । सरकारले वि.सं. २०६३ जेठ २१ मा छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि त्यसको व्यवहारमा लागु हुन सकेको छैन । सामाजिक भेदभाव र छुवाछुतका कारण धेरै नागरिक अहिले पनि प्रताडित छन् । अहिले पनि समाजमा विवाह तथा विभिन्न सामाजिक रुपमा हुने भोजभतेर अहिले पनि फरक-फरक हुँदै आएका छन् । यसको अन्त्य गर्न जिल्लाको तमानखोला गाउँपालिकाले प्रयास थालेको छ ।

आदिवासी जनजाति र दलित समुदायको बाहुल्यता रहेको तमानखोलामा अहिले पनि जातीय विभेद चरम रुपमा हुँदै आएको छ । गाउँपालिकाले सामाजिक भेदभाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनु पर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीहरुले दुई वटा भान्छा हुने भोजभतेरलाई निरुत्साहित गर्न सहभागी नहुने र नागरिकलाई पनि त्यस्तो सामाजिक रुपमा हुने भोजभतेरलाई बहिस्कार गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

अहिले पनि यहाँका अधिकांश गाउँमा जातीय छुवाछुत र विभेद हुँदै आएको हुँदा यसको अन्त्य गर्न अब सबै भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने गरि निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँले समाजमा कोही पनि नागरिकले छुवाछुत र विभेद भोग्न नपरोस् भन्ने हेतुले कार्यापालिका बैठकबाट सामाजिक रुपमा हुने भोजभतेरको भान्छा एउटै बनाउनु पर्ने निर्णय गरेको बताउनुभयो ।

“सामाजिक विभेद व्यवहार र भान्छाबाटै अन्त्य हुनु पर्छ, अब गाउँपालिका भित्र हुने कुनै पनि भोज भतेरको एउटै भान्छा हुनु पर्छ, अहिलेसम्म दलितका लागि छुट्टै, जनजातिका लागि छुट्टै र ब्राहमण क्षेत्रीका लागि छुट्टै भान्छा हुँदै आएको छ, यो सामाजिक विभेद हो, जातीय छुवाछुत हो,” अध्यक्ष बुढा मगरले भन्नुभयो - “यसको अन्त्य गर्नका लागि गाउँपालिकाले दुई वटा भतेर जहाँ हुन्छ, जसले गर्छ त्यसलाई कानुनी कारबाही गर्ने र त्यस्तो भतेरमा सहभागी हुने व्यक्तिलाई पनि कारबाही हुने नीति बनाएका छौँ, समाजमा बस्ने हरेक नागरिक सम्मानका साथ बाँच्न पाउनु पर्छ भन्ने हाम्रो उद्देश्य हो ।”

गाउँपालिकाले पहिलेदेखि नै सामाजिक विभेद र छुवाछुत अन्त्यका लागि जनचेतना मुलक कार्यक्रम गर्दै आएको भन्दै अध्यक्ष बुढा मगरले भोजभतेरमा बढी विभेद हुने गरेको पाइएपछि छुट्टाछुट्टै भोज गर्ने र सहभागी हुने दुवैलाई कारबाही गर्ने नीति ल्याएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । तमानखोला गाउँपालिकाले सुरुदेखिनै बालविवाह न्यूनिकरण, सामाजिक विभेदको अन्त्यका गर्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?