उपत्यकाका अस्पतालमै जनशक्तिको अभाव !

तोकिएको समय सीमाभित्र सुधार नगरे कारबाही : मन्त्री बस्नेत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपत्यकाका अस्पतालमै जनशक्तिको अभाव देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न अस्पतालमा अनुगमन गर्दा यस्तो पाइएको हो । सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको थियोे ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पताल व्यवस्थित गर्नका लागि मन्त्रालयले अनुगमन गरेको बताउनुभयो । अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधि मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधि तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो । उपत्यकामा रहेका वीर अस्पताल, कान्तिबाल अस्पताल, शहीद गंगालाल ह्दय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभाव रहेको पाइएको थियो । सबै अस्पतालमा मौज्दात स्वास्थ्य सामग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो । गंगालाल अस्पतालमा तथ्यांक राम्रो नभएको, चालु आर्थिक वर्षको योजना नभएको, कति औषधि तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने यकिन नभएको पाइएको थियो । गंगालाल अस्पतालमा मौज्दात औषधि नभएको पाइएको थियो । यस्तै, टेकु अस्पतालमा भने निर्देशकको अनुपस्थिति रहेको थियो । फोहोरमैला व्यवस्थापन राम्रो नभएको, खरिदको योजना नभएको, महामारी संक्रामक रोगसम्बन्धी अस्पताल भए पनि आकस्मिक रूपमा महामारी फैलँदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको पाइएको थियो ।

सातवटै अनुगमन टोलीले आफूहरूले अनुगमनका क्रममा देखेका समस्याका विषयमा स्वास्थ्यमन्त्री बस्नेतलाई रिपोर्ट गरेका थिए । अनुगमन टोलीको अध्ययन प्रतिवेदन सुनिसकेपछि मन्त्री बस्नेतले सात वटा केन्द्रीय अस्पतालहरूलाई कमी कमजोरी सुधार गर्न निर्देशन सहितको पत्र तयार पारेर सबै अस्पताललाई पठाउन र तोकिएको समय सीमाभित्र पनि सुधार नगरे कडा कारबाही गरिने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?