कोइरालाका आख्यानका नारी पात्रहरूसँग !

डा. नारायण चालिसे
Read Time = 24 mins

साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको साहित्यका हामी अध्येताहरूले धेरै वर्षदेखि भन्दै आएको कुरा अहिले आएर केही सम्बोधन भएको छ । राजनीतिक नेतृत्वमा आएको आंशिक परिवर्तनसँगै बीपीको साहित्यले सानेपामा प्रवेश पाएको छ जुन हर्षको विषय हो । अब यस विषयले अझै महत्व पाउँदै जाओस् । यो हप्ता ११०औं बीपी जन्मजयन्ती सप्ताहको रूपमा रहृयो । बीपी साहित्य महोत्सवको एउटा सत्र बीपीका आख्यानमा नारी भन्ने पनि रहेको थियो । प्राविधिक कारणले सम्पन्न हुन नसकेको त्यस सत्रको विषयकै वरपर रहेर तयार पारिएको सामग्रीको अगिल्लो साताको बाँकी अंश प्रस्तुत गरेर श्रद्धेय साहित्यस्रष्टाप्रति सम्मान प्रकट गर्दछु ।

राजनीति, समाजसेवा र साहित्यको क्षेत्रमा व्याप्त बीपीको व्यक्तित्वका आयामहरूका बारेमा धेरै विद्वान् विदुषीहरूले परिचर्चा गरिसकेका छन् र गरिरहेकै पनि छन् । बीपी असाधारण व्यक्ति थिए भन्ने दृष्टान्त मिलिरहेका छन् । एउटै व्यक्ति वा वस्तुलाई भिन्न भिन्न व्यक्तिले वा भिन्न-भिन्न समयमा हेर्दा देखा पर्ने अनेक रूपहरूका कुरा बीपीमा पनि प्राप्त भएका छन् । एउटै कृतिलाई एकभन्दा बढी व्यक्तिले आ-आफ्नो दृष्टिले हेरेर बनाएका धारणाहरू हुन् वा एकैजना व्यक्तिले भिन्न-भिन्न समयमा हेरेर बनाएका धारणाहरू हुन् अथवाविशिष्टताहरू हुन् तिनले बीपीलाई असाधारण व्यक्तित्वका धनी व्यक्ति हुन् भन्ने पुष्टि गरेका छन् ।

प्रथम मनोवैज्ञानिक कथाकारको रूपमा आधुनिक नेपाली कथाको क्षेत्रमा ख्याति कमाएका कोइरालाका उपन्यासहरू विचारको सघन प्रयोगका गहकिला दृष्टान्त नै बन्न पुगेका छन् । प्रत्येक पटकको अध्ययनपछि एउटा नयाँ कुराको उद्घाटन भएको अनुभव गर्न सकिने बीपीका उपन्यासहरूमा विविध विषयलाई समेटिएको छ । 

बीपी कोइरालाको राजनीतिक दर्शन, साहित्यिक विचार एवम् जीवन दर्शनका बारेमा एक दर्जनभन्दा बढी विद्यावारिधि सम्पन्न भइसकेका छन् र अभैm धेरै अध्ययन भइरहेका छन् । सम्भवतः नेपालको सन्दर्भमा सबैभन्दा बढी विद्यावारिधिको अध्ययन अनुसन्धान बीपीकै साहित्य र राजनीतिका बारेमा भइरहेछ । बीपीका राजनीति र साहित्यसँग जोडिएका अलगअलग अनि अग्ला व्यक्तित्वले गर्दा नै यस्तो कार्य सम्भव भएको छ । बीपी के होइनन्, सबैथोक हुन् भन्ने अतिरञ्जित विचार नराखेर हेर्दा उनले छोटो समयमा नेपाली साहित्यमा पुर्‍याएको योगदानको आज उच्च मूल्याङ्कन भइरहेको छ ।

प्रथम मनोवैज्ञानिक कथाकारको रूपमा आधुनिक नेपाली कथाको क्षेत्रमा ख्याति कमाएका कोइरालाका उपन्यासहरू विचारको सघन प्रयोगका गहकिला दृष्टान्त नै बन्न पुगेका छन् । प्रत्येक पटकको अध्ययनपछि एउटा नयाँ कुराको उद्घाटन भएको अनुभव गर्न सकिने बीपीका उपन्यासहरूमा विविध विषयलाई समेटिएको छ । साहित्यमा पनि बीपीका आफ्ना मौलिक धारणाहरू छन् । राजनीति नीति नियमले चलाउने हो तर साहित्यमा नीति नियमको दायरा अति फराकिलो हुन्छ । अर्थात् साहित्य सिर्जना मुक्तभावनाको कलात्मक अभिव्यक्ति हो भन्ने मान्यताका पक्षपोषक बीपीले साहित्यमा त्यही अनुरूपको स्वतन्त्रतालाई महत्व दिएका छन् । यस आलेखमा बीपीको साहित्यका केही प्रतिनिधि नारी पात्रहरूको स्वभाव, आचरण र सामाजिक संरचनाका बारेमा छोटो चर्चागर्ने उद्देश्य राखिएको छ ।
कर्नेल्नी ः इन्द्रमायापछि परम्परागत निर्णयको विपक्षमा असन्तुष्टि पोख्ने अर्की नारी कर्नेल्नी हो । उसले आफू वयस्क नारी रहेको र आफ्नो नारी आकाङ्क्षालाई पूरा गर्न नसक्ने पुरुषसँग विवाह गरिदिँदा अनमेल विवाहको सिकार आफू हुनु पर्‍यो भनी आफ्नै लोग्ने कर्नेलसँग साङ्केतिक असहमति प्रकट गरेकी छ । जुन वस्तुमा लोग्नेको अतिशय गर्व छ उसैबाट लोग्नेलाई तिरस्कार गर्न लगाएर परम्पराको विरोधमा साङ्केतिक विद्रोह गरेकी छ । कर्नेल्नीको असन्तुष्टि यौन आकाङ्क्षासँग थियो तर त्यसले पार्ने प्रभाव व्यक्तिगत मात्र रहँदैन सामाजिक समस्याकै रूपमा अनमेल विवाहलाई लिनुपर्छ भन्ने सङ्केत कर्नेल्नीको मौन विद्रोहबाट प्राप्त हुन्छ ।

विधवा : त्यसैगरी यौवनको वेग थाम्न नसक्ने अवस्थामा लोग्ने मरेर विधवा भई बस्नु पर्दाको समस्या र विधवा विवाहको कानुनी मान्यता नहुँदा नारीले भोग्नु पर्ने विभिन्न समस्या निजी जीवनका मात्र कुरा होइनन् । यस प्रकृतिको समस्याको आगोले व्यक्तिलाई मात्र होइन सिङ्गै समाजलाई पनि जलाउन सक्ने सम्भावनाप्रति कथाकारको दृष्टि पुगेको छ भने आफूलाई विधवा भनी नचिन्ने ठाउँमा गएर आफ्ना आकाङ्क्षा पूरा गर्छु भनी अठोट गरेर हिँड्ने मधेसतिरकी विधवा युवतीको मधेस यात्रा पनि सामाजिक संरचनाप्रतिको मौन विद्रोह नै हो ।

आफू एक्लैले सामाजिक, सांस्कृतिक नियम बदल्न नसके पनि म किन त्यो परम्पराको सिकार भई बस्ने त भनेर नै विधवाले मधेसतिर जाने निधो गरेकी छ र कोइरालाले विधवालाई दोस्रो विवाहको निम्ति प्रेरित गरेका छन् भन्ने ध्वनित हुन्छ ।

फगुनी : अचेतनबाट सञ्चालित तर सशक्त खालको विद्रोह फगुनीले पनि गरेकी छ । कुनै केटासँग बिहे भइसकेको छ, आफ्नो उमेर वयस्क पुरुषसँग खेल्ने भइसकेको छ तर आफू आफ्ना आकाङ्क्षाहरू एकातिर पन्छाएर मालिकका घरका कोठाचोटा सफा गर्नमै व्यस्त रहनुपर्ने बाध्यतामा अचेतनबाट उम्लिएर आएको यौनको आवेगले सबै स्वाभाविक विधि व्यवहारलाई तोड्दै मालिकको छोरालाई लखेटी लखेटी आफ्नो अङ्गालोमा बाँध्ने अठोटसँग जागेको भैरवीकै जस्तो रूपकी फगुनीको असहज व्यवहारमा यौनआकाङ्क्षाको विद्रोह देखा परेको छ । यस घटनाले यौनलाई जीवनकै तहमा राखेर सम्मानपूर्वक उपयोग गर्ने अधिकार नारीले पाउनुपर्छ भन्ने माग गरिएको छ र त्यसको अभावमा हुने दुर्घटनाको सम्भावनालाई श्वेतभैरवीको रूपमा चित्रण गरिएको छ । यो फगुनीको साङ्केतिक विद्रोहको गम्भीर रूप हो भन्ने बुझिन्छ ।

गौरी : बीपी कोइरालाले अभिरूचीपूर्वक हेरिएकी अर्की पात्र गौरी हो । कतिपय पात्रहरूको जस्तो खरो स्वभाव गौरीमा पाइन्न । बिहे गर्ने उमेर पुगेकी तर उमेरअनुसार शरीर फस्टाउन नसकेकी गौरी एउटा ठुलो खानदानी परिवारको हट्टाकट्टा लहडी युवक नरेन्द्रसँग विवाह भएपछि गौरीका सङ्घर्षका दिन प्रारम्भ भएका छन् । सरसफाइ गरी चिटिक्क परेर बस्ने, कताकता पुरुषको जस्तो अनुहार भएकी गौरीको सानो खिजिरो शरीरबाट कुनै पनि किसिमको सन्तुष्टी लिन नसकेपछि नरेन्द्र गौरीबाट टाढिँदै जान्छ र आफ्नो इच्छा पूरा गरिदिन सक्ने आकर्षक जिउडालकी मुनरियालाई आफ्नी तुल्याउन थाल्छ ।

आफू लोग्नेको इच्छा पूरा गराउन नसक्ने शारीरिक अवस्थाकी भएकोमा भगवान्सँग दुःखेसो पोख्ने र आफू नरेन्द्रकी अङ्गशायिनी बन्न नपाए पनि उनकै सेवासुश्रुषामा सेविका भई बस्न चाहने इच्छा र अनुरोधलाई समेत नरेन्द्रले अस्विकार गरी मुनरियालाई लिएर भागेपछि असहाय बनेकी गौरीले पति नरेन्द्रलाई दोषी नै देखिन । बरु आफ्नै दोषका कारणले आफू लोग्नेकी पत्नी बन्न नपाएकोमा विस्मात गरेकी छ । केही वर्षपछि क्षयरोगले ग्रस्त नरेन्द्र सेवासुश्रुषाको इच्छा राख्दै घरमा फर्किएपछि पतिलाई आफ्नो बनाउन पाएको खुसीमा विक्षिप्त बनेर जथाभावी खुसी पोख्दै सानो बाबुलाई पत्र लेख्ने गौरीको पत्नीत्वको त्याग र सङ्घर्ष कम्ता मार्मिक छैन ।

नारी अधिकारको निम्ति सङ्घर्ष गर्ने इन्द्रमाया जस्तो अस्तित्वशील पात्र जन्माउने मस्तिष्कले गौरी जस्तो समर्पणप्रेमी नारी पात्रमा नारीत्वको रूप देख्ने कोइरालाको नारी पात्र छनौटको अनौठो प्रक्रिया अचम्म लाग्दो देखिन्छ । गौरीको चरित्र निर्माण, सामाजिक बनौट र जीवनमा गौरीले भोगेको मानसिक दुःख र त्यही दुःखले निर्माण गरेको गौरीको व्यक्तित्वको कलेवरबाट उपन्यासकार कोइरालाको नारी पात्र छनौटको विशिष्टताको परिचय प्राप्त गर्न सकिन्छ । त्यत्रो लामो जीवनमा गौरीले केवल कुण्ठा र हीनताबोध मात्र संगालेर अन्त्यमा मानसिक सन्तुलन गुमाएर पतिलाई सधैंसधैंको निम्ति आफ्नो तुल्याएँ भन्दै पतिको मृत्युमा हर्ष मनाउने गौरीको नारी सङ्घर्षको रूपलाई सहज किसिमले व्याख्या गर्न निकै कठिन अनुभव हुन्छ ।

रेवा : हिटलर र यहुदीकी रेवा देसाई उपन्यासकार कोइरालाको नारी स्वतन्त्रताको पक्षमा बहस गर्ने अर्की महत्वपूर्ण चरित्र हो । इन्द्रमायापछि कोइरालाको विचारको बहसलाई अघि बढाउन रेवाको चरित्रले मद्दत गरेको महसुस हुन्छ । हिन्दु संस्कृतिमा जन्मेर हुर्केकी, पढेलेखेकी र सभ्रान्त जीवनशैली अङ्गालेकी रेवा विचार र व्यवहार दुवैमा मुक्त र स्वतन्त्र छ । भौतिक जीवनको आकर्षणमा मख्ख रहेकी रेवाले क्षणक्षणको सुखमा जीवनलाई व्यस्त राख्न चाहेकी छ । भौतिक जीवनको खुसीलाई आत्मसात गर्न कहीँ कतै कसर बाँकी नराख्ने मोहले लठ्ठीएका रेवा र म पात्रका बिचमा भएका विपरीत आकर्षणका व्यवहारहरूबाट रेवा भौतिक जीवनमा अतिशय सुखको पक्षपाती नारी हो भन्ने बुझिन्छ ।

देहवादी सुम्निमा र रेवा देहसुखको हदसम्म समान छन् । अझ सुम्निमाभन्दा रेवा एक पाइलो अघि छ । सुम्निमाले आपूmले मन दिएको सोमदत्तलाई आफ्नो पोल्टामा पाउँदा पनि आफ्नो पार्ने अमर्यादित बाटो रोजेकी छैन भने विवाहिता रेवाले विवाहित परपुरुष म पात्रलाई निसङ्कोच आफ्नो पारेर परम्परित संस्कृतिलाई उछिन्ने चेष्टा गरेकी छ । परपुरुषसँगको संसर्गमा रेवा र इन्द्रमाया एक ठाउँमा उभिए पनि इन्द्रमायाले शरीर सुखको उद्देश्यमा भन्दा मातृत्व सुरक्षाको अस्तित्वशील यात्रामा परपुरुषलाई माध्यम मात्र बनाएकी छ ।
उसले रमेशलाई शरीर सुखको निम्ति नभएर आमा बन्ने पहिचानका निम्ति मात्र लिएकी छ भने रेवा देसाई त्यो भन्दा पनि पर पुगेर म पात्रको अङ्गालोमा देह सुखलाई मात्र महत्त्व दिएकी छ । यस्तो वाध्यता बाबु, आमा र छोराकी उमालाई पनि प¥यो । उमाले आफ्नै प्रेमीको बाबुसँग बिहे गर्ने ज्यादै गम्भीर सांस्कृतिक अभियोगलाई बेहोर्नु परेको छ तर उमाको त्यो कर्म उसको अज्ञानतामा भएको छ भने रेवाको परपुरुष सम्बन्ध उसको स्वच्छन्द यौन संसर्गको रूपमा देखा परेको छ ।

यस दृष्टिले रेवा देसाई कोइरालाका नारी पात्रमध्ये सबैभन्दा स्वतन्त्र, स्वच्छन्द र किञ्चित छाडा प्रकृतिकी देखापरेकी छ । यसबाट बीपी कोइराला यौन स्वच्छदन्ताकै पक्षपाती थिए त ? अन्यथा एकपछि अर्को गर्दै नारीलाई स्वतन्त्र पार्दै लगेर रेवा जस्ती पात्रको यौनाकाङ्क्षालाई सहजै पूरा गराइदिने गरी पात्रहरूलाई किन अग्रसर गराइ दिँदै गएका छन् त ? भन्ने प्रश्न उठ्न सक्छ ।

नारी पात्रहरूमा नरेन्द्र दाइ उपन्यासकी गौरी, हिटलर र यहुदी उपन्यासकी लक्ष्मी र बाबु, आमा र छोरा उपन्यासकी उमा महत्त्वपूर्ण प्रतिनिधि देखा परेका छन् । सुम्निमा उपन्यासका पुलोमा, नरेन्द्र दाइकी मुनरिया, मोदआइनकी मोदिआइन आदि नारी पात्रहरू पनि परम्परा र परिस्थितिका सिकार भएकै छन् । 

उमा : उपन्यासकार कोइरालाका नारी पात्रहरूमा अन्यायमा परेकी अर्की पात्र उमा हो । हुन त आ–आफ्नो ठाउँमा सबै नारी पात्रहरू धेरै थोरै अन्यायमा परेकै छन् । मोदिआइनले जन्मौंजन्म प्रियजनको खोजी र प्रतिक्षामा बिताएर पनि आफ्नो मान्छे पाउन नसकेर दुःखी छ भने आफ्नो सतीत्वसमेत समर्पण गर्न परे पनि पतिको स्वास्थ्य ठीक पार्नतिर लाग्छु भन्ने लक्ष्मीको पतिले रेवासँग रोमान्स गर्न पाउँदा पतिव्रता लक्ष्मीको त्यागलाई सही मूल्याङ्कन गर्न सकेको देखिएन । कोइरालाका नारी पात्रहरूप्रति अन्याय भएकै छ । त्यसमध्ये उमामाथि भएको अन्यायको रूप अनौठो प्रकारको छ । बनारसमा आफ्नो उमेर, अवस्था र मन समेत मिलेर आफ्नो तुल्याएको प्रेमी पति शिव बस्नेतलाई जीवनसाथीको रूपमा पाउन नसक्नेमात्र होइन आफूभन्दा दोब्बर उमेरको प्रौढ, विधुर त्यसमाथि आफ्नै प्रेमीको बाबुसँग करकापमा बिहे गरेर जान बाध्य पारिएकी उमाको मनको अवस्थालाई बुझ्न निश्चय पनि सजिलो छैन ।

उमा कोइरालाले जन्माएकी ज्यादै निरीह पात्र हो । छोरासँग प्रेम गर्न लगाएर उसैको बाबुसँग बिहे गरी जीवन चलाउन निर्देशन गर्ने हाम्रो सामाजिक परम्परा र त्यो परम्परालाई तोड्नको निम्ति निर्णायक किसिमले आँट गर्न नसक्ने उमाको परम्पराभिरु समर्पणवादी कदमलाई समर्थन गरेका कोइरालाको पात्र छनौट प्रक्रियाले भिन्न भिन्न किसिमको सामाजिक, सांस्कृतिक प्रचलनको परिचय प्राप्त गर्न सकिन्छ । कोइरालाले उमा पात्रका माध्यमले बहुविवाह, अनमेल विवाह र जबर्जस्ती विवाहको परिचय दिनुका साथै हाम्रा समाजमा नारीको अवस्था र भूमिकाका विषयमा पनि धेरै कुरा व्यक्त गरेको छ । यहाँ प्रश्न हाम्रो सामाजिक कुरीति र विसङ्गतिमाथि उठेको छ जसले नारी, छोरीचेलीलाई आफ्नो अहङ्कारको खेलौना बनाउने गरेका छन् र उमा जस्ता युवतीहरूलाई मक्किएको परम्परा र आडम्बरको वेदीमा होमेर आफ्नो दम्भ देखाएका छन् ।

साथै गुनासो ती पढेलेखेका नारी उमाहरूप्रति पनि छ जसले पढेलेखेर पनि त्यो विकृत परम्परा र आडम्बरका विपक्षमा चर्को स्वरमा विरोधको गीत गाउन सकेनन्, समाज परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्न सकेनन् साथसाथै समाजपरिवर्तनको कुरा परै रह्यो आफ्नो निजी हक र अधिकारको सुरक्षाका निम्ति घर परिवारमा अलि सुन्ने गरी बोल्नसमेत सकेनन् र सक्दैनन् । हो त्यो दम्भी पुरुष जमात र त्यही दम्भको सिकार भई पिल्सिएका नारीहरूकी प्रतिनिधि उमाको मनस्थिति र उसले व्यहोरेको पीडा र द्वन्द्वको चित्रण उपन्यासको मार्मिक कथ्य रहेको छ ।

एकातिर इन्द्रमाया, रेवा, सुम्निमा, कर्नेल्नी, फगुनी जस्ता नारी पात्रहरूका माध्यमबाट जीवनमा आफ्ना कुराको निर्णय गर्ने अधिकार आपैंmलाई हुनुपर्दछ । आफ्ना बारेका निर्णय आपूmले गर्न नपाउँदा अबका नारी विद्रोहमा पनि उत्रिन्छन्, त्यति गर्न नसके असन्तुष्टिमा साङ्केतिक असहमति प्रकट गर्दछन् वा भित्रभित्रै विरोधी कदम चाल्न पनि पछि पर्दैनन् भन्ने तहको सन्देश दिने गरी नारी पात्रहरूलाई उभ्याउने काम कोइरालाबाट भएको छ भने अर्कोतिर पूर्ण परम्परावादी नारी पात्रहरू उभ्याएर परम्पराकै पृष्ठपोषण गर्ने काम पनि कोइरालाबाट भएको छ ।

यस्ता खाले नारी पात्रहरूमा नरेन्द्र दाइ उपन्यासकी गौरी, हिटलर र यहुदी उपन्यासकी लक्ष्मी र बाबु, आमा र छोरा उपन्यासकी उमा महत्त्वपूर्ण प्रतिनिधि देखा परेका छन् । त्यसो त सुम्निमा उपन्यासका पुलोमा, नरेन्द्र दाइकी मुनरिया, मोदआइनकी मोदिआइन आदि नारी पात्रहरू पनि परम्परा र परिस्थितिका सिकार भएकै छन् । उनीहरूको अवस्था पनि कम्ता नाजुक छैन तापनि मुनरियाले आफ्नो सक्रियतामा नभए पनि परम्परालाई तोड्ने काम गरेकी छ । मालिकको छोरासँग ढुक्क यौन सहवास गर्ने, बिहे भएको लोग्नेलाई छाडेर मालिकको छोरासँग भाग्ने र त्यसपछि पनि आफ्नै निर्णयमा धनी जौहरीलाई बाँकी जीवनको साथी बनाउने जस्ता कर्म गरेर बाध्यतामै भए पनि आफ्नो जीवनका केही निर्णयहरू आफैँ सम्पन्न गरेकी छ ।

यसको दाँजोमा पुलोमा पहिले शास्त्रधर्मको कट्टर समर्थक बनेर परम्पराको अन्धानुसरण गर्ने काम गरेकी छ भने पछि गएर आपूmले तय गरेर आएको बाटो पर्याप्त नभएको महसुस गरी जीवनलाई व्यर्थैमा खेर फालेकोमा विस्मात गरेकी छ । साथसाथै परम्परित बाटोमा हिँड्दा हिजो आफूले छोडेर आएका अनाचार कर्म गर्न, बाल्यकालको साथी भिल्ल युवकसँग काल्पनिक सहवास गर्न र उक्त सहवासको आनन्दलाई अनिर्वचनीय सुखको संज्ञा दिएर पुलकित हुनसम्म भ्याएकी भए पनि पुलोमाको जीवन पनि परम्पराको सिकार बनेर त्यत्तिकै व्यर्थमा समाप्त भएकाले पुलोमा पनि कोइरालाकी परम्परापीडित पात्र हो भन्ने देखिन आउँछ ।

यस्तै मोदिआइनले धेरै जन्मसम्म पनि आफू प्रियजनको खोजीमा तड्पिएरै बाँचेको र यस्तो क्रम रहिरहने सङ्केत गरेर मूलतः मानव जाति र त्यसमा पनि नारीहरू अझ धेरै दुःखी भएको कुरा गरेर वा नारी पात्रका माध्यमले आफ्नो गहिरो असन्तुष्टि पोखेर नारी विद्रोहको गम्भीर स्वरूपको परिचय दिएकी छ तापनि पछिल्लो जन्ममा पतिका रूपमा आइलागेको बुढो मोदीको रोगी शरीरको स्याहार सुसारमा आफ्ना सपनाहरू जलाएर बाँच्नु परेको अवस्थाको सङ्केतबाट मोदिआइनको बाध्यता अरू धेरै नारी पात्रहरूको भन्दा पनि मर्मस्पर्शी रहेको बुझ्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?