प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।

उहाँलाई त्रिभुवन विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले बिदाइ गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उहाँले मन्तव्य दिने कार्यसूची छ ।

प्रधानमन्त्री दाहाल आगामी आसोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नु हुनेछ । साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ ।

हाङजाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । आगामी असोज ८ गते बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्नुहुनेछ । छोङछिङको भ्रमणपश्चात नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, सुरक्षा अधिकारी र सञ्चारकर्मी सहभागी हुनुहुन्छ ।

तस्वीरमा हेर्नुहोस्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?