साउनमा ३३ अर्ब शोधनान्तर बचतमा

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । मुलुकका धेरैजसो आर्थिक सूचकको अवस्था सन्तोषजनक नदेखिए पनि शोधनान्तर बचत भने बढ्दोक्रममा रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना अर्थात् साउनको तथ्यांकअनुसार शोधनान्तर स्थिति झण्डै ३३ अर्ब अर्थात् ३२ अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा रहेको छ ।

त्यस्तै, २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेर २०८० साउन १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० साउनमा १.२ प्रतिशतले बढेर ११ अर्ब ८५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० साउनमा २.९ प्रतिशतले बढेर १३ खर्ब ८५ अर्ब २४ करोड पुगेको छ ।

साउनको तथ्यांकअनुसार शोधनान्तर स्थिति झण्डै ३३ अर्ब अर्थात् ३२ अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोडले घाटामा थियो ।

आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा नौ करोड ८५ लाखले बचतमा रहेको छ ।

रेमिट्यान्स एक खर्ब १६ अर्ब
चालु आर्थिक वर्षको साउनमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब दुर्ई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले बढेर ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १२.१ प्रतिशतले घटेर ३९ हजार एक सय ५२ र वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९.५ प्रतिशतले घटेर १६ हजार चार सय २३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

मूल्यवृद्धि ७.५२ प्रतिशत
२०८० साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५०, तराईको ६.७०, पहाडको ७.५० र हिमालको ११.४६ प्रतिशत रहेको छ ।

एक खर्ब १५ रुपैयाँको व्यापारघाटा
आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.७ प्रतिशतले घटेर १३ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले घटेकोे थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात २०.८ प्रतिशतले घटेको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५२७.२ र १५.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा अलैंची, जिंक शिट, पार्टिकल बोर्ड, जुस, अदुवालगायतको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, औषधि (आयुर्वेदिक), पश्मिना, सुन तथा चाँदीका सामग्री तथा गरगहनालगायतकोे निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा कुल वस्तु आयातमा १.६ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब २४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.९ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः ३.३ प्रतिशत र १७.० प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २३.१ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा धान तथा चामल, एमएस तार, छड, बार तथा क्वाइल, रासायनिक मल, हट रोल्ड शिट, विद्युतीय उपकरणको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, औषधि, एमएस बिलेटलगायतको आयात घटेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब ७१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.४ प्रतिशतले घटेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?