पश्चिमा देशहरू किन भारत र क्यानडाबीचको विवादमा डराइरहेका छन् ?

हिमालय टाइम्स
Read Time = 6 mins

न्युर्योक । भारत र क्यानडाबीच देखिएको कूटनीतिक विवादको बाछिटा अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नदिन पश्चिमा देशका मन्त्री र अधिकारीहरूले ठूलो मेहनत गरिरहेका छन्। अमेरिका र अन्य पश्चिमा शक्तिहरूले क्यानडासँगको विवादका कारण भारतसँग आफ्नो सम्बन्ध नबिग्रियोस् भन्ने चाहेका छन्।

भू–राजनीतिको ठूलो मैदानमा भारत एउटा प्रमुख खेलाडी भइसकेको छ। भारत विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश मात्र नभएर यो उदीयमान शक्ति राष्ट्र र विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र पनि हो।

यसलाई पश्चिमा राष्ट्रहरूले चीनसँगको सम्भावित सुरक्षा पर्खालको रूपमा पनि हेरेका छन्। भारतमा हालै भएको जी२० सम्मेलनका क्रममा पनि यो देखियो। युक्रेनका पश्चिमा सहयोगी देशहरूले सम्मेलनपछि जारी गरेको वक्तव्यमा युक्रेनमाथिको आक्रमणबारे भर्त्सना गर्ने क्रममा रुसको नाम लिएनन्।

उनीहरूले वक्तव्यमा लेखिने शब्दको विषयमा विवाद गरेर भारतसँगको सम्बन्ध बिगार्न चाहेनन्। बरु यसले किएभमा कतिपयलाई रुष्ट बनायो। पश्चिमा कूटनीतिज्ञहरूलाई अहिले क्यानडा र भारतबीचको विवादमा देशहरूले एउटाको पक्ष लिन सुरु गर्लान् कि भन्ने डर छ।

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रूडोले पश्चिमी क्यानडामा गत जुनमा मारिएका एक जना सिख अभियानकर्मीको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि पछिल्लो साता भारत र क्यानडाबीचको विवाद चिसिएको छ।

पछिल्लो महिनाहरूमा भारतले विकासशील देशहरूको नेताको रूपमा आफूलाई अघि सारेको छ। यसमा रहेका धेरै देशहरूले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्न अस्वीकार गरेका छन्।

अमेरिका र युरोपेली देशहरूले युद्धले यी देश र तीनको अर्थतन्त्रमा असर गर्ने भन्दै यी देशहरूलाई आफ्नो पक्षमा ल्याउन ठूलो मेहनत गरिरहेका छन्। कूटनीतिज्ञहरू यो विवादले आफ्नो प्रयासलाई असर नगरोस् भन्ने चाहन्छन्। क्यानडाको विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री ट्रूडोले आफ्नो विषय अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकसँग उठाइसकेका छन्।

अहिले क्यानडाका सहयोगी देशहरू उक्त देशप्रति इमानदार देखिए पनि सावधान भएका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले हत्याको आरोपबारे ‘निकै चिन्तित रहेको’ बताउँदै ‘क्यानडाको अनुसन्धान अघि बढ्ने र दोषीहरूलाई सजाय हुनुपर्ने’ बताएको छ।

सिखहरूको ठूलो समुदाय बसोबास गर्ने यूके र अस्ट्रेलिया जस्ता देशहरूका लागि यस्तो कूटनीतिक विवादको असर आन्तरिक राजनीतिमा पनि पर्ने जोखिम हुन्छ। यूकेका विदेशमन्त्री जेम्स क्लेभर्लीले ब्रिटेनले ‘क्यानडाले उठाएको गम्भीर विषय धेरै नै गम्भीर रूपमा लिएको’ बताएका छन्।

क्यानडाको आरोपबारे आफूले सोमवारै त्यहाँका विदेशमन्त्रीसँग कुरा गरेको उनले बताए। उनका अनुसार ‘क्यानडाले भनेका कुराहरूलाई यूकेले गम्भीर रूपमा लिएको छ’।

भारतसँग हुन लागेको व्यापारसम्बन्धी वार्ता स्थगित हुने वा नहुनेबारे उनले केही बताएनन्। तर उनका अनुसार क्यानडेली अनुसन्धान नसकिएसम्म यूकेले कुनै पनि निर्णय गर्दैन। ‘क्यानडा र भारत दुवै यूकेका नजिकका साथी हुन्। उनीहरू (पूर्व ब्रिटिश उपनिवेशहरूको समूह) ‘कमनवेल्थ’का साझेदारहरू हुन्” क्लेभर्ली भन्छन्।

अस्ट्रेलियाको विदेश मन्त्रालयले पनि आरोपबारे “निकै चिन्तित” रहेको बताउँदै क्यानबेराले आफ्नो ‘गम्भीर चिन्ता भारतको उच्च नेतृत्व समझ राखेको’ जनाएको छ। अहिलेका लागि पश्चिमा देशहरूले अनुसन्धान प्रक्रिया नसकिँदासम्म पर्खने मनस्थिति बनाएका छन्।

केही सहयोगी देशहरूलाई क्यानडाको गुप्तचरले हालसम्म थाहा पाएका कुराहरूमा पहुँच दिइन सक्छ। यदि अकाट्य प्रमाण भेटियो भने परिस्थिति फेरिन सक्छ।

त्यो अवस्थामा पश्चिमा देशहरूले ओट्टावा र नयाँ दिल्लीमध्ये एउटा रोज्नुपर्ने हुनसक्छ। त्यो अवस्था भनेको कानुनी शासन र राजनीतिको आवश्यकता मध्येको एउटा रोजाइ हुनसक्छ। पश्चिमा देशहरूले विगतमा भने रुस, इरान वा साउदी अरब जस्ता देशहरूले अर्को देशमा गराएका हत्याका आरोपहरूमा निन्दा गरेका थिए।

भारत पनि त्यो समूहमा परोस् भन्ने उनीहरू चाहँदैनन्।बिबिसी नेपालीबाट 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?