काठमाडौं । सरकारले जर्मनीमा वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन सरकारीस्तरमा श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ । जर्मनीमा कामदार पठाउने ड्राफ्ट तयार गरी त्यहाँको सम्बन्धित निकायमा पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दियो । जर्मनीमा मौसमी र वर्किङ भिसामा कामदार पठाउने गरी श्रम मन्त्रालयले छलफल अगाडि बढाएको छ । नेपालले अन्य देशसँग गरेको श्रम सम्झौता जस्तो फ्री भिसा र फ्री टिकटकै मोडलमा कामदार पठाउने गरी छलफल अगाडि बढाइएको श्रम मन्त्रालयले जनाएको छ ।
जर्मनीले पहिलो चरणमा कोटा प्रणालीबाट कामदार लिन खोजेको र त्यसमा नेपालले पनि आफ्नो संरचना बनाएर कामदार पठाउने प्रस्ताव गरेको श्रम मन्त्रालयको भनाइ छ । जर्मनी नेपालको हकमा राम्रो रोजगार गन्तव्य देश र विकाशित देशको रोजगारी भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो । सरकारले जर्मनीमा कामदार पठाउन श्रम सम्झौताका लागि ड्राफ्ट आदान–प्रदान गर्न लागेको उहाँले बताउनुभयो । ‘जर्मनीले पनि विगतदेखि नै वैदेशिक रोजगारीमा नेपालबाट श्रमिक लिने खोजेको थियो । नेपालले पनि विकशित देशमा कामदार पठाउन चासो दिँदै आएको थियो । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ ।’ उहाँले भन्नुभयो, ‘दुवै देशको श्रम कानुनका आधारमा श्रमिक पठाउने गरी ड्राफ्ट पनि बनेको छ । जर्मनीले पनि नेपालबाट कामदार लिने एउटा मापदण्ड पठाएको छ । जर्मनसँग श्रम सम्झौता गरेर कामदार पठाउन ड्राफ्ट तयार भएको छ ।’ जर्मनीले माग गरेअनुसार मौसमी र वार्किङ गरी दुवै क्षेत्रमा कामदार पठाउने गरी छलफल भइरहेको र सोहीअनुसार ड्राफ्ट पनि बनेको उहाँको भनाइ छ । विश्वव्यापी मान्यता र अन्तर्राष्ट्रिय श्रम ऐनअनुसार सेवा सुविधा पाउने गरी नै जर्मन कामदार पठाउन ड्राफ्ट आदान-प्रदान हुने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
यी क्षेत्रमा कामदार पठाइने
जर्मनी सरकारले २०२४ देखि ठूलो संख्यामा विदेशी कामदार भिœयाउने नीति लिएको छ । जसअनुसार जर्मनी सरकारले नेपाललाई पनि कामदार लिने स्रोत देशभित्र राखेको जर्मनका सञ्चारमाध्यमहरूले जनाएका छन् । जर्मनीमा पछिल्लो समय निर्माण, होटल, उद्योग र सुरक्षा क्षेत्रमा कामदारको अभाव भएपछि विदेशी कामदार भित्र्याउने नीति लिएको हो । जर्मनीमा उद्योग, होटल, स्वास्थ्य, निर्माण क्षेत्र, सुरक्षा, कृषि, उत्पादन र पर्यटन क्षेत्रमा कामदार पठाउने गरी ड्राफ्ट तयार भएको श्रम मन्त्रालयले जनाएको छ । जर्मनी जाने कामदारको सेवा सुविधा, तलब, रोजगार बिमा, स्वास्थ्य सुविधा, हवाई टिकट, सामाजिक सुरक्षा कोष, करार अवधि र आवतजावत खर्चका बारेमा ड्राफ्टमा प्रष्ट समेटिएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।
जर्मनीकोे कृषि, होटल, उद्योग, शिक्षण र अन्य पेसामा वार्षिक व्यक्तिगत भिसा एक हजार पाँच सयजना नेपाली रोजगारीका लागि जाने गरेको विभागले जनाएको छ । जर्मनीमा अहिले पनि व्यक्तिगत भिसामा रोजगारीका लागि नेपालीहरू जाने गरेको विभागको तथ्यांकमा उल्लेख छ । श्रम मन्त्रालयका अनुसार अहिले यति कामदार पठाउने भन्ने यकिन भएको छैन । तर, वार्षिक पाँच हजारको संख्यामा जर्मनीमा कामदार पठाउन सकिने मन्त्रालयको अनुमान छ ।
जर्मनीमा रोजगारीमा जाने कामदारले मासिक दुई लाख रुपैयाँसम्म कमाउन सक्ने मन्त्रालयको भनाइ छ । जर्मनी नेपाली कामदारका हकमा राम्रो रोजगार गन्तव्य देश बनाउने गरी छलफल र रोजगारीका सम्भावनासमेत खोजी भइरहेको श्रम मन्त्रालयको बुझाइ छ । तर, श्रम मन्त्रालयले भनेजस्तो जर्मनलाई रोजगार गन्तव्य देश बनाउन मुस्किल हुने देखिन्छ । सरकारले युरोपका केही देशलाई नयाँ रोजगार गन्तव्य देश बनाउन खोजीरहेको छ । जर्मनीपछि नेपालले पोर्चुगल, रोमानिया, पोल्याण्ड र फ्रान्ससँग पनि श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने तयारी गरिहरेको छ । हाल जर्मनीमा १० हजारको हाराहारीमा नेपालीहरू रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ ।
भदौमा १०२ देश साढे ५५ हजार कामदार विदेशिए
भदौ महिनामा ७७ वटै जिल्लाबाट १०२ देशमा जान कामदारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ । भदौ महिनामा वैदेशिक रोजगारीमा जानका लागि ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको हो । यो नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको संख्या हो । गत साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर विदेशिएकोमा भदौ महिनामा झण्डै पाँच हजार जनाले घटेको विभागले जनाएको छ ।
पहिलोपटक श्रम स्वीकृति लिनेको संख्या भदौ महिनामा ३५ हजार ३०३ जना रहेको छ । साउनमा यो संख्या ३९ हजार १५२ जना रहेको विभागले जनाएको छ । भदौ महिनामा श्रम स्वीकृति लिनेमा उच्च सीप भएका ३९ जना रहेका छन् भने व्यावसायिक ८७ जना छ । यस्तै, अर्ध दक्ष चार हजार ९९ जना, सीपयुक्त, ३५ हजार ८१० जना र अदक्ष १० हजार ८४९ जना रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच