विश्वविद्यालय दूध दिवस मनाइने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नवौँ विश्वविद्यालय दूध दिवस विद्यालय तहमा खुला कविता प्रतियोगिता गरी मनाइने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डिडिसी), केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को संयुक्त सहकार्यमा नेपाल डेरी एसोसिएसनको आयोजनामा विद्यालय तहका कक्षा तीनदेखि १० सम्मका विद्यार्थीबीच खुल्ला कविता प्रतियोगिता वाचन गरी सञ्चालन हुने एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताउनुभएको छ ।

कार्यक्रमले बालबालिकाको चौतर्फी विकासमा सहयोग पुग्नुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गराउन ठूलो सहयोग पुग्ने एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताउनुभएको छ । साथै कार्यक्रमले बालबालिकालाई दूध तथा दुग्ध पदार्थबारे जानकारी हुनेछ । विद्यालय तहका विद्यार्थीलाई दूधको महत्व बुझाउँदै बालकदेखि वृद्धावस्थाका सबैलाई दूधको उपभोग बढाउने उद्देश्यका साथ कविता प्रतियोगिता आयोजना गरिएकाले प्रतियोगितामा सहभागी हुन एसोसिएसनले विद्यार्थीलाई आहृवानसमेत गरेको छ ।

प्रतियोगिताको कविताको विषय दूध, मोही, खीर, पनिर जस्ता दुग्धजन्य वस्तुसँग सम्बन्धित हुनुपर्नेछ । प्रतियोगितामा विजयी पाँचजनालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । एउटा विद्यालयबाट बढीमा दुईजना विद्यार्थीले भाग लिन सक्नेछन् भने असोज ८ गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ ।

एसोसिएसनले आफ्ना मातहतका सबै स्थानीय तह, जिल्ला र प्रदेश समितिलाई विभिन्न कार्यक्रम गरी विश्वविद्यालय दूध दिवस मनाउन निर्देशन गरिसकिएको कार्यक्रम संयोजक शिव घिमिरेले जानकारी दिनुभयो । विश्वविद्यालय दूध दिवस हरेक वर्ष सेप्टेम्बरको अन्तिम बुधबार विश्वभर मनाइन्छ । सो दिन विश्वमा कुनै पनि स्कुल बन्द हुँदैनन् भन्ने मान्यता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?