असल मान्छेको डिस्कोर्स

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ प्रा.डा. भूपप्रसाद धमला

खेमप्रसाद दाहाल प्रतिष्ठानको दोस्रो साधारणसभा तथा असल मान्छे स्मारिका २०८० को लोकार्पण कार्यक्रमको अवसरमा प्रमुख अतिथिको रूपमा वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहालले व्यक्त गर्नुभएको सारगर्भित भनाइको उद्धृत गर्नु सान्दर्भिक हुन्छ । त्यस कार्यक्रममा उहाँले असल मान्छेका चार प्रवृत्तिगत विशेषताको उल्लेख गर्नुभएको छ । ती विशेषता हुन् : असल स्वभाव, असल चरित्र, असल व्यवहार र असल ज्ञान । प्राध्यापक दाहालका विचारमा यी चार मूलभूत विशेषतायुक्त मान्छे असल हुन्छ । सतहमा हेर्दा यी कुरा सामान्य जस्ता लाग्छन् तर गहिरिएर हेर्दा यी कुरा अत्यन्त गहन छन् । सरल भाषामा अभिव्यक्त भएको यो विचार जति अर्थपूर्ण छ त्यत्ति नै जीवनोपयोगी पनि छ ।

‘असल मान्छे’ नामक स्मारिकाको एउटा पृष्ठभूमि पनि छ । ओखलढुंगा कटुन्जेमा जन्मी हुर्की काठमाडौंमा शिक्षा आर्जन गरेका पूर्वकार्यबाहक महालेखा परीक्षक खेमप्रसाद दाहालको देहावसान भएको एक वर्षपछि गत वर्षको सोही दिन उहाँको स्मृतिमा ‘सम्झनामा असल मान्छे ः खेमस्मृति ग्रन्थ २०७९’ प्रकाशन भएको थियो । यसो गर्नुको अर्थ खेमप्रसादमात्र असल मान्छे हुनुहुन्थ्यो भन्ने थिएन । सो पुस्तक प्रकाशनको उद्देश्य खेमप्रसाद नामका एक व्यक्तिको विशेष गुणको चर्चा गर्नुमात्र नभएर उहाँको समग्र योगदानको सम्मान गर्नु थियो, उहाँका सुकृत्यहरूलाई लिपिमा उतारेर संस्थागत गर्नु थियो, उहाँजस्ता असल मान्छेका सुकर्मलाई अमरत्व प्रदान गरी भावी पिँढीका मन मस्तिष्कमा असल मान्छेप्रतिको आस्था रोप्नु थियो । सो पुस्तक प्रकाशन गर्नुको अर्को उदेश्य ‘ठूलो मान्छे असल हुन्छ’ भन्ने डिस्कोर्सको सट्टा ‘असल मान्छे ठूलो हुन्छ’ भन्ने डिस्कोर्सको उजागर गर्नुथियो ।

ठूलो होइन असल मान्छे हुनुको धेरै ठूलो महत्व छ । प्रसिद्ध नेता बीपी कोइरालाकृत सन् १९८० मा प्रकाशित एक लघु उपन्यासकी पात्र मोदीआइनले ठूलो मान्छे होइन असल मान्छे हुनु भनेको कुरा झट्ट सुन्दा मामुली लागे पनि अत्यन्त सार्थक छ । 

असल हुनलाई ठूलो मान्छे हुनु पर्दैन । वस्तुतः सानो मान्छे नै बढ्ता असल हुन्छ । स्वयम् खेमप्रसाद मन्त्री, सचिव, सेनापति, प्रहरी महानिरीक्षक इत्यादि जस्तो शक्तिसम्पन्न ओहोदाको मान्छे हुनुहुन्नथ्यो । महालेखापरीक्षकको भूमिका निर्वाह गर्दाको बखत कुनै पनि कार्यालयले राखेको हिसाब किताबलाई रुजु वा बेरुजु गर्ने पूर्ण अधिकार भने उहाँसँग थियो । तथापि उहाँले आफ्नो पदको दुरुपयोग गरेर सत्यलाई असत्य र असत्यलाई सत्य साबित गराउनुभयो भन्ने कुरा कहिल्यै कतै सुनिएन । यही नै उहाँको अनमोल गुण थियो । त्यो नै असल मान्छेको विशेषता थियो ।

ठूलो होइन असल मान्छे हुनुको धेरै ठूलो महत्व छ । प्रसिद्ध नेता बीपी कोइरालाकृत सन् १९८० मा प्रकाशित एक लघु उपन्यासकी पात्र मोदीआइनले ठूलो मान्छे होइन असल मान्छे हुनु भनेको कुरा झट्ट सुन्दा मामुली लागे पनि अत्यन्त सार्थक छ । ठूलो मानिससँग कसैलाई तह लाउने सत्ता हुन्छ तर त्यही अर्थमा त्यो शक्ति खतरनाक पनि हुन्छ । शक्तिशाली मान्छे कहिलेकाहीँ भ्रष्ट पनि भइदिन्छ र उसको निर्णयले अरू मान्छेको जीवनमा भयानक ठूलो नकारात्मक असर पनि पर्नसक्छ । तर, असल मान्छेको हातमा शक्ति नै भयो भयो भने पनि उसले त्यसलाई असल काममै लगाउँछ । असल मान्छेले असल काम गर्छ खराब मान्छेले खराब नै गर्छ भन्ने मान्यता स्थापित मान्यता हो । शक्तिशाली ठूलो मान्छे हुनुभन्दा सानै भए पनि गुणकारी मान्छे असल हुन्छ ।

त्यसो त असल स्वभाव र खराब स्वभाव, असल चरित्र र खराब चरित्र, असल व्यवहार र खराब व्यवहार, असल ज्ञान र खराब ज्ञानबीचको रेखा कोर्न धेरै कठिन छ । असल मान्छे खुट्याएर उसको विशेषता उजागर गर्नु अझ कठिन कार्य हो । राज्यको कानुन मात्र होइन सामाजिक नियममा असल खराब यस्तो असल÷खराबको डिस्कोर्स बनेको हुन्छ । सामान्यतया शक्तिशाली मान्छेले आफ्नो अनुकूल यस्तो डिस्कोर्स बनाएको हुन्छ । प्रसिद्ध इतिहासकार मिसेल फुको (सन् १९२६-१९८४) का विचारमा शक्तिशाली मान्छेले जे मान्यता स्थापित ग¥यो त्यही सत्य सावित हुन्छ ।

परोपकारी मान्छे असल हुन्छ, स्वार्थी मान्छे खराब हुन्छ जुन मान्छेले निःस्वार्थ अरूको उपकार गर्छ त्यो मान्छे निःसन्देह असल हुन्छ । यो जगतमा खेमप्रसाद जस्ता अनगिन्ति असल मान्छेहरू छन् तर उनीहरूको सद्गुण, सच्चरित्र र सद्व्यवहारको चर्चा त्यत्ति धेरै गरिँदैन ।

तर, खराब शक्तिशाली मान्छेको बोलबाला भएको समाजले खराबलाई नै असल हो भनी परिभाषित गर्छ र खराब स्वभाव, खराब, चरित्र, खराब व्यवहार र खराब ज्ञानलाई नै असल हो भनी जबर्जस्त व्याख्या गर्दै त्यही मान्यता स्थापित गर्छ । हिजोआजको उत्तर-आधुनिक जमानाको मान्छे त्यत्तैतिर ढल्किँदै गएको प्रतित हुन्छ । समाजलाई सभ्य र सुसंस्कृत बनाउने सवालमा यो प्रवृत्ति भयानक चुनौती हो ।
यत्ति हुँदाहुँदै पनि असल स्वभाव, असल चरित्र र असल व्यवहार केही हदसम्म चिन्हित गर्न सकिन्छ । सानै कुरामा नरिसाउने, नझर्किने, नफन्किने स्वभावको मान्छे असल हुन्छ । त्यसैगरी भ्रष्टाचार, दूराचार, अनाचार, नगरी सदाचारमा बस्ने मान्छे असल चरित्रको मान्छे हुन्छ । एवम् रीतले अरूलाई अपमान गर्ने, गाली गलौज गर्ने, ढाँटने, छल्ने, ठग्ने, जालसाजी गर्ने, दुःख दिने व्यवहार खराब व्यवहार हो । असल ज्ञान र खराब ज्ञानको भेद भने छुट्याउन अलि गाह्रो छ । जस्तो कि न्युक्लियर फिजिक्सको ज्ञान असल हो कि खराब कसरी छुट्याउने हो भन्न गाह्रोमात्र होइन असम्भव पनि छ ।

अल्बर्ट आइन्सटाइनको सिद्धान्त मानव जीवनका लागि अत्यन्त उपयोगी छ तर त्यही सिद्धान्तको आधारमा निर्मित आणविक र पारमाणविक हतियार लिटल ब्वाइ र फ्याटम्यानले नागासाकी र हिरोसिमा जस्ता विकसित शहरलाई एकै निमेषमा ध्वस्त पारिदिए । व्यापक धनजनको विनाश गराउने यस्तो हातहतियार बनाउन सक्ने तुल्याउने ज्ञान असल हो वा खराब ? उही ज्ञान कुनै बेला असल अनि कुनै बेला खराब हुने कारण स्वयम् ज्ञान होइन बरू त्यस ज्ञानलाई प्रयोग गर्ने व्यक्ति असल वा खराब हुन्छ । यस अर्थमा असल ज्ञान भएको मानिसको पनि नियत असल भएन भने त्यसलाई असल ज्ञान भएको भन्ने कि नभन्ने ?

प्राध्यापक दाहालले सुझाउनु भएका असल मान्छेमा हुनुपर्ने चार गुणबाहेक पाँचौं प्रवृत्तिगत विशेषतामा असल नियत पनि थप्नु बेस होला । समकालीन समाजमा सामाजिक सेवाको उद्देश्य देखाएर राजनीति गर्नेदेखि व्यवसाय गर्नेसम्मका मान्छेहरूको नियत असल छ वा छैन भनेर हेर्नुपर्ने हुन्छ । धेरै मान्छेले राम्रो काम गर्छु भनेर रामो कुरा गर्छन् किन्तु कोही व्यक्ति कपटी हुन्छन् जो एक थोक भन्छन् तर अर्कै थोक गर्छन् । असल नियत नभएको डिस्कोर्स फल्स रेटरिकमात्र हुन्छ । यस्तो फल्स रेटरिक बनाउन सक्ने मान्छेहरू सतहमा विनयी देखिन्छन् तर अन्तर्यमा कपटी हुन्छन् । त्यस्ता मान्छेहरू किमार्थ असल होइनन् ।

असल मान्छेमा हुनुपर्ने यी महत्वपूर्ण विशेषताबाहेक परोपकार अर्को प्रमुख गुण हो । परोपकारी मान्छे असल हुन्छ; स्वार्थी मान्छे खराब हुन्छ जुन मान्छेले निःस्वार्थ अरूको उपकार गर्छ त्यो मान्छे निःसन्देह असल हुन्छ भन्ने कुरा सबैलाई ज्ञातै छ । यो जगतमा खेमप्रसाद जस्ता अनगिन्ति असल मान्छेहरू छन् तर उनीहरूको सद्गुण, सच्चरित्र र सद्व्यवहारको चर्चा त्यत्ति धेरै गरिँदैन बरू शक्तिसम्पन्न ठूला मान्छेहरूको मात्र गुणगान गाउने इतिहास लेख्ने चलन हाम्रो समाजमा पनि विद्यमान छ । शक्तिसम्पन्न ठूला मान्छेको डिस्कोर्सभन्दा साना तर असल मान्छेको डिस्कोर्स कैयौं गुणा हितकारी छ ।

असल मान्छे दुर्लभ हुँदै गएको वर्तमान परिस्थितिमा असल मान्छे र असल विचारको डिस्कोर्सबाहेक स्मृतिग्रन्थ र स्मारिकाको प्रकाशन तथा प्रचार प्रसार अत्यन्त समसामयिक र सान्दर्भिक छ । यस सन्दर्भमा खेमप्रसादका असल गुणको उजागर गरेर असल मान्छेको अर्थ बोध गराउने अघिल्लो वर्षको स्मृतिग्रन्थ र प्रतिष्ठानले यस वर्ष प्रकाशन गरेको स्मारिका समग्र समाजको लागि ग्रहणीय छ । जुन मान्छेले असल मान्छे बारेको डिस्कोर्स मनन गर्दै आफ्नो जीवनमा पनि लागू गर्छ त्यो मान्छे असल हुन्छ । त्यस्ता असल मान्छेहरूको बाहुल्य भएको समाज समुन्नत, सभ्य र सुसंस्कृत हुन्छ । त्यसैले असल मान्छेको डिस्कोर्सलाई समाजमा बलियो गरी स्थापित गर्नु आजको प्रमुख आवश्यकता हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?