एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडौं । हाङझाव एसियाडमा जुडोमा नेपाली टोलीको यात्रा मंगलबार समाप्त भएको छ । उक्त दिन दुई खेलाडीको पराजयसँगै जुडोमा नेपालको यात्रा टुंगिएको हो । जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित हुनुभयो । उहाँलाई प्रि-क्वाटरफाइनलमा कजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेण्डमा हराउनुभयो । महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा पराजित हुनुभयो । प्रि-क्वाटरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेण्ड टिक्नुभयो ।

जुडोमा नेपालबाट समान चार-चार पुरुष/महिला गरी आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिनुभएको थियो ।

महिलामा मनिता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो । सहभागीमध्ये विकासले मात्र एक ‘बाउट’ जित्नुभयो । उहाँले ६० केजीको राउण्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाउनुभएको थियो ।

हाङझाव एसियाडको चौथो दिन मंगलबार तीन नेपाली तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरेका थिए । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनि अन्तिम ३२ को खेल जिते पनि अन्तिम १६ मा पराजित हुनुभयो । उहाँले टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्नुभएको थियो ।

प्रि-क्वाटरफाइनलमा भने उहाँ थाइल्याण्डका बानलुङ टुबतिम्दाङसँग २-० ले पराजित हुनुभयो । यसैगरी मंगलबारै भएको महिला ५३ केजीमुनिको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २-० ले पराजित हुनुभयो । महिला ५७ केजीमुनि अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २-० ले पराजित हुनुभयो । यसअघि नै तेक्वान्दोका चार खेलाडी बाहिरिसकेका छन् ।

महिला फुटबलमा हार
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले समूह चरणको दोस्रो खेलमा जापानसँग फराकिलो हार बेहोरेको छ । वेन्झौ ओलम्पिक रंगशालामा सुरुवाती मिनेटमै गोल खाएपछि दबाब खेपेको नेपाल ८-० ले पराजित भएको हो । पहिलो हाफमा ५-० को अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थप्यो । नेपाल पहिलो खेलमा भियतनामसँग २-० ले पराजित भएको थियो । यसै समूहको अर्को खेलमा भियतनामले बंगलादेशलाई ६-१ ले हरायो । पहिलो खेलमा जापानसँग नै ८-० ले हारेको बंगलादेशले अब बिहीबार नेपालसँग खेल्नेछ । नेपाल र बंगलादेश दुवै समूहबाट बाहिरिसकेका छन् । अब जापान र भियतनामबीच हुने अन्तिम खेलले समूह विजेताको छिनोफानो हुनेछ ।

अञ्जलीको मिश्रित प्रदर्शन
नेपालकी अञ्जली तामाङले १९औँ एसियाली खेलकुदको तेक्वान्दोमा सोमबार मिश्रित प्रदर्शन गर्नुभएको छ । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनिमा अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गर्नुभयो । पहिलो राउण्डमा सात-सातको बराबरी खेल्नुभएकी अञ्जलीले दोस्रो राउण्डमा १०-४ अंकले आफ्नो पक्षमा पार्दै प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभएको छ । प्रि-क्वाटरफाइनलमा भने अञ्जली थाइल्याण्डकी पानीपक वोङ पातान्कितसँग चुक्नुभयो । अञ्जली १२-० र १०-० ले पछि पर्नुभयो ।
पुरुष ५८ केजीमुनि नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरेबियाका नासिर अहमदी रियादसँग ४-१२ र २-० ले हार्नुभयो । तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित हुनुभएको थियो ।

बास्केटबलमा पनि हार
एसियाली खेलकुदको महिला यू-२३ थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२-४ ले पराजित गर्‍यो । नेपालका लागि मिना गुरुङ र गरि शासिलवालले समान २-२ स्कोर गर्नुभयो । नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहनुभएको छ । समूह ‘बी’मा चाइनिज ताइपेईं र काजकिस्तान पनि छन् । नेपालले बुधबार काजकिस्तानसँग तथा ताइपेईसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

साइक्लिङ
एसियाली खेलकुदको साइक्लिङमा नेपालका सुरज राना मगर र उषा खनाल सोमबार निर्धारित दूरी तय गर्न असफल रहनुभयो । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्नुभएको थियो । योसँगै साइक्लिङमा नेपालको चुनौती समाप्त भएको छ । पुरुषको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोस्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जनाउनुभएको छ । पाँच ल्यापको प्रतिस्पर्धामा सुरजसँगै फिलिपिन्सका दुई तथा दक्षिण कोरिया र युएईका एक-एक खेलाडीले पनि दूरी पार गर्न सकेनन् । चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले कांस्यमा चित्त बुझाउनुपर्‍यो ।

महिलाको २०.५६ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्दै गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जानकारी गराउनुभयो । झेसौ स्पोर्ट्स सेन्टरमा भएको चार ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सक्नुभएन ।

फेन्सिङ
फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा पायस योञ्जनले पाँचवटै खेलमा पराजय बेहोर्नुभयो । पायस काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिनलोसँग ५-० तथा उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान सायद इस्माइल जादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५-१ ले स्तब्ध बन्नुभयो ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५-२ सँग समूह चरणमा पराजित हुनुभयो । महिला फोइल व्यक्तिगततर्फ पनि मन्दिरा थापाको यात्रा पनि समूह चरणमै टुंगियो । उहाँ हङकङकी नोक डाफी चेन, जापानकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिनहोङसँग समान ५-०, मकाउकी हियो ल्यामकुसँग ५-१ तथा थाइल्याण्डकी चायदा स्मृति सुकुलसँग ५-३ ले निराश बन्नुभयो ।

दक्षिण कोरियाकी सिनाहोङसँग ५-३, थाइल्याण्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युकायुनोसँग ५-१, सिंगापुरकी म्याक्सिनवाङसँग ५-४ र चीनकी क्वइयान क्यानहुआङसँग ५–० ले स्तब्ध बन्दा गोमा आचार्यको यात्रा पनि समूह चरणमै रोकियो ।

लनटेनिस
हाङझाव एसियाडअन्तर्गत लनटेनिसको पुरुष सिंगल्समा नेपालका प्रदीप खड्का दोस्रो चरणमा रोकिनुभयो । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा भएको खेलमा जापानका सिन्तोरो मोचिजुकीले प्रदीपलाई ७-५ र ६-१ को सोझो सेटमा पराजित गर्नुभयो । पहिलो चरणमा प्रदीपले टिमोर लिस्टेका एन्टोनियो मेन्डेसमाथि ६-० र ६-० को सहज जित हात पार्नुभएको थियो ।

पुरुष सिंगल्समै हङकङका कोलम्यानवोङ चकलामले नेपालका अभिषेक बास्तोलालाई पहिलो चरणमा सीधा सेटमा ६-२ र ६-० हराउनुभयो । प्रदीप र अभिषेक दुवैको खेल १ घण्टा १३ मिनेट चलेको थियो । मिक्स डबल्समा इण्डोनेसियाका अल्डिला सुत्जिदा र बेन्जामिन क्रिस्टोफरको जोडीले नेपालका अभिषेक बास्तोला र अभिलाषा विष्टको जोडीलाई ६-० र ६-० को सोझो सेटमा पाखा लगाउनुभयो । खेल ५१ मिनेट चलेको थियो ।

महिला डबल्समा अभिलाषा विष्ट र माहिका राणाको जोडीको यात्रामा पनि पूर्णविराम लाग्यो । ५२ मिनेट चलेको खेलमा दक्षिण कोरियाका डायियोन ब्याक र बोयोङ जियोङको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६-१ र ६-० ले पाखा लगाउनुभयो ।

सन्दीप र सागर चीन प्रस्थान
नेपाली क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र सागर ढकाल मंगलबार दिउँसो १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न दिउँसो चीन प्रस्थान गर्नुभएको छ । नेपाली क्रिकेट टोली आइतबार नै चीन पुगेको छ । नेपालले बुधबार बिहान मंगोलियासँग खेल्दैछ । सन्दीप आइतबार बलात्कार मुद्दाको जिल्ला अदालत काठमाडौंमा पेशीका कारण सोमबार जाने कार्यक्रम थियो ।

तर, सन्दीप सोमबार मानसिकरूपमा खेल्न नसक्ने अवस्थामा पुगेको भन्दै नजाने हुनुभएको थियो । चन्द र सचिव पारस खड्काले सोमबार राती सन्दीपलाई भेटेपछि सन्दीप जान तयार हुनुभएको हो । सागर ढकाल स्पिनर ललित नारायण राजवंशीको स्थानमा जान लाग्नुभएको छ । बुधबार टियु क्रिकेट मैदानमा अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएपछि बुटीबोनमा चोटका कारण ललितले एसियाड गुमाउनुहुने भएको छ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल मंगोलियासँग बुधबार र आइतबार माल्दिभ्ससँग खेल्नेछ । नेपाल क्वाटरफाइनलमा पुग्न औपचारिकतामात्रै बाँकी देखिन्छ । क्वाटरफाइनलमा बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंका छन् । विश्वकपका कारण सबै टेस्ट टोलीले आफ्नो दोस्रो रोजाइको टोली पठाएका छन् । क्वाटरफाइनलमा समूह ए, बी र सीबाट शीर्ष तीन टोली आउनेछन् । ड्रबाट क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपालले एसियाली क्रिकेटमा पदकको ठूलो अपेक्षा राखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?