पाल्पामा पर्यटकीय सिजनमै छैन चहलपहल

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । सेप्टेम्वर–नोभेम्वर मुख्य गरी पर्यटकीय सिजन मानिन्छ तर केही वर्ष यता पाल्पा सहित देशका अधिकांश पर्यटकीय क्षेत्रहरुमा उत्साजनक देखिदैन । केही वर्षअघिसम्म मुख्य सिजनमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनले पर्यटन क्षेत्रको चहलपहल ह्वात्तै बढ्ने गर्दथ्यो । लामो समय अफसिजन गुजारेका पर्यटन व्यवसायी जहिल्यै सिजनको सुखद् पर्खाइमा हुन्थे । त्यही अनुसार सेप्टेम्बर–नोभेम्बर व्यवसायीको तीव्र पर्खाइमा रहन्थ्यो । तर, पछिल्लो समय पर्यटनको मुख्य सिजन सुखद् हुन सकेको छैन ।

पर्यटक भित्रिने मुख्य सिजन भएपनि सुखद् नहुनुमा पाहुना आगमन सन्तोषजनक रुपमा बढ्न नसकेको व्यवसायीको गुनासो छ । कोभिड–१९ महामारीका कारण नराम्रोसँग धाराशयी बनेको पाल्पाको पर्यटन क्षेत्र अहिले पनि राम्रोसँग उठ्न सकेको छैन । वि.स. २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको पर्यटन क्षेत्रमा कोभिडले नराम्रोसँग असर गरेपछि पर्यटकीय सिजनमा समेत सुनसान जस्तै छ । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सुस्ताएको यहाँको पर्यटन र होटल व्यवसाय पुरानै लयमा फर्किने आशा गरे पनि त्यस्तो छैन।

यहाँका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र यतिबेला सुनसान जस्तै बनेका छन् । यो समयमा नेपालको ताजमहल रानीमहल दरबार, एसियाकै ठूलो त्रिशुल रहेको भैरवस्थान, रम्भादेवी मन्दिर, तालपोखरा, राम्चे दृश्यावलोकन (भ्यू टावर) क्षेत्र, रामघाट, सिद्धबाबाधाम, श्रीनगरडाँडा लगायतका स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने गरे पनि अहिले सुनसान जस्तै देखिएको पाल्पाली होटल व्यवसायी राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो ‘पाल्पामा थुप्रै पर्यटकीय क्षेत्रहरु भए पनि स्थानीय, प्रदेश, संघीय सरकार र पर्यटनसँग सम्बन्धित निकायहरुले तिनीहरुको विकासमा ध्यान दिन सकेका छैनन् । जसले गर्दा पर्यटकहरुको आगमन हुन सकेको छैन ।’

ऐतिहासिक पाल्पा दरबार, श्रीनगर, रानीमहल, माडीफाँट, जस्ता सयौ पर्यटकीय क्षेत्रहरू व्यवस्थित गर्न सके मात्र पनि तानसेनमा दैनिक हजारौं पर्यटक भिर्याउन सकिने महर्जनले बताउनुुभयो । यहाँका थुप्रै पर्यटकीय स्थलहरु रहे पनि व्यवस्थापन र प्रचार –प्रसार हुन नसक्दा तानसेनको विकास हुन नसकेको उहाँको भनाई छ । ‘तानसेनमा थुप्रै लगानीकर्ता छन्, तर यहाँ आउने पर्यटकहरूलाई लामो समयसम्म अड्याई राख्न सकेका छैनौ । जसका कारण यहाँको व्यापार समेत खस्कदो छ, पर्यटकहरु अड्याउनका लागि सोही अनुसारको पूर्वाधार निर्माण हुनुपर्छ तर यहाँ त्यसो हुन सकेको छैन’ व्यवसायी महर्जनले भन्नुभयो । उहाँले व्यापार फष्टाउन सके मात्र तानसेनको विकास हुने बताउनुभयो । पर्यटनबाट हुने आम्दानी हेर्ने हो भने यतिबेला पाल्पाका धेरै व्यवसायी सिजनबाट सन्तुष्ट छैन । सेप्टेम्बरको समयलाई व्यवसायीले सिजन सुरुवात मान्दथे । अक्टोबर र नोभेम्बर त झनै ‘पिक’ सिजन मानिन्थ्यो । तर, पाल्पामा बाह्रै महिना पर्यटनको सिजन भए पनि पर्यटकहरुको भित्रिन सकेका छैनन् ।

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पाल्पाका अध्यक्ष राजीव शाहा पनि पछिल्लो समयको आगमनले पर्यटनमा खुसी हुने अवस्था नरहेको बताउनुहुन्छ । ‘सिजनको व्यापारबाट सन्तुष्ट हुने आधार छैन । कोभिड अघि सिजन भनेपछि हामीलाई भिन्नै उत्साह पलाउथ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले भने उत्साहजनक अवस्था नै हुन छाडेको छ ।’ नाट्टा पाल्पाले भने पहिचान हुन नसकेकाहरु पर्यटकीय स्थलहरुको खोजी र पहिचान भएकाहरुको प्रचार–प्रसार गर्ने प्रयास गर्दै आएको छ । उसले साउन भर हरेक शनिबार पदयात्रा सञ्चालन गरेको थियो । कोरोना संक्रमणका कारण लामो समयदेखि तहसनहस भएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन पदयात्रा गरेको नाट्टाले अब त्यसको बजार व्यवस्थापनमा लाग्ने तयारी गरेको अध्यक्ष शाहाले बताउनुभयो ।

रिब्दीकोट गाउँपालिका–४ स्थित भैरवस्थान मन्दिरमा पछिल्लो समय आन्तरिक दर्शनार्थीहरुको आगमनमा वृद्धि भएपनि बाह्य दर्शनार्थीको उपस्थिति निकै कम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताउनुभयो । शनिबार र सार्वजनिक बिदाका दिन पाँचदेखि सात हजारसम्म आन्तरिक पर्यटक आउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ हुनुअघि भने शनिबार र बिदाका समयमा दिनमा १० देखि १२ हजारसम्म पर्यटक भित्रिने गरेका थिए । उहाँले स्थानीय सरकार, नीजि संघसंस्थाहरुले पर्यटन क्षेत्रको विकासमा ध्यान नदिदा पाल्पाको पर्यटन क्षेत्रले गति लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘तानसेनलाई केन्द्र बनाएर पदमार्गको व्यवस्था मिलाउन सकेमा पर्यटकीय चहलपहल बढाउन सकिन्छ ।’

विश्व पर्यटन दिवस आज नेपालसहित विश्वमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो वर्ष ‘पर्यटन र हरित लगानी’ नारासहित विश्व पर्यटन दिवस मनाईएको हो । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै उक्त दिनको सम्झनामा हरेक वर्षको सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?