भुपेन्द्र र सुष्मा पनि पराजित

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । एसियन गेम्सको बक्सिङमा नेपालका भुपेन्द्र थापा र सुष्मा तामाङ पराजित हुनुभएको छ । बुधबार हान्जाओमा भुपेन्द्र अन्तिम १६ को खेलमा ताइपेका लाल चेन इनसँग ४-० ले पराजित हुनुभयो । भुपेन्द्र ६३ दशमलब पाँच केजीमुनिको तौल समूहमा ताइपेका खेलाडीसँग पराजित हुनुभएको हो । यस्तै, अन्तिम १६ को खेलमा सुष्मा ५० केजीमुनिको तौल समूहमा काजकिस्तानकी खेलाडीसँग पराजित हुनुभयो । सुष्माले काजकिस्तानकी नाजिमसँग ५-० ले हार बेहोर्नुभएको हो ।

तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिएको छ । बुधबार तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीनजना नै बाहिरिएका छन् ।

पुरुष ६८ केजीमुनि वीरबहादुर महरा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २-० ले नै पराजित हुनुभयो । पहिलो चरणमा १०-० ले पछि पर्नुभएका वीरले दोस्रो चरणमा केही सुधार गरे पनि १२-८ ले पछि पर्नुभयो ।

महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ मा इरानकी मेलिका मिरहोसेनी भाकिलीसँग २-० ले निराश बन्नुभयो । उहाँ १४-१ र ९-० ले पराजित हुनुभयो । अब एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

हाङझाव एसियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिनुभयो । महिला एक सय मिटर ब्रेस्ट स्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गर्नुभएकी डुवाना सातौँ स्थानमा रहनुभयो । उहाँले निर्धारित दूरी तय गर्न एक मिनेट २०.१५ सेकेण्ड समय लगाउनुभयो । ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिनुभयो ।

पुरुष दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा दोस्रो हिटमा प्रतिस्पर्धा गर्नुभएका नासिरले निर्धारित दूरी दुई मिनेट ००.१४ सेकेण्डमा पार गर्नुभयो । आठ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उहाँ सातौँ हुनुभयो ।

महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । समूह ‘बी’ को लिग खेलमा नेपाल कजाखस्थानसँग १७-१० ले हार्‍यो । कजाखस्थानविरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान चार-चार अंक जोड्नुभयो । नेपालको स्कोरबोर्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान एक-एक अंक थप्नुभयो ।

समूह चरणको पहिलो खेलमा जापानले नेपाललाई २२-४ ले हराएको थियो । नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ । मिक्स टिम इभेन्टमा पनि पराजय बेहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो ।

जिओशान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल जापानसँग ४-० ले पराजित भयो ।
टिम इभेन्टमा प्रतिस्पर्धा गर्नुभएका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित हुनुभयो । यस्तै, आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले हृयोगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पराजित हुनुभयो ।

यस्तै, मिक्स टिमका पराजित टिमहरूबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४-० ले नै पछि पर्‍यो ।
महिला हृयाण्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२-१० ले पराजित भयो । पहिलो हाफमा ६ गोल गरेको नेपालले दोस्रो हाफमा ४ गोल गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपाल आयोजक चीनसँग ५७-१० ले पराजित भएको थियो । एसियाडको महिला हृयाण्डबलमा नेपालको यो पहिलो सहभागिता हो ।

उसुमा नेपालका दुई प्रमुख खेलाडी दीपक हमाल र निमा घर्ती मगर पराजित हुनुभयो । दुवै १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुनुहुन्थ्यो । झिओसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको पुरुष नान्छ्वान र नान्गुन अलराउण्डमा दीपक समग्रमा १३औँ स्थानमा रहनुभयो । उहाँले नान्छ्वानमा ९.६३३ तथा नान्गुनमा ९.५४६ गरी जम्मा १९.१७९ अंक जोड्नुभयो । २० खेलाडी सहभागी थिए । इण्डोनेसियाका हरिस होराटियुसले स्वर्ण, दक्षिण कोरियाकी योङमुनलिले रजत र मकाउका जुन्हुवाहुवाङले कांस्य जित्नुभयो ।

महिला नान्छ्वान र नान्दोओ अलराउण्डमा निमा समग्रमा १०औँ स्थानमा रहनुभयो । निमाले नान्छ्वानमा ९.१४० तथा नान्दाओमा ९.१४० सहित १८.७०३ अंक बटुल्नुभयो ।

लनटेनिसको मिक्स डबल्समा नेपालका प्रणव खनाल र सुनिरा थापाको जोडी पराजित हुनुभयो । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको दोस्रो चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनिराको जोडीलाई ६-० र ६-० को सोझो सेटमा पराजित गर्नुभयो ।

हाङझाव एसियाडअन्तर्गत चौथो दिन मंगलबार स्क्वासमा नेपाल पुरुष÷महिला दुवै टोली टिम स्पर्धामा पराजित भए । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा सुरु भएको स्पर्धामा पुरुष/महिलातर्फ दुई इभेन्टमा नेपाल पराजित भयो । पुरुषतर्फ समूह ‘ए’ मा रहेको नेपाल कुवेत र पाकिस्तानसँग समान ३-० ले पराजित भयो । टिम इभेन्टमा नेपालका अमिर ब्लोन कुवेतका अली अल्रामेजीसँग ११-२, ११-३, ११-५ ले, अमृत थापा मगर अब्दुल्लाह अल्मेजायनसँग ११-२, ११-२, ११–६ र अरहान्त केशर सिंह अम्मार अल्तामिनीसँग ११-३, ११-३, ११-५ ले पराजित हुनुभयो ।

भलिबल टोली चीन प्रस्थान
नेपालको राष्ट्रिय महिला भलिबल टिम चीन प्रस्थान गरेको छ । एसियन गेम्समा सहभागिता जनाउन नेपाली टिम चीन लागेको हो । नेपालको महिला भलिबल टिमले एसियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । नेपाल प्रतियोगिताको समूह ‘सी’मा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा दक्षिण कोरिया र भियतनाम समावेश छन् । समूहका शीर्ष दुई टिम शीर्ष ८ मा छनोट हुनेछन् । तेस्रो र चौथो टिम नवौँदेखि १३ स्थानमा झर्नेछन् ।

नेपाली टिममा कप्तान अरुणा शाहीसहित प्रतिभा माली, उषा भण्डारी, निरुता ठगुन्ना, पुनम चन्द, कविता भट्ट, संगम महतो, सफिया पुन, कामना विष्ट, सलिना श्रेष्ठ, सरस्वती चौधरी, जानकारी भण्डारी हुनुहुन्छ । नेपाली टिमका प्रशिक्षक यान दी ब्रान्त र जगदिश भट्ट हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?