मनसुन लम्बियो, अझै दुई दिन लगातार पानी पर्ने

दशैँमा कम पर्ने सम्भावना छ : महर्जन

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । यस वर्षको मनसुन लम्बिएको छ । मनसुन बाहिरिने बेला भए पनि देशभर निरन्तर पानी परिरहेको छ । नेपालमा सामान्यतः अक्टोबर २ बाट मनसुन बाहिरिने गरेको छ । अझै बुधबारसम्म मनसुन बाहिरिने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनले अझै दुई दिन निरन्तर पानी पर्ने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार बिहीबारबाट भने मौसममा क्रमिक सुधार हुनेछ । ‘सामान्यतः अक्टोबर २ मनसुन बाहिरिने औसत मिति हो । तर, यसपालि अहिलेसम्म पनि पानी परिहेको छ । बुधबारसम्म मनसुन बाहिरिने सम्भावना छैन,’ उहाँले भन्नुभयो, ‘बुधबारपछि मात्रै कहिले बाहिरिन्छ भन्न सकिन्छ । बिहीबारबाट भने मौसममा सुधार हुँदै जानेछ ।’ अक्टोबर २ मनसुन बाहिरिने औसत मिति भए पनि यही मितिमा ठ्याक्कै बाहिरिनुपर्छ भन्ने नहुने उहाँले बताउनुभयो । यसपालिको दशैँमा भने पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । बिहीबारबाट मौसममा सुधार हुने भएकोले दशैँमा पानी पर्ने सम्भावना कम रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । यसले बदली र वर्षात् गराइरहेको छ ।

हालसम्म औसतभन्दा केही कम पानी परेको उहाँले बताउनुभयो । अझै पानी परिरहेकोले यकिन विवरण भने आइनसकेको उहाँको भनाइ छ । ‘अहिले पनि पानी परिरहेकोले यकिन त भन्न सकिँदैन । केही दिन अघिसम्मको तथ्यांकअनुसार यसपालि नेपालमा औसत मनसुनको कुल ८८.३ प्रतिशत वर्षा भएको छ,’ उहाँले भन्नुभयो, ‘अझै पानी परिरहेकोले केही बढ्ला । सुरुमै पनि यसपालि औसतभन्दा कम पानी पर्ने आँकलन गरिएको थियो ।’

नेपालमा यो वर्ष जुन १४ मा मनसुन भित्रिएको थियो । तर, त्यसको नौ दिनपछि मात्रै मनसुन देशैभरि फैलिएको थियो । सुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका अधिकांश भू-भागमा मनसुन आगमन भएको थियो । यसपालि मनसुनको सुुरुआती समयमै पूर्वी नेपालमा भारी भारी वर्षा भएको थियो । वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा पूर्वी नेपालमा ठूलो धनजनको क्षति भएको थियो ।,

कर्णाली र सुदूरपश्चिमबाहेक पाँच प्रदेशमा ठूलो पानी पर्ने
नेपालमा अझै दुई दिन लगातार पानी पर्ने भएको छ । आज (मंगलबार) र भोलि (बुधबार) पनि देशका अधिकांश स्थानमा निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, मंगलबार राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बधबार पनि देशभर सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ । बुधबार कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

देशभरका नदीहरूको बहाब बढ्ने
आगामी दुई दिन देशभरका अधिकांश नदीहरूको बहाब बढ्ने भएको छ । आज (मंगलबार) र भोलि (बुधबार) पश्चिम राप्ती, बबई, तिनाउसहित स-साना सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकी प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाब उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ । यी क्षेत्र भई बहने नदी तथा खोला किनारमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

केही दिन धान नकाट्न र काटेको भए भित्र्याइहाल्न विभागको आग्रह
यसपालि असोजमा पनि पानी परेपछि धान भित्र्याउन तयार किसानलाई समस्या भएको छ । सामान्यतः अक्टोबर-२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । तर, यसपालि असोज मध्येसम्म पनि पानी परिरहेको छ । पानी परिरहेका कारण केही दिन तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले किसानले विशेष ख्याल गर्नुपर्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । ‘अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्र्याइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ,’ उहाँले भन्नुभयो, ‘दुई/तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?