चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव छ : मन्त्री ज्वाला

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताउनुभएको छ ।

बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाई थियो ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले दशैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताउनु भयो । मन्त्री ज्वालाले भएको सोत र साधनको अधिकतम परिचालन गरी दशैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाको खाल्डाखुल्डी भने दशैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भिर छ । अब बजेटको अभाव छ । यहाँहरुलाई जानकारी छ । अव बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ । प्रक्रियागत झमेलाहरु पनि छन् । तर भएका स्रोतलाई अत्याधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भिर छ । दशैँअगाडि चाहीँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरुका खाल्डाखुल्डी हामीले व्यवस्थित गरिसक्छांै । यो चाहीँ समितिमा हाम्रो कमिटमेन्ट हो । त्यसै अनुसार हामीले निर्देशन दिइरहेका छौं । र, उहाँहरु त्यो काममा लागि सक्नुभएको छ । तर सडक भनेको चाहीँ सबै भौतिक पूर्वाधार मन्त्रालयको मात्रै हो कि भन्ने आम जनताको माझमा परेको छ । अव माननीय ज्युहरुलाई भन्न चाहन्छु–करिडोर अन्तर्गतका सडकहरु शहरी विकास मन्त्रालय अन्तरगत पर्दछ । कतिपय भित्री सडकहरु महानगरपालिका, पालिकाको मातहतका पर्दछन् । त्यसैले म चाहीँ भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पर्ने काठमाडौं उपत्यकाका सडकहरुको खाल्डाखुल्डी हामी व्यवस्थित गरिसक्छौं । र, अलिबढी गम्भिर ढंगले ध्यान दिनुपर्ने मुख्य सडक भनेको नारायणगढदेखि मुग्लिनसम्मको सडक खण्ड हो । पानी परिरहने र पहिरो गईरहने यो सडकमा यो वर्षचाँही यात्रुहरुले धेरै सास्ती भोग्नुपरेन । यस वर्ष चाडपर्वका बेला त्यहाँ पहिरो आईहाले त्यसको तत्काल व्यवस्थापन हुनेगरी विशेष व्यवस्था गर्छौं ।’

मन्त्री ज्वालाले दशैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिनुभयो । उहाँले जथाभावी भाडा लिएर यात्रुहरुलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिनुभयो । यात्रुहरुलाई बस भाडामा ठगिन नदिने गरी तीन वटै तहको सरकारले सहकार्य गरेर अनुगमनको कामलाई सशक्त बनाउने उहाँले बताउनु भयो । मन्त्री ज्वालाले दशैँ अघि नै यातायात क्षेत्रको आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायसँग आफूले छलफल गरिसकेको पनि बताउनु भयो ।

मन्त्री ज्वालाले भन्नुभयो, ‘अब यो टिकट बुकिङको सन्दर्भमा चाहीँ मैले भनिपनि सके हामी यसमा सिरियस पनि छौं । विचौलिया प्रवृत्तिलाई नियन्त्रण गर्न र त्यसका लागि अनुगमनको कामलाई भरपर्दो बनाउनका लागि र अग्रिम बुकिङ खुला गर्ने र त्यसपछि त्यसलाई कसरी सहज गर्ने । लामो लाईन लाग्नुपर्ने अवस्था नहोस् । यात्रुहरुले टिकट लिनका लागि दुःख व्यहोर्न नपरोस् । आफूले लिएको टिकटको सिट नम्बरमा पनि बस्न नपाउने अवस्था नहोस् । बढी भाडा लिएर ठग्ने कुरालाई नियन्त्रण गर्ने कुरामा हामी संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायतका कार्यालयहरुसहितको सशक्त अनुगमन गरेर काम अगाडि बढाउछौं ।’

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैरजिम्मेवार बन्न नहुने बताउनु भयो । उहाँले यात्रुहरुलाई सहज हुने गरी यातायातको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद गैरेले भन्नुभयो, ‘दशैंको मुखमा आएर राजमार्ग मर्मतका लागि पनि बजेटको अभाव देखाउने काम सरकारले गर्नुहुन्न । बजेटको बारेमा पहिले कुरा गर्दाखेरी छ भन्ने तर अहिले आएर बजेटकै कमी छ भन्न सरकारले पाउँदैन ।’

सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पुँजी नै परिचालन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले एउटै परियोजनामा अर्व बजेट विनियोजन गर्ने तर त्यसको परिचालन नहुने कुराले मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भएकोले यसतर्फ गम्भिर बन्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद सापकोटाले भन्नुभयो, ‘आज अर्थतन्त्र धरापमा छ । एउटै परियोजनामा अर्ब बजेट छ । ठेक्का लगाई हाल्ने हो भने पनि एक वर्षमा त्यो बजेट चालू गर्न सक्दैन नि । एउटा परियोजनामा गएर एक अर्ब पैसा छ । अर्को परियोजनामा २० लाख छ । त्यसको टेण्डर निकाल्ने कि ननिकाल्ने ? तपाईहरु अन्यौलतामा हुनुहुन्छ । पूँजीजति गएर यसरी थुप्रिएको छ पूर्वाधारको रकम । भनेपछि अर्थतन्त्र भाईब्रेट भयो कि भएन ? यतिसम्म तालमेल नमिलाउने । हामी कसरी राज्य सञ्चालन गरिरहेका छौं ?’

सांसद सापकोटाले सरकारले पुँजी परिचालन हुने गरी नीति तय गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?