भूकम्पको क्षति निरीक्षण गर्दै शीर्ष नेता, बझाङका नेता भने गुमनाम भएको गुनासो

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 6 mins

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ आउने हुनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड मंगलबार बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले पुर्याएकाे क्षतिबारे अवलोकन गर्न बझाङ आउने कार्यक्रम तय भएको उहाँको सचिवालय जनाएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्का अनुसार प्रधानमन्त्री सहित उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बझाङ आउने कार्यक्रम शुक्रबारका लागि तय गरिएको हो ।

बिहीबार बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो ।

यस अघि बुधबार साँझ नै भूकम्प पीडितहरुको अवस्था बुझ्न पूर्वगृहमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बझाङ आउनु भएको थियो । उहाँले भूकम्पपछि घाइते भएका र विस्थापितहरुलाई भेट गर्नुभयो । बझाङको वित्थडचिर, केदारस्युँ गाउँपालिकामा भूकम्प पीडितसँग भेटघाट गरिसदरमुकाम चैनपुर पुग्नुभएका लामिछानेले भूकम्पका कारण बाहिर बसिरहेका सदरमुकामका स्थानीय र घाइतेहरुलाई भेट्नु्भयो ।

बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाकर्मी र स्थानीयसँग भेटघाट गर्नुभएको लामिछानेले पीडितहरुलाई राहत समेत वितरण गर्नुभएको थियो । लामिछानेले जिल्लाका संचारकर्मीहरुसंग भेटघाट गर्दै विपदमा परेकाहरुलाई सान्त्वना दिन बझाङ आएको र यहाँको समस्या प्रति गम्भीर बन्न सदन र अन्य निकायमा आवाज उठाउने समेत बताउनुभयो । आफू बझाङ आउनुले मात्रै पनि राज्यको नजर पर्नेसमेत उहाँको दाबी थियो । रवी आजपनि बझाङका पार्टीका पदाधिकारी र पशंसक सहित प्रभावित क्षेत्रको अवलोकनमा हुनुहुन्छ ।

त्यस्तै आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोली पनि बिहीबार बझाङ आएर प्रभावित क्षेत्रको अवलोकन गरिरहनु भएको छ । बिहीबार दिउँसो बझाङ पुग्नुएका मुख्यमन्त्री शाहको टोलीले आज बुंगल नगरपालिका लगायतका विभिन्न भुकम्प प्रभावित क्षेत्रको अवलोकनपछि बिहीबार साँझनै सदरमुकाम पुग्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । भुकम्पमा परी घाईते भएका व्यक्तिहरुको उपचार पनि सुदूरपश्चिम प्रदेश सरकारले निशुल्क उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

शीर्षनेताहरु भुकम्प प्रभावित क्षेत्रको अवलोकन गरी राहत वितारण गर्न तथा पीडितलाई सान्वना दिन बझाङमा आउदै हुनुहुन्छ तर बझाङबाट प्रतिनिधित्व गर्ने नेताहरु भने काठमाण्डौमै गुमनाम भएको भन्दै जिल्लाबासीले चर्को आलोचना गरिरहेका छन् ।

बझाङबाट प्रतिनिधिसाभा सांसद तथा शिक्षा स्वास्थ्य तथा सुचना प्रबिधि समिति सदस्य भानुभक्त जोशी भने असोज १६ गते बझाङमा आउनु भएकाे थियाे ।  भूकम्पका कारण जनताले खेपेका पीडा र समस्या समाधानका लागि भूकम्प गएकै दिनदेखि  काठमाडौंमा रहेपनि प्रशासन, प्रहरी, जनप्रतिनिधि, आम समुदायसँग नियमित सम्पर्कमा रहेको उहाँले बताउनु भयाे ।

आफ्नै पहलमा सेभ द चिल्डर्नले २०० वटा बस्ने त्रिपाल पठाएको र अहिले तत्काल कति राहत सामाग्री आबश्यक हुन्छ , तथ्यांक संकलन भैरहेकोले आफुले सरकार लाई धचधच्याई काम गरिरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर आफुले प्रत्यक्ष अबलोकनका लागि आग्रह गरेकै कारण  प्रधानमन्त्री बझाङ आउन लाग्नु भएको बताउनु भयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले पनि आफु पीडितहरुको लागि सरकारको ध्यानाकर्षण गराएको र राहत संकलनको लागी पनि प्रयासरत रहेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले यस अघिनै मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिनुभएको थियो ।

बझाङमा भूकम्पका कारण जयपृथ्वी नगरपालिकाकी ४० बर्षीया गुणमती धामीको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । भूकम्पबाट ३७८ निजी आवास र ७ वटा विद्यालय भवनमा क्षति पुगेको छ भने २५ वटा सरकारी कार्यालय भवन, एउटा स्वास्थ्य भवन क्षतिग्रस्त भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?