हाजिर भएको ३ दिनमै डाक्टरको सरुवा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पामा डाक्टरको हाजिर भएको ३ दिनमै सरुवा भएको छ । असोज १६ गते पाल्पा अस्पतालमा मेडिकल सुपरिटेन्डनका रुपमा आउनुभएका डा. किशोर बञ्जाडेको ३ दिनमै सरुवा भएको हो ।

दशौ तहका एम.डि.जि.पि. डा. बञ्जाडेलाई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले गुल्मी जिल्ला अस्पतालमा सरुवा गर्नुभएको हो । असोज १६ गते अस्पतालमा हाजिरी हुनुभएका डा. बञ्जाडेलाई असोज १८ गते सरुवा गरिएको छ ।

संघीय सरकार अन्तर्गत रहनुभएका डा. बञ्जाडेले पाल्पा अस्पतालमा रमाना लिएर हाजिर हुँदा प्रदेश स्वास्थ्यमन्त्री खनालसँग सहकार्य नगरेका कारण सरुवा गरिएको स्रोतले जनाएको छ । बञ्जाडे भने लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट सहमति स्विकृति पत्र लिएर आएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल विकास समितीका अध्यक्ष गुराश आत्रेयको अगुवाईमा बसेको सर्वदलीय बैठकले हाजिर भएको ३ दिनमै गरिएको सरुवा मान्य नभएको बताएको छ । पाल्पाका सम्पूर्ण राजनीतिक दलहरुले गैरकानुनी रुपमा गरिएको सरुवा पाल्पाली जनतालाई मान्य नभएको बताएका छन् । डा. बञ्जाडेले कपिलबस्तु जिल्लामा कार्यरत रहँदा अस्पतालको सुधारमा महत्वपूर्ण भूमिका खेलेका कारण लुम्बिनी प्रदेशमै अस्पताल प्रथम भएको थियो ।

पाल्पा अस्पतालमा ११ औ तहका चिकित्सकको दरवन्दी रहेको छ । अस्पतालमा कन्सल्टेन्ट चिकित्सक ११ जना, मेडिकल अधिकृत ६ जनाको दरवन्दी रहेपनि हाल कन्सल्टेन्ट २ जना र छात्रबृत्तिमा अध्ययनरत ३ जना मेडिकल अधिकृत कार्यरत रहेको अस्पताल विकास समितिका अध्यक्ष गुराश आत्रेयले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?