अर्थमन्त्री डा महतद्वारा गलेश्वर आश्रमको पहिरो निरीक्षण

रासस
Read Time = 2 mins

तनहुँ । अर्थमन्त्री डा प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रमको निरीक्षण गर्नुभएको छ । आज देवघाट आइपुग्नुभएका अर्थमन्त्री डा महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा अर्थमन्त्री महतले आश्रमका बारेमा जानकारी लिँदै पहिरो नियन्त्रणका लागि भइरहेको कामका बारेमा चासो राख्नुभएको थियो । निरीक्षणपश्चात् अर्थमन्त्री महतले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारकोतर्फबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गत वर्ष असोजमा वेणी नजिक रहेको गलेश्वर आश्रम नजिकै पहिरो खसेपछि आश्रम जोखिममा परेको थियो । पहिरो नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले बोलपत्र (टेन्डर) प्रक्रिया सुरु गरेको जनाएको छ ।

बोलपत्रका लागि कार्यालयका तर्फबाट शुक्रबार स्थलगत अवलोकन भएको देवघाट गाउँपालिका-५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा रू दुई करोड बराबरको टेन्डर आह्वान गर्ने तयारी भएको छ ।

“त्यति रकमले पुग्दैन भनेर हामीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छौँ”,कुँवरले भन्नुभयो, “उहाँका तर्फबाट सङ्घीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता आएको छ ।” उहाँका अनुसार २०७२ को भूकम्पपछि थिलोथिलो बनेको यो ठाउँमा गत वर्षको पहिरो खसेको थियो । सम्बन्धित निकायले बेलैमा चासो नदिँदा गलेश्वर आश्रम नै जोखिममा परेको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?