बालीको अविष्मरणीय यात्रा

हिमालय टाइम्स
Read Time = 25 mins

✍️ नारायणबहादुर गुरुङ

मेरो पत्नी ममता गुरुङ र म २०३६ साल फागुन १० गते तदानुसार २२ फेबु्रवरी १९८० मा विवाह बन्धनमा बाँधिएको हौं । प्रत्येक वर्ष यस दिन कहिले परिवारसँग कहिले हामी दुईजना मात्र मनाउने गर्छौं । जसरी मनाए पनि छोराछोरीले केही न केही उपहार दिने गर्छन् । सन् २००५ मा हाम्रो पच्चीसौं वर्षगाँठ संघाईमा भएका साथीभाइसँग नेपाली किचेनमा मनाएका थियौं ।

सन् २०१८ मा हाम्रो विवाह भएको अड्तीस वर्ष पुगेको अवसरमा छोरा अन्वेश र छोरी दिप्तीबाट सदाजस्तै उपहार पायौं तर विशेष उपहारले त हामीलाई कुरेर बसेको रहेछ हामीलाई थाहै थिएन । मे ११ ममताको जन्मदिन । त्यो दिन बिहान छोराले हामी दुईलाई कुर्सीमा बस्न भन्यो र तीनवटा सेतो खाम पालैसँग खोल्यो । पहिलो खाम छोरा र छोरीकोतर्फबाट हाम्रो ३८औं वर्षगाँठको उपहारस्वरूप इण्डोनेशियाको बाली आउनेजाने हवाई टिकट । केहीबेरपछि हामीलाई आश्चर्य पार्दै दोस्रो खाम खोल्यो । यसमा छोरा, बुहारी र दुइटी नातिनीहरू यशस्वी र यशना पनि हामीलाई साथ दिँदैसँगै आउनेजाने हवाई टिकटहरू रहेछन् ।

अझै आश्चर्य पार्दै आखिरी खाम खोल्यो । यसमा हामीलाई साथ दिन मेलवर्नबाट छोरी दिप्ती, ज्वाइँ आशिक र दुईटी नातिनीहरू ओजस्वी र सान्भी पनि सोझै बाली पुग्ने खबर रहेछ । संघाईमा सँगै बस्ने छोरा र मेलवर्न अष्ट्रेलिया बस्ने छोरीबाट यस्तो गहकिलो संयुक्त उपहार पाउँदा खुशी नलाग्ने कुरै भएन । बालीमा छोरा, बुहारी, छोरी, ज्वाइँ र चारजना नातिनीहरूसँगै आठ दिन बिताउने कुरा सुनेर हाम्रो खुशीको सीमा नै रहेन । भित्रभित्रै हामीलाई चालै नदिई बालीमा बस्ने घुम्ने ठाउँको बन्दोबस्त गरिसकेका रहेछन् । सुरुको चार रात कुनै गाउँको एकान्त ठाउँमा र बाँकी तीन रात शहरबीच पर्यटकीय स्थलमा भएको मेरिएट होटलमा मिलाएको सुनायो ।

बालीमा बस्दा प्रत्येक घरअगाडि बलियो सुरिलो र अग्लो बाँसमा पृथ्वीमा उम्रने फलफूल, अन्नपातले कलात्मक तरिकाले सजाइएको यस्ता लिंगा जताततै देख्यौं । त्यहाँको किम्बदन्ती अनुसार देवी दुर्गाले दुष्टतामाथि विजय प्राप्त गरेको सम्झनास्वरूप लिंगो पेन्जोर ठड्याइएको हो रे ।

२०१८ जुन १८ गते सबेरै बिहान २.१५ बजे संघाई फुतुङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बालीका लागि उड्यौं । मलेशियामा हाम्रो ट्रान्जिट थियो । सोही दिन बिहान करिब ८.३० बजे क्वाललमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रो विमान अवतरण ग¥यो । त्यहाँबाट बालीका लागि हाम्रो उडान १२.२५ मा भएकोले विमानस्थलभित्र घुमेर मलेशिया बारे जान्ने मौका मिल्यो । विमानस्थल चिटिक्कको रहेछ । दिउँसोको खाना त्यही खायौं र दोस्रो हवाईजहाज चढ्न अर्को टर्मिनलतिर लाग्यौँ ।

बालीको डेन्पसर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा दिनको ३.३० भएको थियो । विमानस्थाल निकै राम्रो र सुविधाजनक रहेछ । नेपालीहरूलाई विमानस्थलमै स्थलगत भिसा पाउने थाहा भएकोले भिसा लिएका थिएनौं । खासै भीडभाड पनि थिएन सजिलैसँग प्रवेश पायौं कुनै कठिनाइ भएन । सन् १९७७ मा ममता र म एक हप्ताका लागि सिंगापुर घुम्न गएको बेला इण्डोनेशिया जाने विचार गरेका थियौं । त्यति बेला नेपालीहरूले भिसा लिनुपर्ने र लामो समय लाग्ने भनेको भएर जान सकेको थिएन । बाहिर गएर हाम्रो गन्तव्यस्थल जानका लागि ट्याक्सीको बन्दोबस्त भयो ।

चार दिनका लागि मायाना बिचहाउस, जलन पान्ताई पेतनगेहन बन्जर सुरब्रतामा छोराछोरीले बुक गरिसकेका रहेछन् । हामी ६ जनै र हाम्रा सामानहरू अटाउने ठूलो गाडी लिएर त्यसतर्फ लाग्यौं । यो स्थान बालीको अन्तर्राष्ट्रिय विमानस्थलबाट ६२ किलोमिटर दक्षिणपूर्वमा रहेछ । सुरुमा बाटोघाटो ठूलो फराकिलो थियो दुवैतिर फूल फुलेका रूखहरू, सडकको चोकहरूमा हिन्दू देवीदेवताहरूका ठूलठूला मुर्तीहरू हेर्दै अघि बड्यौं । बिस्तारै शहर छोडेर अघि बड्यौ बाटाहरू साँघुरा हुँदै गए । बाटाको दुवै छेउमा बाक्लै घर भए पनि पुटपाथ भने रहेनछ । बाटोघाटो सफासुघर र घर राम्रै देखिन्थे । घरको बाहिर गाडिएको अग्लो सुरिलो बाँस र नुहेको टुप्पामा कलापूर्ण तरिकाले सजाएको सुन्दर लिंगो घरैपिच्छे देखिन्थ्यो । यसलाई पेन्जोर भनिँदो रहेछ ।

बालीमा बस्दा प्रत्येक घरअगाडि बलियो सुरिलो र अग्लो बाँसमा पृथ्वीमा उम्रने फलफूल, अन्नपातले कलात्मक तरिकाले सजाइएको यस्ता लिंगा जताततै देख्यौं । त्यहाँको किम्बदन्ती अनुसार देवी दुर्गाले दुष्टतामाथि विजय प्राप्त गरेको सम्झनास्वरूप लिंगो पेन्जोर ठड्याइएको हो रे । जुन-जुन घरमा पेन्जोर ठडिएको छ त्यहाँ भगवान र पुर्खाहरू आएर आशिर्वाद दिने र रक्षा गर्ने गर्छन रे । पेन्जोर प्रत्येक २१० दिनमा पर्ने गलुनन पर्वको दिनमा ठड्याइने रहेछ ।

जतिअघि बढ्दै गयो बाटो टुपुक्क दुई लेनको घुमाउरो उकालो ओरालो हुँदै गयो । बस्ती पनि पातलिँदै गयो । सडक किनारको बत्ती पनि कम हुँदै गयो । झमक्कै साँझ भयो कता लग्दै छ अत्तोपत्तो छैन । अपरिचित ठाउँ आनीबानी थाहा नभएको अपरिचित मान्छेले चलाएको गाडी मनमा डर लाग्न थालेको छ प्रकट गरेँ भने झन् सबै डराउलान भनेर चुप लाग्नुबाहेक कुनै उपाय थिएन । उता छोरीज्वाइँ, नातिनीहरू कहाँ आइपुगे होलान् आत्तोपत्तो थिएन । यस्तो रातको बेला एकान्तमा केही होला कि भन्ने डरले सताउन छोडेको थिएन ।

पछि कच्ची सडकमा वरिपरि रूखैरूख भएको जंगलभित्र लग्दा अत्यासै लागेको थियो तर त्यो स्थिति लामो भएन करिब १५ मिनटपछि नरिवलको रूखको घारीभित्र एउटा घर देखियो । यही नै हाम्रो आजदेखिको चार दिनको बासस्थान रहेछ । सामान उतारेर भित्र पस्दा घरभित्र कोही थिएनन् । फराकिलो र उज्यालो लवीमा पुगेपछि बल्ल ढुक्क भइयो ।

लवी निकै ठूलो थियो । यहाँ खाना पकाउने भान्छा घर, भाँडाकुँडा, खानेपानी, खानपानका लागि टेबलकुर्सी, सोफा, टिभी र लुगा धुने मेसिन सबै बन्दोबस्त रहेछ । पूरै वाताननुकुलित । रातको पनि आठ नाघिसकेको थियो । भोक लाग्न थालेको थियो । छोराले खबर गरेअनुसार एकजना महिला भान्छे सरसामान लिएर आइन् र खान पकाउन थालिन् । हामी पुगेको एक घण्टापछि छोरीज्वाइँ र दुइटी नातिनीहरू पनि आइपुगे । छोरा–छोरी दुवैतर्फका नातिनीहरूको पनि पहिलो भेट थियो । उनीहरूको दौडधुप र हाँसोले दिनभरिको थकाइलाई मेटाइदियो । त्यस घरमा तीनवटा ठूलठूला आरामदायक पाहुना कोठा रहेछन् । खाना पाक्दै गर्दा आआफ्नो कोठातिर.... अनि नुहाइधुवाइ गर्न लाग्यौँ । भान्छेले स्थानीय स्वादको खाना पकाएको रहेछ । खाना खाएर निकै बेर गफसफ रमाइलो गरेर बसियो ।

बिहान उठ्दा चारैतिर झलमल्ल भइसकेको थियो । घरअगाडि हरियो दुबोको आँगन चिट्टिक्क थियो । केही नरिवलका रूख, दुईटा नरिवलको रुखमा हेमोक । गार्डेन चेयरहरू, बार्बक्यु गर्ने सरजामहरू, अनि चिटिक्कको स्वीमिङ पुल । स्वीमिङ पुलको तलतिर आँखाले भ्याएसम्म लटरम्म धान झुलेका खेत । खेत हाम्रो पहाडतिर जस्तै कान्लैकान्ला भएर तलसम्म गएको र केही तलदेखि फेरि त्यस्तै भिरालो बन्दै उठेको । अलि पर नरिवलका रूखहरूको झाडी अनि त्यसपछि छालहरू आइरहेको गैरहेको समुद्र । अत्यन्तै मनमोहक मनै लठ्याउने प्राकृतिक वातावरण । बिहानको नास्ता गरेर सबै पौडी खेल्न थाल्यौं । एकान्त भएर पनि एकान्तको आभास भएन । सबै जना रमायौं ।

वरिपरि टाढा टाढासम्म बस्ती थिएन । खुबै आनन्द लाग्यो । आली आली हुँदै समुद्र पुग्थ्यौं करिब सात आठ मिनट हिँडेर । समुद्रको छाल हेरेर रमाइलो लाग्थ्यो । घण्टौंसम्म समुद्रको किनारै किनार पदयात्रा गरेर बित्थ्यो । साह्रै एकान्त र त्यो समुद्रको अवस्था थाहा नभएकाले पौडीखेल्न भने साहस गरिएन । एकदिन अलि परैको सजिलो बाटोबाट पूरै परिवार समुद्र हेर्न गयौं, समुद्रको आनन्द पनि लियौं ।

घरैमा मालिस गर्ने मानिसहरू आएर मालिस गरिदिन्थे । सफा गर्न र लुगा धोइदिने मान्छे दिनदिनै आउँथ्यो । एकान्त खेतको बीचमा पाँचतारे होटलमा भएको सुविधाहरू थियो । चारैतिर शान्त । न मोटरको आवाज न मानिसहरूको होहल्ला । खायो, पौडी खेल्यो, पद यात्रा ग¥यो, विश्रम ग¥यो चारदिन पत्तै नपाई बित्यो । छोरा, छोरी र ज्वाइँ अरू समयमा काममा निकै व्यस्त भएको भएर होला उनीहरूले केही समय एउटा शान्त ठाउँमा बिताउने योजना अनुसार त्यो एकान्त ठाउँ रोजेका रहेछन् ।

पाँचौं दिन जुन २२ मा हामी यो ठाउँबाट सरेर बालीको दक्षिण पश्चिममा पर्ने पर्यटकीय स्थल नुसादुअस्थित म्यारियट बाली होटलतिर लाग्यौं । जाँदा बालीको एउटा प्रसिद्ध मन्दिर तनह लट घुमेर जाने निधो गरेनुसार त्यता लाग्यौं । हामी गइरहँदा स्थानीय भेषभूषामा सजिएका महिलापुरुषहरूको जमातले बाजागाजासहित कुनै धार्मिक जात्रा निकालिरहेको भेटिएका थियो । लामो रथ जस्तो बोकेको जमात हामीतर्फै आइरहेका थिए । बाटाको दुवैतिरका घरहरूमा पेन्जोर बाँसका लिंगाहरू देखिन्थे । घरघरका आँगनका छेउमा ढुंगाले बनाएको सुन्दर स्तम्भमाथि खाली कुर्सी राखिएको थियो ।

त्यो कुर्सी अथवा गद्दीलाई पद्मासना भनिँदो रहेछ । यहाँ बालीका हिन्दुहरूले मान्ने सर्वोच्च देवतालाई पूजाअर्चना गरी आहृवान गर्दा ती देवता आएर बस्ने पवित्र गद्दी (थ्रोन) रहेछ । पूजा सकिएपछि ती देवतालाई बिदाइ गरिँदो रहेछ र त्यो गद्दी खाली हुने रहेछ । यस्ता पद्मासनमा उनीहरूले सफासुग्घर स्थानीय पहिरनमा पामको पातबाट बनेको सुन्दर ढकियामा फलपूmल चढाएर निकै निष्ठासाथ पूजा गरेको देखियो ।
तनह लट मन्दिर ः बालीमा मन्दिरलाई पुर पनि भनिदो रहेछ । हामीले छाड्न थालेको ठाउँबाट ४३ किलोमिटर पर भएको यो मन्दिर बालीको एउटा अति पवित्र तथा प्रसिद्ध स्थल हो । दक्षिण बालीको समुद्रतटमा रहेको यो मन्दिरलाई समुद्रको छालले काटेर मूल जमिनबाट अल्गाइदिएकोले सजिलैसँग जान सम्भव छैन र विदेशीहरूलाई प्रवेश निषेध छ । यो मन्दिर भगवान बरूणको नाममा १६औं शताब्दीतिर दाङ्ग हृयङ्ग निरर्थ नामक प्रसिद्ध हिन्दु सिद्ध पुरुषले निर्माण गरेका रहेछन् । त्यो मन्दिर भएको चट्टानमुनि समुद्री सर्पहरू बस्ने गर्छन् रे ।

यहाँको चट्टानमा भएको पानीको मूलको पानी अति पवित्र मानिने हुँदा जुनसुकै मन्दिरमा पूजा आजा हुँदा यहाँको जल प्रयोग गरिन्छ ।
बालीका मन्दिरहरू नेपाल भारतका हिन्दु मन्दिरभन्दा नितान्त फरक छन् । तिनीहरू ब्रहृमा, विष्णु, शिव र कालीको नाममा समर्पित भए पनि मूर्ति राख्ने चलन रहेनछ । यस्को वरिपरिबाट समुद्रको छालले हिर्काइरहेको दृश्य र सूर्यास्त हेर्न पनि प्रसिद्ध छ । पर्यटकहरू टन्न जाने रहेछन् । नजिकै भएका पसलहरूमा काठले बनाइएका हिन्दु देवताहरू, बुद्ध, हात्ती, घोडा आदिको लोभलाग्दो सुन्दर आकर्षक मूर्ति पाइन्छ ।

तनह लट मन्दिर घुमेपछि त्यहाँबाट ३५ किलोमिटर दक्षिणपूर्वमा पर्ने म्यारियट बाली होटल पुग्दा दिनको तीन बजे नाघिसकेको थियो । त्यहाँ गएर खाना खाइसकेपछि पौडी खेल्न गयौं । यो होटलको सस्वमिङ पुल प्राकृतिक तालको आकारमा निकै ठूलो र सुन्दर छ । सानाठूला सबै निर्धक्क पौडी खेल्न सक्ने । साँझ होटलको बाहिरतिर डुल्न गयौँ । लामो सडकमा खाने ठाउँहरू, कपडा लत्ता, सोभेनियर किन्ने पसल टन्नै रहेछन् । यसो हेर्दा हाम्रो ठमेल जस्तो । साँझको खाना यतैतिर खायौं । यस होटलको बिहानको खाजा अति मीठो छ । किसिम किसिमका खाने कुराहरू छानीछानी खाना पाइन्छ । भोलिपल्ट बिहान खाजा-खाना खान जाँदा करिब करिब टन्नै भरिएको थियो । हामीले झ्याल्को छेउमा एउटा ठाउँ पायौं । त्यहाँ बसुन्जेल हाम्रो खाना खाने ठाउँ त्यहीँ भयो ।

हामी बसेको म्यारियट होटल बालीको नुसा दुवमा छ । यो इलाका धनिमानीहरू, सेलिब्रेटीहरू बस्ने र आलिशान होटलहरू, रिसोर्ट भएको ठाउँ हो । यहाँबाट समुद्रतट टाढा छैन । प्रसिद्ध नुसादुवबीच २० मिनटको पैदलयात्रामा पुगिन्छ । सबै ठूल्ठूला होटलहरूले यहाँ आफ्ना पाहुनाहरूका लागि ठाउँ रिजर्भ गरेर राखेका छन् । होटलदेखि आउने जाने निःशुल्क सटल बसको व्यवस्था छ । खाजा खाएपछि सुमुद्रमा पौडी पनि खेल्ने र बीचको आनन्द लिने हिसाबले हामी त्यता लाग्यौं होटलको सटल बसमा । ठूलो आरमदायक बगैंचाबीच आरम गर्ने, खानपिनको बन्दोबस्त रहेछ ।

बाली प्राकृतिक रूपले सुन्दर छ । त्यसमा पनि त्यहाँको सम्पदाहरू, पर्यटकका लागि राम्रो बन्दोबस्त, पर्यटकीय स्थलहरूको राम्रो व्यवस्थापनले विश्वभरिकै पर्यटकहरूको गन्तव्यस्थल बनेको छ छुट्टी मनाउन र आराम गर्न । 

केही दूरी हिँडेपछि समुद्रमा पुगिने । म पहाडमा जन्मे पनि मधेस घरमा हुँदा घरनजिकै ३६ र १६ को कुलो र बुटवलको तिनाउ नदीमा बाढी आउँदासमेत पौडी खेलेको हुनाले समुद्रमा पनि मौका मिल्दा खेल्न मन लाग्छ । कुलो भने पनि ती बागमती, विष्णुमतीभन्दा ठूलै छन् । त्यसैले पानी र खोला नालाबाट हत्तपत्त डराउँदिन । सुरुमा समुद्रमा पौडी खेल्न डर लाग्थ्यो पछि त समुद्रमा पौडी खेल्नु भनेको मनको डर भगाउनु अनि आफूले आफैंलाई चुनौती दिएको रूपमा लिन थालेँ । चीन, उत्तर कोरिया र मेलवर्नका समुद्रमा पौडी खेलेको अनुभव थियो मेरो ।

यहाँको बालुवाको बगर कटेपछि समुद्र आउँछ । पानी एकदम निर्मल छ । धेरै पर करिब आधा किलोमिटरसम्म पानी गहिरो छैन । पानीको छाल पनि शान्त र नरम बालुवा भएकाले ससाना नानीहरू पनि ढुक्कसँग खेल्न सक्छन् । नातिनीहरूसँग रमाइलो भयो । उनीहरूसँग रमाइलो गरेपछि अलि परै गहिरो भएको ठाउँमा गएर पौडी खेल्ने धोको मेटेँ । नुसादुव विच सर्फिङका लागि पनि प्रसिद्ध छ । फर्कंदा हिँडेरै आसपासको पसलहरू घुम्दै फक्र्यौं । बाटो फराकिलो र सुन्दर छ । बाटाको दुवैतिर ठूलठूला रुखहरू र फ्रङ्गिपानीका विभिन्न रंगका मनमोहक फूलहरूलाई हेर्दै पैदलै होटल फर्कंदा थकाई नै लागे पनि आनन्द लागेको थियो ।

सडकमा यातायत पनि त्यति नहुने शान्त। बालीबासीहरू फ्रङ्गिानीको फूललाई निकै पवित्र मान्दारहेछन् । भगवानलाई चढाउनमा पनि यही फूल रोजाइमा पर्दोरहेछ । सडक छेउ, बगैंचा, घर आँगन, मन्दिर, होटल जताततै यो फूल लगाइँदो रहेछ । बाली आएको सतौं दिन जुन २४ गते छोराको जन्मदिन । बिहान खाजा–खाना गएको बेला होटलको तर्फबाट एउटा केक र भ्वाइलिन वादकसहित होटलका कर्मचारीहरू आएर जन्मदिन मनाइदिए । निकै रमाइलो भयो । त्यसपछि बालीको अर्को प्रसिध्द मन्दिर हेर्न गयौं । उलनवाटु मन्दिर : यो मन्दिरलाई पुर लुहुर पनि भनिन्छ । बालीको दक्षिणपश्चिम टुप्पोमा हिन्दमहासागरको ठाडोभिरमाथि अवस्थित यो मन्दिर बालीको प्रसिद्ध आध्यत्मिक, सांस्कृतिक धरोहर हो । हिन्द महासागरबाट ७० मिटर उचाइमा रहेको यो मन्दिर ११औं शताब्दीमा समुद्री जलदेवतालाई समर्पित गरेर निर्माण गरिएको हो ।

बालीको दैवी सुरक्षार्थ प्रत्येक दिशामा बनाइएका मन्दिरमध्ये यो मन्दिर पर्दछ । पवित्रस्थल भएकाले जस्तो पायो उस्तै, शरीरको अंग देखिने लुगा लाएरभित्र पस्न निषेध छ । स्थानीय लुगा सारोङ कम्मरमा बेरेपछिमात्र भित्र छिर्न पाइन्छ । आफैंले नल्याएको भए गेटबाट सापटी लिन पाइन्छ । भित्र स्वयंभूमा जस्तै बाँदरहरू छन् । पशुपतिमा झैं यात्रीहरूको सामन लुटनमा माहिर छन् । त्यसैले तिनीहरूबाट सावधान हुन, नजिस्काउन र खाने कुरा नदिन भनिन्छ ।

भित्र मन्दिरको मुख्य भागमा पस्न नपाए पनि मन्दिर क्षेत्रको अन्य भाग ठूलो फराकिलो छ । डाँडामाथिबाट समुद्रको छालले हानेको दृश्य पर परसम्म देख्न सकिन्छ । सूर्यास्त पनि त्यतिकै राम्रो देखिन्छ । निकै भिड हुने हुनाले कि त बिहानै सात बजेतिर जाने कि त दिउँसो एक बजे जान बेस हुनेरहेछ यहाँ । बाली घुम्न जानेहरूले छुटाउनै नहुने एउटा धरोहर । आजको यो घुमाई हाम्रो अन्तिम हो । भोलि जुन २५ मा हामी आआफ्नो घर फर्कने छौं ।

बाली प्राकृतिक रूपले सुन्दर छ । त्यसमा पनि त्यहाँको सम्पदाहरू, पर्यटकहरूका लागि राम्रो बन्दोबस्त, पर्यटकीयस्थलहरूको राम्रो व्यवस्थापनले विश्वभरिकै पर्यटकहरूको गन्तव्यस्थल बनेको छ छुट्टी मनाउन र आराम गर्न । हाम्रो देश पनि प्रकृतिको अनुपम सुन्दरता, आफ्नै विशिष्ट सांस्कृतिक सम्पदाहरू भएको र पर्यटन नै प्रमुख उद्योग भएको हुनाले धेरै पर्यटकलाई आकर्षण गर्न बालीबाट सिक्नुपर्छ । बालीबाट फर्केको तेस्रो दिन जुन २८ मा बालीको अगुङ पर्वतमा ज्वालामुखी विष्फोट भयो । सबै हवाई उडानहरू बन्द भएकाले त्यहाँ रहेका पर्यटकको विचल्ली भएको थियो । हामी भाग्यमानी रहेछौं, बच्यौं । यो यात्राले हाम्रा जीवनका तीन महत्वपूर्ण दिनहरू हाम्रो विवाह वर्षगाँठ, ममता र छोराको जन्मदिनहरूलाई एकैपटक समेट्न सफल भयो । त्यसैले अविष्मरणीय भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?