काठमाडौं । दशैँमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ सुरु भएको छ । सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको हो । सोमबार बिहानैबाट नयाँ बसपार्क, कलकी, कोटेश्वर, चाबहिल क्षेत्रमा टिकट बुकिङ गर्ने यात्रुको भिड लागेको थियो । सरकारले बडादशैँ, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि पुरानै भाडामा अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका नागरिकलाई चाडपर्व मनाउन घर जान सहज होस् भनेर अग्रिम टिकट बुकिङ खुला गरिएको विभागले जनाएको छ ।
अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन यात्रुहरूको भिड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरूका तुलनामा यस वर्ष यात्रुको भिडभाडसमेत बढेको छ ।
अग्रिम टिकट बुकिङ काउण्टरमा पश्चिमको दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुर लगायतका ठाउँमा जाने यात्रुको भिडभाड लागेको थियो । विगतका वर्षमा दशैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो । सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुला गर्ने विषयमा थप गृहकार्य भइरहेको विभागले जनाएको छ । सरकारले दशैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ ।
काठमाडौंदेखि देशको पश्चिम क्षेत्रभन्दा पूर्व क्षेत्रमा जाने यात्रुले तुलनात्मक रूपमा सहजै टिकट पाएका छन् । पूर्व क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनलाई पूर्व यातायात व्यवस्थापन प्रालिमार्फत टिकट लिने व्यवस्था मिलाइएको छ । यात्रुहरूले भने अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् । कतिपयले रातभर लाइन बस्दासमेत टिकट नपाएको गुनासोसमेत गरेका छन् ।
यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ । लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले दशैँैँमा घर जाने यात्रुलाई व्यवस्थित रूपमा टिकट प्रदान गर्न टिकट काउण्टर थप गरिएको बताउनुभयो । ‘अहिले २४ टिकट बुकिङ काउण्टर थप गरेका छौँ, आवश्यक परेको खण्डमा काउण्टर बढाउन सकिन्छ,’ उहाँले भन्नुभयो । काठमाडौं महानगरपालिका-२६ गोंगबुस्थित विष्णुमती खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६८ भन्दा बढी जिल्लामा दैनिक एक हजार हाराहारीमा सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् ।
१४ स्थानमा नागरिक सहायता कक्ष स्थापना, ड्रोनबाट समेत निगरानी गरिने
दशैँमा घर जाने यात्रुका लागि उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । काठमाडौंका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्र्रमुख भूपेन्द्रबहादुर खत्रीले बताउनुभयो । विभिन्न प्रविधिको सहायतामा आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको उहाँले बताउनुभयो । यसपटक सुरक्षाका लागि भिडभाड हुने स्थानमा ड्रोनबाट समेत निगरानी गरिने उहाँको भनाइ छ । ‘यात्रुहरूको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । काठमाडौंका लागि मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन सुरक्षा प्रदान गर्न र थप जनशक्तिसहित विभिन्न टेक्नोलोजी तयार गरेका छौँ । सिसिटिभी र ड्रोनलगायत काठमाडौं उपत्यकामा प्रयोग गर्ने क्रममा छाँै । ड्रोनबाट भिडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौँ ।’
बस नपाएर कोही यात्रु रोकिनु पर्दैन : सिटौला
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरूलाई गन्तव्य स्थलसम्म लैजान असहज रहको बताउनुभएको छ । सरकारले सडक स्तरोन्नति गर्नुपर्ने उहाँले बताउनुभयो । सडक नबनाए समयमा सवारीसाधन नआइपुग्ने र अग्रिम टिकट बुकिङ खुलाएको औचित्य नहुने उहाँको भनाइ छ । ‘यात्रुहरूले आफू जानुपर्ने स्थानको टिकट काट्न सुरु भइसकेको छ । बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरू गन्तव्य स्थल लैजान असहज छ । समयमा सवारीसाधन आइपुग्दैन,’ उहाँले भन्नुभयो, ‘अग्रिम टिकट दिएको अर्थ हुँदैन । सरकारले सडक स्तरोन्नति गर्नैपर्छ । अग्रिम टिकट दिनु भनेर मात्रै हुँदैन । सडक राम्रो भए उहाँहरूलाई व्यवस्थित ढंगबाट गन्तव्यमा लैजान्छौँ ।’
चाडबाडको बेलामा यात्रुलाई ठग्न सक्ने भन्दै परिचय पत्र र पोसाक लगाएका आधिकारिक ठाउँमा गएर मात्रै टिकट काट्न उहाँले आग्रह गर्नुभयो ।
सिटौलाले यसपालिको दशैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुभयो । ‘राजमार्ग बिग्रिएको कारण काठमाडौं आउन जान सार्वजनिक सवारी साधनलाई केही समय लाग्ला तर, बस नपाएर कोही यात्रु रोकिनु पर्दैन,’ उहाँले भन्नुभयो ।
देशभरका ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा, उपत्यकामा निःशुल्क होम डेलिभरी
सरकारले देशभरका ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैँ, तिहार, छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै सरकारले सहुलियत पसल सञ्चालनमा ल्याएको हो । आइतबारदेखि सुरु गरिएको सहुलियत पसल ४३ दिनसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानको सहभागिता रहने सहुलियत पसलमा खाद्यान्न, खाना पकाउने ग्यास, जिउँदो खसी–च्यांग्र्रा, गेडागुडी र दलहन, दुग्धजन्य पदार्थ पाइने कम्पनीले जनाएको छ । सबै प्रकारका सहुलियत पसलमा प्रतिकिलो कम्तीमा दुई रुपैयाँदेखि अधिकतम् ५० रुपैयाँसम्म छुट पाइनेछ । वाणिज्य मन्त्रालयका अनुसार खाद्य, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानको गरेर उपत्यकासहित देशभरका ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा आएका छन् । काठमाडौं उपत्यकामा भने घुम्ती बिक्री केन्द्रसहित निःशुल्क होम डेलिभरीको व्यवस्था छ । सहुलियत पसलमा कम्तीमा प्रतिकिलो दुई रुपैयाँदेखि बढीमा ५० रुपैयाँसम्म छुट पाइनेछ । सबै किसिमको चामल, दालहरू, गहुँ, आँटा, पीठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरामा प्रतिकिलो तथा प्रतिलिटर सात रुपैयाँ छुट पाइनेछ । कर्णालीको सिमी र गेडागुडीहरू, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । कम्पनीले आयात गर्ने जिउँदो खसी र बोका तथा च्यांग्र्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ । अहिले यसको खरिद प्रक्रिया जारी छ । घटास्थाना पछि मात्रै खसी बोका र च्याङ्ग्रा उपलब्ध हुनेछ ।
यस्तै, नुनमा प्रतिकिलो दुई रुपैयाँ, खाने तेलमा प्रतिलिटर सात रुपैयाँ र चिउरामा प्रतिकिलो सात रुपैयाँ नै छुट पाइनेछ । साल्टले अहिले ९७ रुपैयाँ किलोमा चिनी बिक्री गरिरहेको र यसलाई सहुलियत पसलमा पनि निरन्तरता दिइएको छ । तर, चिनी काठमाडौंको थापाथली बिक्री केन्द्रमा मात्रै उपलब्ध छ ।
यो चिनी प्रतिपरिवार दुई किलोका दरले बिक्री गरिने छ । यता, दुग्ध विकास संस्थानले बिक्री गर्ने घ्यूमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा प्रति २०० ग्राममा २० रुपैयाँ र पनिर ५०० ग्रामको खरिदमा ५० रुपैयाँसम्म छुट पाइने मन्त्रालयले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपत्यकाभित्र काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्य विनायक गरी चार स्थानमा सहुलियत पसल सञ्चालनमा आएका छन् । दुग्ध विकास संस्थान डिडिसीले भने लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौँडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया, धनगढी, बुटवल गरी जम्मा ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराएको छ ।
उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै सरकारी सहुलियतका खाद्यान्न काठमाडौं उपत्यकाभित्र भने निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाअनुसार कम्पनीको अनलाइन वेब सेवा नेपाल फुड डट जिओभी डट एनपीमा गएर अनलाइनमा खाद्यान्न अर्डर गर्न सकिन्छ । एक पटकको अर्डरमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म प्रतिपरिवार अर्डर गरेर अनलाइनबाटै खाद्यान्न खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
बजारको नियमित अनुगमन गर्न र गैरकानुनी कार्य गर्नेलाई तत्काल कारबाही गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले गैरकानुनी तरिकाले खुला सीमामार्फत भित्रिने चिनीलगायत सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले सबै वस्तुको मूल्यसूची पसलमा अनिवार्य रूपमा टाँस गर्ने व्यवस्था मिलाउन, उपभोक्तालाई अनिवार्य रूपमा बिल विजक दिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै, समितिले वस्तु तथा सेवाको गुणस्तर र बजारमूल्यको नियमित अनुगमन गर्न गराउन, गैरकानुनी कार्य गर्नेलाई तत्काल कानुनबमोजिम कारबाही गर्न, विभिन्न वस्तु आयात गर्दा हुने गरेको गैरकानुनी पुँजी पलायनलाई तत्काल नियन्त्रण गर्न, आयात गर्दा गरिने न्यून विजकीकरणको अनुगमन गरी नियन्त्रण गर्न गराउन समितिको निर्देशन दिएको समितिसभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कालोबजारी र सिण्डिकेट तथा उच्च मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय तहमा अनिवार्य कम्तीमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्नेगरी आवश्यक समन्वय गर्नसमेत निर्देशन दिएको छ ।
ग्यास उद्योगहरूले होटललगायत औद्योगिक प्रयोजनको लागि ५० किलो र ४५० किलोका सिलिण्डरहरू बिक्री वितरण गरेको विषयमा के कस्तो भएको हो ? स्पष्ट पार्न पत्राचार गरेकोमा हालसम्म जानकारी नगराएकोले ३ दिनभित्र काम कारबाहीका कागजातसहितको विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच