काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र)लाई दिन सत्ता गठबन्धन दलका शीर्ष नेताबीच सहमति भएको खबर बाहिरिएको छ । नेपाली कांग्रेसमा मुख्यमन्त्री बन्न आन्तरिक रस्साकस्सी बढेपछि माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन गठबन्धनका शीर्ष नेताबीच सहमति बनेको हो । यसअघि कांग्रेससहित नेकपा (एकीकृत समाजवादी)ले समेत मुख्यमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेस र एकीकृत समाजवादी ब्याक भएपछि आङ्बोलाई मुख्यमन्त्री बनाउन शीर्ष नेताहरू सहमत भएका हुन् । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरूको संख्या बढेको थियो । कांग्रेसमा संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकांक्षी हुनुहुन्थ्यो । यसअघि दुई-दुईपटक असफल मुख्यमन्त्री बनेर सत्ता टिकाउन नसक्नुभएका उद्धव थापालाई कुनै पनि हालतमा पुनः मुख्यमन्त्री बनाउन नहुने अडानमा कांग्रेसकै संस्थापनइतर समूह छ । कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै कांग्रेसकै डा. शेखर कोइराला पक्षले दबाब बढाएको थियो ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम असोज २६ गते अपराहृन ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आहृवान गर्नुभएको छ । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने प्रदेशसभाका कुनै सदस्यलाई तोकिएको समयभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले आहृवान गर्नुभएको हो । जसमा मुख्यमन्त्री दाबी गर्न कुनै संसदीय दलको नेता चाहिँदैन । प्रदेशसभाका जोसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गर्नुभएको थियो । लिङ्देनले कांग्रेसलाई समर्थन नगर्ने सन्देश कांग्रेस सभापति शेरबहादुर देउवालाई सुनाएपछि मुख्यमन्त्री माओवादीलाई दिने सहमति बनेको हो । कोशीमा राप्रपाले माओवादीलाई समर्थन गर्ने संकेत गरेको छ । तर, आङ्बोलाई मुख्यमन्त्री बनाउने विषयमा कोइराला पक्षले भने असन्तुष्टि जनाएको छ ।
गठबन्धनसँग मुख्यमन्त्री दाबी गर्न आवश्यक संख्या ४७ सांसद भएकाले आङ्बो कोशीको मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ । तर, विश्वासको मत लिन भने फेरि सकस हुने देखिन्छ । कोशी प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य छन् ।
विश्वासको मत लिँदा उपसभामुख अनुपस्थित हुँदा गठबन्धनलाई पुनः एकसिट अपुग हुन्छ । यसअघि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा एमालेले उपसभामुखलाई बिरामी बिदामा बसाएको थियो । तर, राप्रपाले साथ दिएको अवस्थामा भने सहजै विश्वासको मत प्राप्त हुनेछ ।
प्रदेशसभा निर्वाचन भएको एक वर्ष नबित्दै कोशी प्रदेशमा चार सरकार बनेर ढलिसकेका छन् । निर्वाचन सम्पन्न भएलगत्तै कोशीमा नेकपा एमाले नेतृत्वको सरकार बनेको थियो । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि गत असार १५ मा कार्की नेतृत्वको एमाले सरकार ढल्यो । त्यसपछि नयाँ गठबन्धनअनुसार नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री हुनुभएको थियो । तर, सर्वोच्च अदालतले उहाँको नियुक्ति नै असंवैधानिक ठहर गरिदिएपछि सरकार ढल्यो । उहाँ तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित मुख्यमन्त्री हुनुभएको थियो । पहिलो पटकको नियुक्ति असंवैधानिक ठहर गरे पनि सभामुखलाई राजीनामा दिन लगाएर उहाँ पुनः दोस्रोपटक मुख्यमन्त्री हुनुभयो । तर, फेरि सर्वोच्चकै आदेशमा उहाँ फालिनुभयो । प्रदेशसभाको अध्यक्षता गरिरहनु भएका इस्राइल मन्सुरीले दिएको विश्वासको मत अदालतले अवैधानिक ठहर गरिदिएपछि उहाँ दोस्रोपटक पदमुक्त हुनुभएको थियो । सर्वोच्चको परमादेशले थापाको सरकार ढलेसँगै कोशीमा हिक्मत कार्की चौथो मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । तर, उहाँको सरकार पनि टिक्न सकेन । पछि विश्वासको मत लिन नसकेपछि उहाँ पदमुक्त हुनुभयो । विश्वासको मत नपाउने निश्चित भएपछि उहाँले गत शनिबार पदबाट राजीनामा दिनुभएको थियो ।
प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन । दुई वा दुईभन्दा बढी दलको सहयोगमा यसअघि सरकार गठन हुँदै आएका थिए । उपधारा ५ बमोजिम पनि सरकार बन्ने र बहुमत पुग्ने स्थिति नबनेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गर्नसक्ने संविधानको धारा १६८ को उपधारा ७ मा व्यवस्था छ ।
कोशी सरकारबारे निर्णय लिन राप्रपा पदाधिकारी बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नयाँ सरकार गठनबारे पार्टीको रणनीति तय गर्न पदाधिकारी बैठक बोलाउनुभएको छ । राप्रपा पदाधिकारी बैठक शुक्रबार बिहान ८ बजे बस्नेछ । पदाधिकारी बैठकले कोशी सरकार गठनमा पार्टीको रणनीतिबारे निर्णय लिने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिले गठबन्धन र एमाले दुवैतिर छलफलमै रहेको उहाँले बताउनुभयो ।
कोशीमा नयाँ सरकार गठनका लागि राप्रपा निर्णायक शक्ति बनेको छ । गठबन्धनसँग एकमत अपुग रहेको अवस्थामा राप्रपाको समर्थन अनिवार्य हुन्छ । तर, राप्रपाले भने अहिलेसम्म आफ्नो अडान स्पष्ट गरिसकेको छैन । केही दिनअघि बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले कोशी सरकारबारे निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई सुम्पिएको थियो । लिङ्देनले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर छलफल गर्नुभएको थियो । उक्त छलफलमा प्रचण्डले सत्ता गठबन्धनलाई सघाउन आग्रह गरे तापनि लिङ्देनले ठोस जवाफ दिनुभएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच