
काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाएर तस्करी गरी ल्याएको सुन प्रकरणमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल भनिने रेशम महरासहित चार जनाविरुद्ध संगठित अपराध तथा भन्सार चोरी पैठारी अपराधको कसुरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गरेको छ । महरासहित लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध बुधबार मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालयका प्रमुख अच्युत मणि नेउपानेले जानकारी दिनुभयो । उनीहरूविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३७४ बिगो माग दाबी गरिएको छ । मुद्दा दर्ता भएकामध्ये निमा गुरुङ फरार छन् । राहुल महरा लगायतका व्यक्तिहरूलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा तीनदेखि पाँच वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे सात वर्षको कैद सजायको मागदाबी गरेको छ ।
भेपमार्फत भएको नौ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा राहुल महरालाई गत भदौ १३ गते पक्राउ गरिएको थियो । भेपमा लुकाएर ल्याएको करिब नौ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरी रायसहितको प्रतिवेदन गतसाता सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सिआइबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ । दुबईबाट २०७९ पुस १० गते चिनियाँ तस्करले भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । शंकास्पद रूपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर सामान गोदाममा सिल गरेर राखिएको थियो । तर, त्यही सिल गरेकै अवस्थामा भेप चोरी भएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो । भन्सारले भेप नियन्त्रणमा लिएपछि पूर्वसभामुख महरा र उनका छोरा राहुलले पटकपटक भन्सारका कर्मचारीलाई फोन गरी छुटाउन दबाब दिएका थिए । सिआइबीले गरेको सोधपुछमा समेत महराले त्यो कुरा स्विकारेका थिए । तर, मुद्दा दायरमा भने उनलाई उन्मुक्ति दिएर छोरा राहुल र अरू तीन जनालाई प्रतिवादी बनाएको छ । सुन ल्याउनेमध्येका दावाजिन वाङसहित ६ चिनियाँ तस्कर फरार छन् । चिनियाँ गिरोहका दावाजिन वाङ, आसिन पेङ, ली फेङ पेङ, झाङजिन च्वाँ, ली हसङ र लिन नामका अर्का चिनियाँ गरी ६ जनालाई सिआइबीले फरार सूचीमा राखेको थियो । उनीहरूलाई पक्राउ परेका बखत कारबाही हुने गरी खोजी सूचीमा राखिएको छ । थप चिनियाँ नागरिकलाई विवरण खुले र पक्राउ परेका बेला फेरि प्रतिवादी बनाउन मिल्ने गरी अभियोग दर्ता गराइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
पूर्वसभामुख महरालाई उन्मुक्ति
पूर्वसभामुखसमेत रहनुभएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई भने प्रतिवादी बनाइएको छैन । टेलिफोन सम्पर्कका आधारमा मात्र महरालाई मुद्दा चलाउने स्थिति नदेखिएको प्रहरी अधिकृतहरूको दाबी छ । मिसिलमा संलग्न महराको बयान कागजमा महराले तत्कालीन विमानस्थल भन्सारका प्रमुख प्रशासन अरुण पोखरेललाई पहिल्यैदेखि चिनेकाले ‘के भएको हो, कानुनबमोजिम के गर्न मिल्छ हेरिदिनु होला’ भनेर फोन गरेको भनेका छन् । महराको बयानमा भनिएको छ, ‘मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त भेप जफत भएको रहेछ, कानुनबमोजिम मिल्ने भए सहयोग गरिदिनु होला भनेर अरुण पोखरेलको सम्पर्कमा गएका हुन् । दाओजिन वाङसँग मेरो पुरानो चिनजान हो, उनले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनेर चिनाएका थिए ।’ उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गरे पनि त्यसबाहेक अरू कुनै किसिमको सम्बन्ध नरहेको पूर्वसभामुख महराले दाबी गर्नुभएको थियो ।
त्यसो त, विद्युतीय चुरोट (भेप)मा लुकाएर भित्र्याइएको सुन तस्करी प्रकरणमा जोडिनुभएका पूर्वसभामुख महरालाई उन्मुक्ति दिने गरी प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय प्रतिवेदन बुझाएको थियो । महरामाथिको अनुसन्धान रोक्न सुरुमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दबाब परे पनि बाध्य भएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानको दायरामा भने ल्याएको थियो । तर, अनुसन्धान टुंग्याउँदा महरालाई चोख्याएर प्रतिवेदन तयार पारियो । राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत भदौ १३ मा पक्राउ गरेको थियो । पूर्वसभामुख महरासँग गत असोज १५ मा सिआइबीले कार्यालयमा बोलाएर बयान कागज गराएको थियो । भेपमा लुकाएर सुन ल्याउने गिरोहका नाइके दावाजिनसँग निकट पूर्वसभामुख महरालाई भने तथ्य र प्रमाणले पुष्टि नगरेको भन्दै सिआइबीले उन्मुक्ति दिएको हो । जबकि पूर्वसभामुख महराले दुबईबाट ली हासङले सुटकेसभित्र ल्याएका भेप भन्सारमा जफत भएपछि दावाजिनले छुटाउन आग्रह गरेको स्वीकार गरिसक्नु भएको छ ।
भन्सार प्रमुखको बयान : ‘कृष्णबहादुर र राहुल महराले लिलामीमा अस्वाभाविक दबाब दिए’
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिएको बयानमा कृष्णबहादुर महरा र राहुल महराले अस्वाभाविक दबाब दिएको बयान दिनुभएको छ । अरुण पोखरेलले आफ्नो बयानमा राहुलले ६÷सातपटक कार्यालयमै आएर लिलामीका लागि पटक/पटक दबाब दिएको, आफ्नो समूहलाई नै पर्ने गरी लिलामी गराउन भनेको र छिटो लिलामी गराउन दबाब दिनुका साथै जफत भएको भेप हेर्न चाहेको बयान दिनुभएको हो । राहुलसँगै आएका चिनियाँ नागरिकहरूले समेत जफत भएको सामान नै लिलामी गर्न लागिएको हो कि अर्को सामान लिलामी गर्न लागिएको हो भनेर हेर्न चाहेको र त्यही सामान नै बढी मूल्य तिरेरसमेत लिलामी सकार्न लागेपछि शंका लागेर आफूले अनुसन्धानका लागि सिआइबीलाई आग्रह गरेको पोखरेलको बयान छ । पोखरेलले बयानमा भन्नुभएको छ, ‘कुनै खास इलेक्ट्रिक सिगरेट (भेप) को लागि उनीहरूको अत्यधिक चासो अस्वाभाविक लागेकोले सो मालवस्तुको सम्बन्धमा थप छानविन गर्ने क्रममा गोदाममा रहेको इलेक्ट्रिक सिगरेट (भेप) साटिएको अवस्थामा फेला पारी विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएकोले मैले तत्कालै प्रमुख भन्सार प्रशासकको हैसियतले थप अनुसन्धान कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचारसमेत गरेको हुँ ।’ भेपमा लुकाएर ल्याएको करिब नौ किलोग्राम सुन भन्सार कार्यालयकै सुब्बा रेवन्त खड्का समेतको सहयोग र मिलेमतोमा गोदामबाट चोरी गरी बिक्री वितरण गरिएको थियो ।
राहुल महराको बयान : ‘भेप निकाल्न मिल्छ कि मिल्दैन ? भनेर सोधेको मात्रै हुँ’
विद्युतीय सिगरेट (भेप)मार्फत भएको नौ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले इन्कारी बयान दिएका छन् । चिनजानका चिनियाँ नागरिकको भेप भन्सारले समातेपछि त्यसबारे बुझ्न अधिकारीहरूलाई फोन गरेको स्वीकार गरेका महराले सुन तस्करीमा संलग्नता भने अस्वीकार गरेका छन् । उनले भेपभित्र सुन रहेको कुरासमेत मिडियामा आएपछि मात्रै थाहा पाएको दाबी गरेका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा महराले पुरानो चिनजान भएका साथी चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको बयान दिएका छन् । जिल्ला अदालत, काठमाडौंमा दर्ता अभियोग पत्रमा समावेश बयानमा राहुल महराले भनेका छन्, ‘साथीको भेप त्रिभुवन विमानस्थल एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ, मिल्दैन बुझिदिनु प¥यो भनेर अनुरोध गरेकाले मैले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेर के भएर रोकिएको हो ? भनेर सोधपुछ गरेको थिएँ । श्रेष्ठले त्यसबेला लिलामी प्रक्रिया अगाडि बढ्छ भनेर मलाई भनेका थिए, त्यसपछि पनि मलाई दाओजिन वाङले पटकपटक फोन गरेर भेपको के भइरहेको छ बुझिदिनु पर्यो भन्ने गरेका थिए ।’ करिब दुई हप्ता पछाडि भन्सारमा नै गएर बुझिदिनु पर्यो भनेकाले ‘के भएको रहेछ बुझौँ न त’ भनेर विमानस्थल जाँदा भन्सार कार्यालय अगाडि वाङ, उनका सवारी चालक लोकेन्द्र पौडेल र नचिनेको दुई चिनियाँ नागरिकसँग भेट भएको महराको बयान छ । पोखरेललाई पनि जफत भएको भेप के गर्न सकिन्छ भनेर कुराकानी हुँदा श्रेष्ठले जस्तै जवाफ दिएको उनले बताएका छन् । साथै, उनले बुबा कृष्णबहादुर महराले भन्सार प्रमुख पोखरेललाई फोन गरेर सहयोग गरिदिनु भनेको पनि आफूलाई थाहा नभएको दाबी गरेका छन् ।
चिनियाँ तस्करका चालकको बयान
भेपमार्फत भएको नौ किलो सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक दाओजिन वाङका चालक लोकेन्द्रकुमार पौडेलले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल सामान छुटाउन भन्दै प्रमुख भन्सार प्रशासकलाई भेट्न गएको बयान दिएका छन् । वाङले राहुललाई फोन गरेर बोलाएपछि आफूसहित महरा र तिब्बती नागरिक निमा गुरुङ भन्सार प्रमुखको कार्यकक्षमा पुगेको पौडेलले बताएका छन् । त्यसबेला ‘वाङ र असिन’ भनिने अरू दुई चिनियाँ नागरिक भुइँ तलामा बसेको पौडेलको बयान छ । जफत भएको भेपको बारेमा कसरी छुटाउने ? भन्ने विषयमा अरुण पोखरेलसँग राहुल महरा र निमा गुरुङले कुराकानी गरेको पौडेलको बयान छ । तर, पोखरेलले तपाईंहरूलाई किन चाहियो ?, यसमा के छ ? र यति साह्रो मरिहत्ते गरेको भनेको ? उल्लेख गर्दै बयानमा पौडेलले भनेका छन्, ‘उक्त सामान चेकजाँचका लागि गएको छ, हेर्न मिल्दैन । जफत भइसकेको वस्तु दिन मिल्दैन भनेपछि हामी तीनैजना त्यहाँबाट फर्किएका थियौँ । त्यसबेलासम्म भेपभित्र सुन छ भन्ने कुरा मलाई वाङ समेतले नभनेकाले मलाई थाहा थिएन ।’ पछि मिडियामार्फत सुन लुकाइछिपाइ भित्र्याएको भन्ने थाहा भएको पौडेलको दाबी छ ।
एयरपोर्ट कार्गो भवनमा ‘फ्ल्याप गेट’ राखियो
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्गो भवन प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको छ । अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि गेट सञ्चालनमा ल्याइएको भन्सार प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिनुभयो । प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र यो गेट पार गर्नसक्ने व्यवस्था मिलाइएको छ । गत साउन २ गते कार्गो भवन हुँदै ब्रेक सुभित्र राखेर सुन तस्करीको घटना बाहिरिएपछि भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाइ गरेको बताएको छ । उक्त घटनामा सरोकारै नभएका र अनधिकृत व्यक्ति छिरेको देखिएपछि फ्ल्याप गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थल प्रवेशका लागि अंग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’ सम्मको पास उपलब्ध गराइन्छ । कार्गो भवन प्रवेशका लागि भने अंग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइएको हो । सर्वसाधारण आफ्नो मालवस्तु छुटाउन भन्सार एरियामा प्रवेश गर्नुपरे भिजिटर पास लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको पाण्डेले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच