काठमाडौं । मंसिर लागेसँगै चिसो बढ्न थालेको छ । पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रमा झन् बढी चिसो छ । अब जति दिन बित्दै जान्छ चिसो थप बढ्दै जानेछ । घरबार र हुने खानेहरूसँग चिसोबाट बच्ने अनेक उपाय छन् । तर, जसको घरबारै छैन उनीहरूको अवस्था कस्तो होला ? जाजरकोट भूकम्पमा घरबारविहीन बनेकाहरू कठ्याङ्ग्रिँदो चिसोमा पनि त्रिपालमुनि रात-दिन काट्न बाध्य छन् । एकसरो लुगा र त्रिपालको भरमा दिन-रात बिताइरहेका पीडितलाई पूरै हिउँद यस्तै बित्छ कि भन्ने चिन्ता छ ।
चिसोसँगै उनीहरूको चिन्ता र पीडासमेत बढ्दै गएको छ । विनाशकारी भूकम्पमा ज्यान जोगाएका जाजरकोट र रुकुम पश्चिमका नागरिकलाई चिसोबाट कसरी बाँच्ने ? भन्ने चिन्ताले थप पीडा दिएको छ । विशेषगरी वृद्धवृद्धा र बालबालिका चिसोको मारमा परेका छन् । चिसो भुइँमा ओछ्याउने र ओढ्नेको अभाव हुँदा दीर्घरोगी, वृद्धवृद्धा, सुत्केरी र बालबालिकालाई सकस भएको हो । भूकम्पले आफन्त र घरबार लियो । अब चिसोले ज्यान लिन्छ कि भन्ने चिन्ता उनीहरूलाई छ ।
पीडितहरू बिरामी पर्न थालेका छन् भने चार जनाको ज्यान गइसकेको छ । समयमा राहत नपाएका पीडितको अस्थायी आवासको समेत टुंगो छैन । सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास बनाउन अनुदानको घोषणा गरे पनि काम सुरु भएको छैन । १७ कात्तिकको भूकम्पमा परी जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५३ जनाको ज्यान गएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहित १२ जिल्लामा झण्डै ६२ हजार घर क्षतिग्रस्त बनेका छन् ।
चिसोका कारण चार जनाको मृत्यु
चिसोका कारण जाजरकोटमा चारजना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आउनुभएका चार जनाको चिसोका कारण ज्यान गएको हो । दुई जनाको शुक्रबार र दुई जनाको एक साताअघि ज्यान गएको हो । भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका-४ जिरीका नरेन्द्रबहादुर सिंहको शुक्रबार मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको हो ।
यसअघि गतसाता नलगाड-४ मा चिसोका कारण दुईजना दीर्घरोगीको ज्यान गएको थियो । जाजरकोटको नलगाड नगरपालिका-४ कालाच्युराका ७७ वर्षीय गोपाल रावल र ४५ वर्षीय पम्फा रावलको चिसोका कारण मृत्यु भएको थियो । उनीहरू पनि दीर्घरोगी थिए । प्रजिअ सुनारले चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको बताउनुभयो । त्रिपालमुनिको बसाइले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।
पीडितले पाएनन् नगद राहत
भूकम्पपीडितले राहत रकमसमेत पाएका छैनन् । संघीय सरकारले भूकम्पबाट ज्यान गुमाएका परिवारलाई प्रतिमृतक दुई लाखका दरले राहत दिने निर्णय गरेको थियो । १९ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले परिवारमा एकजना मात्र मृतक रहेकालाई प्रतिमृतक दुई लाख र एकै परिवारका एकजनाभन्दा बढी मृतक रहेकाको हकमा एकजनाको दुई लाख तथा अन्यको एक/एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
सरकारले राहतका लागि रकमसमेत पठाइसकेको छ । सरकारले जिल्ला विपत् व्यवस्थापन समितिको खातामा रकम निकासा गरेको थियो । तर, दुई साता हुनलाग्दा पनि जाजरकोटका भूकम्पपीडितले राहत रकम पाएका छैनन् । प्राविधिक समस्याका कारण राहत रकम वितरणमा समस्या भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले आवश्यक कागजात मिलाउन तथा बैंक खातामा प्राविधिक समस्या आउँदा राहत वितरणमा ढिलाइ भएको बताउनुभयो । स्थानीय तहबाट मृत्यु दर्ता, प्रहरी मुचुल्का, कानुनी हकवाला व्यक्तिलगायत कागजात आउनसमेत समय लागेको वितरणमा ढिलाइ भएको उहाँको भनाइ छ । समस्या समाधान हुनेबित्तिकै चाँडै राहत रकम वितरण गरिने उहाँले बताउनुभयो ।
रुकुम पश्चिममा भने केहीलाई राहत रकम वितरण गरिएको छ । रुकुम पश्चिममा भने ४१ जना मृतकका परिवारलाई नगद राहत वितरण गरिएको छ । कागजात मिलाउन बाँकी १२ मृतकका नौ घर परिवारलाई भने नगद रकम वितरण गर्न बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच