काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ(एनआरएनए) को ११औँ विश्व सम्मेलनमा बोल्दै उहाँले नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनएले पहिचान गरिसकेकाले लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको हो ।
अर्थमन्त्री महतले भन्नुभयो, ‘युवाहरूलाई लागिरहेको होला, यहाँ केही छैन, अरू गइसके, म पनि विदेश जानैपर्छ, यहाँ अवसर छ, अरू देश भौतिकरूपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पुर्जाका रूपमा फिट हुने हो तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सूक्ष्म चाहिन्छ । हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसक्यो । अहिले निजी क्षेत्रबाट तीन सय मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । सयौँ आयोजनामा हजारौँ नेपालीले लगानी गरिरहेका छन् । माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुँदैछ, दूधकोशीमा एसियाली विकास बैंकले लगानी गर्दैछ । हामीले ऋण सहुलियत दरमा मागेका छौँ ।’
उहाँले आर्थिक वृद्धिको मह
तवपूर्ण हिस्सा जलविद्युत् बन्ने भन्दै गैरआवासीय नेपालीहरूलाई पनि विद्युत्मार्फत् लगानीमा जोडिन आग्रह गर्नुभयो । मन्त्री महतले भन्नुभयो, ‘हामी बुढीगण्डकी जलाशययुक्त आयोजना अघि बढाउन चाहन्छौँ । लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा छ । बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदोरहेछ । बेलायतमात्र होइन, अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको छ । सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिन्छ । जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ, यसलाई तोड्न केही समय लाग्छ । अर्को क्षेत्र भनेको पर्यटन हो । यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मध्यपूर्वलगायत कोरिया गएकाहरू फर्किंदा सानो पुँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन् । उनीहरूले यहीँ सानो व्यवसाय सुरु गरिसकेका छन् । हामीले उत्पादनलाई सुरक्षा दिने नीति लिएका छौँ ।’
आफ्नो देशका बारेमा नकारात्मक सन्देश प्रवाह नगर्न आग्रह गर्दै उहाँले ०४६ सालपछि नेपालकोे कुल गार्हस्थ्य उत्पादनमा ६० गुणाले वृद्धि भएको, प्रतिव्यक्ति आय सात गुणा वृद्धि भएको छ, औसत आयु ५४ वर्षबाट ७२ वर्ष भएको बताउनुभयो । त्यस्तै राजस्व अनुपात कुल गार्हस्थ्य उत्पादनको अनुपातमा दोब्बर बढेको, विद्युत् पहुँच ९७ प्रतिशतभन्दा बढी रहेको, गाउँ–गाउँमा सडक सञ्जाल पुगेको, बालमृत्युदर २७ मा झरेको छ । मातृ मृत्युदर आठ सय ५० बाट एक सय ५१ मा झरेको जानकारी गराउनुभयो । उल्लेखित सुधारसँगै अझै उपलब्धि हासिल गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।
मन्त्री महतले भन्नुभयो, ‘सामाजिक सञ्जालको जमाना छ । संसार मोबाइल फोनमा भेटिन्छ, नेपालीहरू यो विषयमा उदार छन् । गाँस काटेर भए पनि हामी स्मार्टफोन प्रयोग गर्नेमा अग्रपंक्तिमै छौँ, हिजो के थियो, के कारणले गर्न सकेनौँ भनेर हामीले चित्त बुझाउने ठाउँ छैन, त्यो कसैले सुन्न चाहँदैनन् । अरू देश त्यहाँ पुगिसके, तिमीहरूले किन पु¥याएनौ ? द्वन्द्व, अस्थिरता, भूकम्पलगायत हामी अनेकौँ कठिनाइबाट गुज्रियौँ । त्यही एक्सक्युजेज दिएर चित्त बुझाउन सक्दैनौँ । यसकारण हामीले भविष्यको सुस्पष्ट मार्गचित्रका साथ जति ग¥यौँ, यतिले पुगेन, जति प्रयास हिजोदेखि आजको दिनसम्म भयो, यतिले पुगेन, एउटा लक्ष्य, इमानदारिता र समर्पणसाथ अब ज्यादा काम गर्नुपर्ने चुनौती छ ।’ तथापि व्यक्तिको इच्छा, क्षमता र योग्यता पूर्ति गर्न कुनै सीमाले रोकिन नहुने भन्दै उहाँले विदेशिनु पनि व्यक्तिको स्वतन्त्रताको विषय भएको बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘यो स्वतन्त्रता उपभोग गर्दै लाखौँ नेपाली आफ्ना आकांक्षा पूर्ति गर्न मुलुकबाहिर गएका हुन् तर सधैँ बाहिर जानुपर्दैन, मलाई लाग्छ, गैरआवासीय नेपालीहरू फर्किनुहुन्छ । कतिपय युवा अवस्थामै फर्किनु होला, कतिपय पाकै भएर फर्किनुहोला । किनभने यहाँ अवसर छ, यो अवसर हामीले सूक्ष्म दृष्टिले हेर्नुपर्छ ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाललगायतका निजी क्षेत्रका प्रतिनिधिहरूले पनि एनआरएनएहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनएका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता छ । विश्व सम्मेलन तथा ११औँ महाधिवेशनले आगामी दुर्ई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्ष उपाध्यक्षद्वय महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्माले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष, महासचिवसहित ७६ पदाधिकारीका लागि एक सय नौजनाको उम्मेदवारी परेको एनआरएनएले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच