घोङी संकलन गर्दै तराईका महिला

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीसहित तराईमधेसका महिला यस समयमा आफ्नो छाक टार्नका लागि माछा र घोङी संकलन गरेको देख्न पाइन्छ । धान खेत तथा कुलो र नहरमा जम्मा भएको पानीमा सामुहिक रुपमा गएर माछा मार्ने गरेको देखिन्छ । यसरी संकलन गरिएको माछा र घोङीले छाक मात्रै टार्न सकिने भएपनि प्रत्येक गाँउ गाँउबाट समुह नै बनाएर दैनीक जस्तो घोङी, माछा र गँगटो संकलन गरेको देखिन्छ ।

संकलीत घोङी घरमा ल्याई त्यसको चुच्चो भाग काटेर केहीबेर पानीमा डुवाएर सफा गरि त्यसलाई पकाएर खाने गरिन्छ । घोङी खाँदा स्वास्थ्यमा समेत फाईदा पुग्ने चिकित्सकको भनाई छ । सुपको रुपमा तयार गरि खाँदा यसले शरीरमा आवश्यक पर्ने मिनरल, क्यालसिएम जस्ता पौष्टिक तत्व पाइने स्वास्थ्यकर्मी सूर्यनारायण चौधरीले जानकारी दिनुभयो । जसले गर्दा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुने उँहाको भनाई छ ।

स्वास्थ्यको दृष्टिले समेत अति उपयोगी भएकाले समेत यसको संकलनमा दैनिक जस्तो समय खर्चेर संकलनको लागि जाने महिलाहरुको भिड नै देखिन्छ । पानी जम्ने ठाँउमा बाह्र महिनै पाईने भएपनी धेरै जस्तो धानबालीमा पाइने भएकोले अहिलेको समयमा घोङीको खोजीमा महिलाहरु निस्कने गरेका छन् ।

असार देखि धेरै मात्रामा पाउने भएपनी थारु जातिको पर्व माघिमा विशेष परिकारको रुपमा घोङीलाई लिईने भएकाले यसको थारु समुदायमा विशेष महत्व रहेको छ । व्यवसायिक रुपमा भने यसको पालन हुन सकेको छैन् । व्यवसायिक रुपमा पालन नभएपनि बजारमा धान खेत तथा पानी जम्ने ठाँउबाट संकलन गरिएको घोङी पाउन सकिन्छ ।

संकलन गरिएको घोङी बजारमा प्रतिकेजी ५०/६० रुँपैयामा बिक्री हुने गरेको छ । पछिल्लो समय खेतबारीमा प्रयोग गरिने बिभिन्न किसिमको रासायनिक मल तथा बिषादिले गर्दा घोङी पहिलेको तुलनामा अहिले कम पाईन थालेको छ । अहिले भन्दा १५-२० वर्ष पहिले एक दिन संकलन गरेर आउँदा दुईतिन दिनसम्म पुग्ने गरेको भएपनी अहिले एकदिनलाई एक छाक पुर्‍याउन समेत गाह्रो हुन थालेको ईश्वरपुर-८ निवासी राधा चौधरी बताँउनु हुन्छ । आर्थिक तथा स्वास्थ्यको हिसावले पनि बहु उपयोगी यस्ता जलचर जिवको संरक्षण गर्न आवश्यक रहेको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?