काठमाडौं । प्रतिनिधिसभा बैठकमा आइतबार दुईवटा विधेयक पेस भएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत भएका हुन् । दुवै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको हो ।
विधेयकको विरोधको सूचनाका सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले बैंक तथा वित्तीय कारोबारमा हुन सक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन विधेयक ल्याइएको बताउनुभयो । यस्तो कार्यउपर हुने सजाय र अदालती प्रक्रियालाई अझ पारदर्शी तथा सरलीकरण बनाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक आवश्यक रहेको उहाँले बताउनुभयो । सांसद प्रेम सुवालले दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि चेक अनादरसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस भएको हो । संसद्मा विचाराधीन विधेयक र संसद्को चालु अधिवेशन अन्त्यको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेसँग अनौपचारिक संवाद गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको संवादपछि सभामुख घिमिरेले आइतबार बिहान सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएको थियो । नेताहरूका अनुसार गुटेरेसको सम्बोधनपछि केही बैठक राख्ने र संसद्मा विचाराधीन सम्पत्ति शुद्धीकरण विधेयक र टिआरसी विधेयक पास गरेर संसद् अधिवेशन अन्त्य गर्ने सरकारको चाहना छ । माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे पनि सरकारले प्राथमिकतामा राख्दै आएका यी दुवै विधेयक अगाडि बढाउने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले दलहरूसँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्नुभयो । महत्वपूर्ण विधेयकहरू पास गरेर अधिवेशन अन्त्य गर्ने र अर्को अधिवेशनका लागि अन्य विधेयकहरूका लागि गृहकार्य गर्ने चाहना सरकारले रहेको पनि माओवादीका मुख्य सचेतक पाण्डेले बताउनुभयो ।
२७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल सकिएको छ । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले दफाबार छलफल गरेर विधेयकको प्रतिवेदन हाउसमा पेस गरिसकेको छ । २५ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसदीय विषयगत समितिमै छ । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले गठन गरेको संसदीय उपसमितिले अधिकांश विषयमा सहमति जुटाएर विधेयकको प्रतिवेदन समितिको बैठकमा पेस गरेको छ ।
विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरौँ : सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्ति सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवालले यस्तो बताउनुभएको हो । नेपालीहरूको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भन्दै उहाँले नेपालीको सम्पत्ति सीमांकन गर्न आवश्यक रहेको बताउनुभयो । यसका साथै उहाँले नेपालीलाई योग्यता अनुसारको काम र काम अनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताउनुभयो । देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइलाई व्यवस्थित गर्नुपर्नेमा सुवालले जोड दिनुभयो । त्यस्तै, सरकारी बिदा धेरै भएको जनगुनासो आएको भन्दै उहाँले हाल कायम सरकारी बिदाको एक चौथाइ बिदा कटौती गर्न माग गर्नुभयो । सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीले स्वयंसेवी भावना राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच