संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेस नेपालको चार दिने भ्रमण सम्पन्न गरी फर्कनुभएको छ । संयुक्त राष्ट्र संघको महासचिव नेपाल आएर जलवायु परिवर्तन, शान्ति प्रक्रियाका विषयमा जसरी आफ्नो मन्तव्य प्रकट गर्नुभयो उहाँको त्यो विचार निश्चय पनि नेपाल र नेपालीलाई उत्प्रेरित गर्न सफल भएको छ । उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको अन्यायको खुलेर चर्चा गर्नुभयो । वायु प्रदूषण र हरित गृह उत्सर्जनको सन्दर्भमा नेपालको कुनै भूमिका नरहे पनि दुई ठूला छिमेकीहरूबाट विस्तारित प्रदूषणको मार नेपालले सहनु परिरहेको अवस्था छ । दुई दशक पहिले आउनु भएका संयुक्त राष्ट्र संघका महासचिवद्वारा प्रकट चिन्ता जस्तै वर्तमान महासचिवको पनि नेपाल सन्दर्भमा देखियो, यो अत्यन्त खुशीको विषय हो ।
उहाँले अन्नपूर्ण आधार शिविरसम्म पुगेर हिमालको अवस्था अवलोकन गर्नुभएपछि पानीको मूल स्रोतको क्षयीकरणबारे बोल्नु स्वाभाविक थियो । संसारका सर्वाधिक अग्ला दश हिमालमध्ये नेपालमा आठवटा भएको हुनाले आर्टिक, अन्टार्टिक जस्तै गरी हिमालको संरक्षणको प्रश्न महत्वपूर्ण भएको अवस्था छ । नेपालमा कारखानाहरू त्यति छैनन् । वायु प्रदूषणको सीमा नेपाली भूमिले उल्लंघन गरेको छैन तर औद्योगीकरणको व्यापक विस्तार गरिरहेका दुई छिमेकीहरूको विकासको वातावरणीय नकारात्मक प्रभावको प्रत्यक्ष मार नेपालले सहिरहेको छ ।
यस अन्यायका लागि नेपालले पाउनुपर्ने क्षतिपूर्ति अत्यन्त नगन्य देखिन्छ । महासचिव गुन्टेरेसले नेपालप्रति देखाउनुभएको सदासयता शब्दमा सीमित रहने छैन र नेपाललाई हिमालको संरक्षण गर्न, हिमनदीलाई जोगाउन, वन र पानीको उचित व्यवस्थापन गर्न र भूक्षयले परिरहेको असरलाई कम गर्न अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहयोग नेपालले प्रभावकारी रूपले पाउनेमा नेपालीहरू आशान्वित भएका छन् । खास गरी प्रकृतिविरुद्ध भइरहेको युद्धमा नेपालको प्रतिरोधात्मक अभ्यासको सन्देश लिएर अन्तर्राष्ट्रिय समुदायमा पुग्ने उहाँको धारणा प्रशंसनीय छ ।
संयुक्त राष्ट्र संघले प्रत्येक सदस्य राष्ट्रको मात्रै होइन सदस्य राष्ट्रका नागरिकहरूको स्वार्थ संरक्षणका लागि उपयुक्त विधि र पद्धति अवलम्बन गरिरहेको हुन्छ । खास गरी समुदायका बीचमा उत्पन्न हुने विवाद र त्यसले निम्त्याउन सक्ने द्वन्द्व र हिंसाको निदान खोज्ने दायित्व संरासंमा रहेको छ । नेपालमा सशस्त्र द्वन्द्वका समयमा भएका अनेक मानवताविरुद्धका अपराध छन्, आज पनि द्वन्द्व पीडितले न्यायका लागि चित्कार गरिरहेको अवस्था छ । माओवादीले आरम्भ गरेको सशस्त्र हिंसाको घाउ अस्वत्थामाको निधारमा लागेको कहिल्यै विसेक नहुने उचुक पल्टेको घाउमा परिणत भएको छ । बृहद् शान्ति सम्झौतापछि पीडितहरूले न्याय पाउने आशा गरेका थिए तर सत्र वर्ष बितिसक्दा त्यो काकाकुलीय आकांक्षामा परिणत भएको छ ।
यद्यपि महासचिवले शान्ति प्रक्रियामा संलग्न नेताहरूको प्रशंसा गर्नुभएको छ र संयुक्त राष्ट्र संघले समेत शान्ति प्रक्रियालाई सघाउन पाएकोमा खुशी प्रकट गर्नुभएको छ । महासचिव गुटेरेस पोर्चुगलको प्रधानमन्त्री भइसक्नुभएको प्रजातान्त्रिक समाजवादी नेता पनि हो । सोसिलिष्ट इन्टरनेसलको अध्यक्षको जिम्मेदारी बहन गरिसक्नुभएको हुनाले स्वाभाविक रूपमा युद्ध र अशान्तिका विपक्षमा रहनुभएको छ । युद्ध र हिंसाले निम्त्याएको मानवतावादविरोधी अभ्यासलाई उहाँ रुचाउनु हुन्न । नेपालको शान्ति प्रक्रियालाई न्यायिक ढंगले निष्कर्षमा पुगोस् भन्ने चाहना उहाँको देखिन्छ । राष्ट्र-राष्ट्रका बीचमा भइरहेका युद्ध र आणविक हतियारको प्रतिस्पर्धाका कारण विश्व बहुध्रुवीय हुँदै गएको यथार्थबोध उहाँमा छ ।
नेपालको संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले स्पष्टसँग बहुध्रुवीय विश्वको विषय उठान गर्नुभएको छ । तर, नेपालको प्रतिबद्धता सदा शान्तिका पक्षमा छ । असंलग्न सिद्धान्त वा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनजस्ता संस्थाहरू निस्तेज र निष्क्रिय भए पनि नेपालको परराष्ट्र नीतिमा पहिलो प्राथमिकता शान्ति नै हो । अहिले पनि नेपाली सेना र प्रहरी गरी करिब पाँच हजार संख्यामा अन्तर्राष्ट्रिय शान्ति मिसनमा कार्यरत छन् । तेह्र देशमा छरिएर यस्ता मिसनमा सक्रिय नेपालीहरूको योगदानको अवमूल्यन कसैले पनि गर्नु सम्भव छैन । अहिंसा र शान्तिका विश्वदूत गौतम बुद्धको जन्मस्थानको पवित्र भूमिको स्पर्शपश्चात् महासचिवले अबको संसारलाई युद्धका पक्षमा नभएर शान्तिका पक्षमा उभिन अपिल गर्नुभएको छ ।
क्रमशः संसार युद्धको कहालीलाग्दो डढेलोमा पुगेको अवस्थामा बुद्धभूमिमा उभिएर उहाँले दिनुभएको शान्तिको सन्देश कति प्रभावशाली होला अहिल्यै भन्न सकिँदैन । यतिखेर पश्चिम एसिया युद्धको आगोमा सल्किरहेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणको घाउ यथावत् छ । सिरियादेखि सुडानसम्म अनेक देशहरू गृहयुद्धको चपेटामा छन् । करिब बीस महिनायता निरन्तर युक्रेन-रुस युद्ध जारी छ । त्यसलाई छायाँमा पार्ने गरी हमासको आतंकवादी आक्रमणले उत्पन्न गरेको इजरायल-हमास युद्धले पश्चिम एसिया बलिरहेको छ । त्यो आगो निभाउनेमा भन्दा आगोमा घ्यू थप्ने आतंककारी समूहहरू, आतंकलाई धर्मको आवरण प्रदान गरी युद्ध विस्तार गर्न खोज्ने इस्लामिक देश र मुदायका कारण बिस्तारो विश्वयुद्धको तेस्रो चरणमा विश्व समुदाय पुग्न लागेको भयावह संकेत देखिँदैछ ।
आतंकको प्रत्युत्तरमा निर्दोष गाजावासीहरूको जीवन गुमिरहेको छ, घरबार ध्वस्त भएको छ, मानवता रोइरहेको छ, हजारौं नागरिक विस्थापित भएका छन्, चारैतिरबाट घेराबन्दीमा परेका नागरिकहरूको भोक, प्यास, शोक र रोगले निरीह बनेको चित्कार निकै परसम्म सुनिरहेको छ । तर, यसको सर्जक हमास नामधारी समूह भने दुई अढाई सय इजरायलीहरूलाई बन्धक बनाएर आफ्नो आतंककारी गतिविधिमा सहयोग गर्न संसारसँग र खास गरी इस्लामिक देश र समुदायसँग आहृवान गरिरहेको छ । यो अवस्थामा महासचिव गुटेरेसले नेपाल भूमिमा आएर शान्तिको कामना गरिरहनु भएको छ ।
इजरायलमाथि भएको आतंककारी आक्रमणका सन्दर्भमा महासचिव गुटेरेसको अभिव्यक्ति अत्यन्त विवादास्पद मानिएको थियो । अक्टोबर सातका दिन ती निर्दोष नागरिकमाथि अप्रत्यासित भएको हमासको आतंककारी आक्रमण अकारण थिएन भन्ने अभिव्यक्ति दिनुभएपछि संयुक्त राष्ट्र संघका लागि इजरायली राजदूतले कडा प्रतिक्रिया दिँदै गुटेरेसलाई तत्काल राजीनामा दिन आग्रह गर्नुभएको थियो । समाचारहरूमा आएअनुसार इजरायली राजदूतले गुटेरेसलाई पदमा बसिरहने नैतिकता गुमाउनुभएको भन्नेसम्मको आरोप लागाउनुभएको थियो । संयुक्त राष्ट्र संघमा यस्तो आरोप सुन्नुपरेको केही दिनमै महासचिव गुटेरेस नेपालको औपचारिक भ्रमणमा निस्कनुभएको थियो । यो विवादपछि पहिलो औपचारिक भ्रमणमा नेपाल आउनुभएका गुटेरेसलाई नेपालले हार्दिक स्वागत गरेको छ ।
यहाँ स्मरणीय के छ भने करिब ६ दशकपहिले दक्षिण एसियाबाट राज्यका रूपमा इजरायललाई मान्यता दिने पहिलो देश नेपाल नै थियो । अहिले इजरायल चारैतिरबाट भइरहेको आक्रमणको सामना गरिरहेको छ । हमासलाई सहायता दिन लेबनानस्थित हिज्बुल्लाह समूहदेखि यमनको अर्को आतंकको पर्याय समूहसमेत सक्रिय भएको छ । गाँजापट्टी, वेष्ट ब्यांक, लेवनान सबैतिरबाट इजरायलमाथि बम वर्षा भइरहेको छ । यस्तो संगीन समयमा आतंकका पक्षमा सहानुभूतिका शब्दका साथ संयुक्त राष्ट्र संघका महासचिव विदेश भ्रमणमा रहनु कति तर्कपूर्ण र औचित्यपूर्ण मानिने हो त्यो भविष्यले नै देखाउनेछ । तर, नेपालका हितमा र नेपालको विकासका पक्षमा उहाँको भ्रमण लाभकारी हुनेमा भने हामी सबैको विश्वास छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच