राजावादीहरुप्रति माधव नेपालको टिप्पणी : व्यवस्थामाथि आँच आउनेगरी प्रश्न उठाउने अधिकार छैन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजावादीहरुलाई देशको वर्तमान व्यवस्थामाथि आँच आउनेगरी प्रश्न उठाउने अधिकार नभएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले राजावादीहरुतर्फ लक्षित गर्दै देशको वर्तमान व्यवस्थामाथि आँच आउनेगरी प्रश्न उठाउने अधिकार नभएको बताउनुभएको हो । उहाँले नेपाललाई फेरि अध्याँरो युगमा फर्काउने कुरा नसोच्न चेतावनी समेत दिनुभयो । उहाँले कुनै वंशको शासनलाई अगाडी सारेर देशको समस्या समाधान हुने कुराको कल्पना गर्नु नहुने बताउनु भयो । उहाँले प्रधानमन्त्री र राज्य सञ्चालनको सम्बन्धमा पीडा भएको भए राजनीतिमा विकल्प दिन चुनौति समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘समस्या देश सञ्चालन गर्ने प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा हो ? के यो देशको मधेशीको छोरो देशको राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? के नेपाली छोरी राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? नेपालको राजनीतिमा जीवन समर्पित गरेका एउटा योद्धा राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? देशको सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री भएको ठाउँमा रहेका व्यक्तिहरु र मन्त्रिमण्डलको टिमले राम्ररी काम गरेन भन्ने कुरामा पीडा भएको हो ? यदि प्रधानमन्त्री र राज्य सञ्चालनमा पीडा भएको हो भने आउनुहोस् राजनीतिमा विकल्पहरु दिनुस् । राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस् । तर यो व्यवस्थामाथि आँच आउनेगरी प्रश्न उठाउने अधिकार तपाईलाई छैन । हामीले देखिसकेका छौँ । भोगिसकेका छौँ । खुट्टी पनि देखिसकेका छौँ । फेरि त्यही अध्याँरो युुगमा नेपाललाई फर्काउने कुरा नसोच्नुहोस् । कुनै वंशको शासनलाई अगाडी सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगरौँ ।’

अध्यक्ष नेपालले देशको स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्न सबै गम्भिर हुनुपर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रले आशा जगाउन नसकेको भन्दै समस्या समाधानका लागि राजनीतिक नेतृत्वले अपेक्षित रुपमा अग्रसरता लिन नसकेको बताउनु भयो । उहाँले देशको अर्थतन्त्रको मूल्यांकन गर्न विज्ञहरु सहितको बैठक राख्नुपर्ने पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?