प्राकृतिक विपद्पछि देखिने स्वास्थ्य चुनौतिबारे अहिले नै शतर्क हुनुपर्छ : डा. बद्री रिजाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । सयौँ मानिसहरु घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् । भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन् । सरकारले अहिले भूकम्पमा परी निधन हुनेहरुको शव व्यवस्थापन र राहत उद्धार कार्य जारी राखेको छ । साथै भूकम्पपछि सोही स्थानलाई केन्द्रबिन्दु बनाइ गएका पराकम्पबाट जोगिन विभिन्न उपायहरुसहित सरकारले उद्धार र राहतका कार्यहरु अघि बढाइरहेको छ । तर भूकम्पपछि आउने जोखिमका लागि आवश्यक रणनीति बनाउनुपर्ने र स्वास्थ्यमा जोड दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले भूकम्पपछि देखिने असरहरुबारे ध्यान राखेर आवश्यक रणनीति तयार पार्नुपर्ने बताउनु भयो । उहाँले बालबालिका, वृद्ध र शारीरिक रुपमा अशक्त भएकाहरुलाई अहिले जाडोबाट बचाउनुपर्ने पहिलो प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनु भयो । खानपिन, चिसोबाट बचाउने उपाय र स्वास्थ्यमा विशेष ख्याल गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस्तो विपद्मा, अहिलेको भूकम्प छ, यसबाट देखिने इम्प्याक्टहरु तत्काल र केही समयपछि देखिँदै जान्छ । तुरुन्तै मानिसको जुन क्षति भएको छ भने जुन बाच्नुभएका बच्चा, वृद्ध र शारीरिक अशक्त जो हुनुहुन्छ, उहाँहरुको लागि अहिले चिसोको बेला आइरहेको छ । साथै अरु किसिमका स्वास्थ्य समस्याहरु आउन सक्छन् । खानपिनका कुराहरु, खानपिन राम्रो नभएर झाडा पखाला फैलिएको ठाउँ हो । यी सबै कुरामा ख्याल गरेनौँ भने न्यानो बनाएर बस्नुपर्छ । दुर्घटनाबाट सुरक्षित रहनुभएकालाई स्वास्थ्यको हिसावले सुरक्षित राखिएन भने उपचार मात्रै भनेर हिँड्नु भएन । उपचार पछि तातो र खानपिनलाई ख्याल गर्नुपर्छ । त्यो नगरे पछि अर्को समस्या निम्त्याउन सक्छ । अर्को कुरा हाम्ीले सावधानीका कुरा अपनाउनु पर्छ । कसरी सुरक्षित हुने भन्ने छ भने अर्को समस्यामा परेकोलाई कसरी रेस्क्यु गर्ने भन्ने अर्को कुरा हो । विपद्का बेलामा सबैलाई एजुकेट गरेर टिमवर्कमा नै अघि बढ्नुपर्छ । यस्तो विपद्मा आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्नुपर्छ ।’

प्राकृतिक विपद्पछि झाडापखाला, हैजा जस्ता ठूलो महामारी देखिनसक्ने अवस्थालाई ध्यान दिन आवश्यक रहेको बताउनु भयो । सुरक्षित बासस्थानको अभाव र स्वस्थ खानपिनको अभावका कारण देखिनसक्ने समस्याको सम्बोधनका लागि बेलैमा आवश्यक कदम चाल्नुपर्ने उहाँको सुझाव छ । स्वच्छ खानेपानी नहुनु, उचित बास्थानको अभाव हुनुले विपद्पछिका दिनमा ठूलो समस्या निम्तिएको नेपालको इतिहासबाट पाठ सिकेर सरकार र सबै निकायले एकजुट भइ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?