सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित

विगत २४ दिन देखि तलबको माग गर्दै आन्दोलनरत सिम्रौनगढ नगरपालिकाका शिक्षक तथा कर्मचारीहरु ।

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । बाराको सदरमुकाम देखि २७ किलोमीटर पूर्वमा रहेको सिम्रौनगढ नगरपालिकामा कार्यरत करारका कर्मचारी र तलब नपाएका शिक्षकहरु विगत २४ दिन देखी आन्दोलनमा उत्रिएका छन् ।

सिम्रौनगढ नगरपालिकाको कार्यालयमा ताल्चा लगाएर कार्यालय नजिकैको सडक पेटीमा निरन्तर आन्दोलन गरिरहेका कर्मचारी तथा शिक्षकलाई मेयर किशोरी प्रसाद जयसवालले वास्ता नगरेको पीडितहरुको भनाई छ ।

करारका कर्मचारी र शिक्षकहरु धर्ना सूरु गरेको झन्डै २३ दिन पुगीसक्यो र मेयर जयसवालले अहिले सम्म कुनै वास्ता नगरेको पीडित शिक्षक उमाशंर कुमार यादवले गुनासो गर्नुभयो । नगर शिक्षक संघ सिम्रौनगढका अध्यक्ष तथा धर्नाकार्यक्रमका संयोजक समेत रहनुभएका प्रधानाध्यापक यादवले आफुहरुको माग सुनुवाई नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

आन्दोलन गर्नु हाम्रो रहर होइन बाध्यता हो, यादवले भन्नुभयो,‘ काम गरे वापत ज्याला नपाउनु र ज्यालाको लागि आन्दोलन गर्नु पर्ने बाध्यतात्मक परिस्थितिको सृजना सिम्रौनगढ नगरपालिकाका मेयरले सृजना गरेका हुन् । अहिले हरेक स्कुलबाट एक जना विहान १० बजे देखि दिउसो ३ बजेसम्म दिनहुँ आन्दोलन गरिरहेका छौ । हाम्रो पिडा कसैले बुझेको छैन । तलब नपाएर घर परिवार चलाउन समेत समस्या परेको छ । आफनो कमी कमजोरी लुकाउनमै मेयर व्यस्त छन् । उनी जितेर आएपछि कुनै पनि काम हुन सकेको छैन । एकातिर काम गर्नु पर्ने अर्को तर्फ ज्याला नपाउने हो भने काम गर्न पनि मन लाग्दैन । अहिले हामी आन्दोलित भएपनि सबै विद्यालयहरु संचालनमा रहेका छन् । हामीले हाम्रो आन्दोलनबाट विधार्थीहरुको भविष्य र शिक्षामा कुनै किसिमको अवरोध नहोस भनेर आलोपालो गरि आन्दोलन गर्दै आएका छौ तर हाम्रो माँग चाडो भन्ँदा चाँडो पूरा भएन भने बाध्य भएर छठ पछि निजी तथा सामुदायिक सबै विद्यालयहरु बन्द गरी आन्दोलनमा होमिन बाध्य हुनेछौं ।’

‘हामीले लामो समयदेखी धर्नामा बस्दा पनि मेयरले वास्ता गरेनन्,’ उहाँले भन्नुभयोे, ‘भोकै पेट आन्दोलन गर्न वाध्य भएका छौं ।’ आन्दोलनरत कर्मचारीलाई काम गर्ने वातावरण बनाउन र नगरका शिक्षकलाई छठ पर्व भन्दा अगाडी तलब खुवाउन आफुहरुले मेयरसँग आग्रह गरेको उहाँले बताउनुभयो ।

हाम्रो दुई वटा माँग मात्र रहेको छ, उहाँले भन्नुभयो, ‘कर्मचारीको बक्यौता तलब भुक्तानी र कर्मचारीलाई काम गर्ने वातावरण बनाईदिनु पर्यो । यदि हाम्रो दुईटै माग मेयर साहेबले सम्बोधन गरिदिनुभयो भने हामी आजै देखि काममा फर्किने उहाँले जानकारी दिनुभयो । मेयर जयसवालले राजनीतिक प्रतिशोध साधेर काम गरिरहेको करारका कर्मचारीलाई हटाएर आफ्नो दल तथा नजिकका मान्छेलाई नियुक्त गर्न थालेपछि आफुहरु बेरोजगार हुनु पर्ने अवस्था आएको पीडित करार तथा ज्यालादारी नगर कर्मचारी संघ सिम्रौनगढका अध्यक्ष नितेश कुमार यादवले बताउनुभयो ।

‘कर्मचारी भर्नामा विभेदकारी नीति ल्याईएपछि आफुहरु विरोधमा उत्रेका हौं,’ उहाँले भन्नुभयो, ‘करारमा कार्यरत स्वास्थ्यकर्मी, ज्यालादारी मजदुर, कर्मचारी सबै आन्दोलनमा छौं ।’ आफुहरुलाई नगर प्रमुख यादवले समस्यामा पारेपछि आन्दोलनमा उत्रिन वाध्य हुनु परेको उहाँले बताउनुभयो ।

नगरपालिकामा कार्यरत भन्डै डेढ सय करारका कर्मचारीले विगत एक वर्ष देखी तलब नपाएको र तलब नपाएपछि वाध्य भएर आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनुभयो ।

आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुसँग छलफल गरी आजै समस्या समाधान गर्ने सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद जैसवालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?