बित्तिय संस्थाहरुको मनोमानी बिरुद्ध चर्को आन्दोलनमा उत्रिदै ब्यवसायी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । बैकं तथा बित्तिय संस्थाहरुले मनोमानी गरेर ब्यवसायीहरुलाई घरबार बिहिन बनाउने काम गरेको भन्दै तिहारपछि चर्को आन्दोलनमा उत्रिने कैलालीका ब्यवसायीहरुले तयारी गरेका छन् । कैलाली उधोग बाणिज्य संघको अगुवाइमा सुदुरपश्चिमका सबै उद्याेग बाणिज्य संघहरुसहित सबै ब्यवसायीहरु आन्दोलनमा उत्रिनुपर्नेमा ब्यवसायीहरुले जोड दिएका छन् । उनिहरुले तिहार लगत्तै आन्दोलनमा उत्रिनुपर्नेमा जोड दिएका हुन् । कैलाली उधोग बाणिज्य संघको हलमा आयोजित छलफल कार्यक्रममा सहभागी ब्यवसायीहरुले अब सबै ब्यवसायी एकताबद्ध भएर आन्दोलनमा उत्रिनुपर्ने बताएका हुन् ।

उनिहरुले नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकका कारण धनगढीका व्यवसायीले मर्कामा परेको गुनासो गरेका छन् । बैंकको चर्को व्याजका कारण व्यवसाय डुबेको व्यवसायीले बताएका छन् । नेपाल राष्ट्र बैंकको गलत नीति र वाणिज्य बैंकहरूको ज्यादतीले हरेक व्यवसायी पीडित भएको व्यवसायी शिवराज पाण्डेले बताउनुभयो । ‘राष्ट्र बैंकले गलत काम गर्दैछ । केही ठूला व्यापारी बैंकरहरूसँगको आर्थिक लेनदेनका कारणले गर्दा राष्ट्र बैँकले बैंकहरूलाई जनता लुट्न छुट दिएको छ’, उहाँले भन्नुभयो, नत्र भने राष्ट्र बैंकको दायित्व, राष्ट्र बैँकले किन निभाएन ?

कैलाली उधोग बाणिज्य संघका पुर्व अध्यक्ष दिनेशराज भण्डारीले बैंक तथा वित्तीय संस्थाको व्याजदर ढाड सेक्ने हिसाबले बढ्दा धराशायी भएको बताउनुभयो । उधोग बाणिज्य महासंघ संग सहकार्य गर्दै आन्दोलन अगाडी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उधोग बाणिज्य महासंघले साथ नदिए कैलाली उधोग बाणिज्य संघले त्यसको अगुवाई गर्नुपर्ने र त्यसमा सबै ब्यवसायीहरुको साथ हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैंकहरूले पुरानो ऋणको व्याज बढाउँदै लग्ने र नयाँ लगानी नगर्ने नीतिले व्यवसायी समस्यामा परेका व्यवसायी श्याम हमालले बताउनुभयो । ‘जनता त मरिरहेका छन् अर्थतन्त्र त चौपट भइराछ । सारा सटहरू बन्द भइरहेका छन् यो कुरालाई सम्बोधन गर्न सकिरहेको छैन’, उहाँले भन्नुभयो, अहिले कुनै व्यवसायी ऋण लिन गयो भने राष्ट्र बैंकको नियम देखाएर बैंकहरूले ऋण दिइरहेको छैनन् ।

त्यो बेला कसरी ऋण दियो त रु बैंकहरूले विगतमा ७/८ प्रतिशतमा लगानी गरेको ऋणको व्याजदर बढाएर १६/१७ प्रतिशतसम्म पुगाएका छन् । बैँकले व्याज र सावा तिर्न नसकेको भन्दै व्यवसायीको धितो आफैले सकार्न थालेका छन् । ऋण लगानी गर्दा गरेको सम्पत्तिको मूल्याङ्कनभन्दा निकै कम मूल्यमा बैंकहरूले व्यवसायीको धितो सकार्न थालेका छन् ।

बैंकहरूले लगानी गर्दा गरेको धितोको मूल्याङ्कन धितो लिलामी गर्दा आधाले घटाएर आफ्नै नाममा घरजग्गा पास गर्न थालेका छन् । बैंकहरूका विरुद्ध फेरि आन्दोलन गर्नुपर्ने अवस्था स्वयम् बैंकहरूले नै गरेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताउनुभयो । ‘अहिले व्यवसायीहरू मर्माहत भएका छन् । थुप्रै व्यवसायी बैंकको व्याजदरका कारण प्रताडित भएका छन्’, उहाँले भन्नुभयो, बैंकको व्याजदर अत्यधिक भो भन्ने हाम्रो बुझाइ हो । हामीले व्याज तिर्दैनौँ भनेका छैनौँ । हामीले समय मागेका हौँस व्याजदर घटाउनु पर्‍यो भनेर आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।

राष्ट्र बैंकको नीतिका कारण वाणिज्य बैंकहरूले ज्यादती गरेको व्यवसायीले ठहर गरेका छन् । व्यवसायीलाई सहज हुने किसिमले राष्ट्र बैंकले वित्तीय नीतिमा अविलम्ब सुधार गर्नुपर्ने व्यवसायीले आग्रह गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?