हिउँका कारण उपल्लो डोल्पामा कर्मचारी पठाउन हेलिकोप्टर माग

Read Time = 3 mins

सुर्खेत । असोजमै हिउँले सेताम्य भएका यहाँका विभिन्न नाकामा चुनावका लागि कर्मचारी परिचालन गर्न समस्या देखिएको छ। उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकामा चुनावका लागि कर्मचारी परिचालनमा समस्या देखिएको हो ।

शेफोक्सुण्डो गाउँपालिका वडा नम्वर १,२ र ३ बाहेक अन्य सबै ठाउँमा रहेका मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभएमा कर्मचारी परिचालन गर्न मुस्किल हुने डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । उनका अनुसार ठूलो हेलिकोप्टरले १५ वटा उडान भरेमा मात्र कर्मचारीलाई पुर्‍याउन सकिन्छ । निर्वाचन आयोगलाई उपल्लो डोल्पामा जान र आउन भएको समस्याका विषयमा जानकारी गराइसकेको प्रजिअ अधिकारीले बताए।

तिहारमा घर गएका कर्मचारी सदरमुकाममा पुग्ने क्रम जारी छ । डोल्पा सदरमुकामसम्म पुग्न जुफाल विमानस्थल र भेरी करिडोरको स्थलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । चीनको सिमानासँग जोडिएको उपल्लो डोल्पामा वर्षेनी हिमपातका कारण कात्तिकदेखि चैतसम्मा यहाँका सबै गतिविधि ठप्प हुने गर्छ ।

सदरमुकाम दुनैबाट उपल्लो डोल्पा जान १० दिनसम्म लाग्ने गर्दछ। हिउँले ढाकिएका अग्ला पहाड छिचोल्नुपर्ने बाध्यता छ । चिसो मौसममा प्रहरी चौकीसमेत दुनै झारिन्छ । उपल्लो डोल्पामा रहेका ३० वटा मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अत्यन्तै संवेदनशील भएकाले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिमा छलफल भइरहेको अधिकारीले बताए ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि डोल्पामा ६६ वटा स्थायी र दुईवटा अस्थायी गरेर ६८ वटा मतदान केन्द्र छन् । डोल्पाको मतदाता संख्या २२ हजार सात सय ७४ छ ।
-हेमन्त केसी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?