
लिस्वेन । युरोकप छनोटमा पोर्चुगलले शतप्रतिशत जित हासिल गरेको छ । आइतबार आइसल्याण्डमाथि २-० को जित निकाल्दै पोर्चुगलले युरोकप छनोटमा शतप्रतिशत जित हासिल गरेको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेज र रिकार्डो होर्टाले गोल गर्नुभयो । खेलको ३७औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई अघि बढाउनुभएको थियो । रिकार्डोले ६६औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासलाई सदुपयोग गर्दै पोर्चुगलको अग्रतालाई दोब्बर बनाउनुभएको थियो ।
समूह ‘जे’मा रहेको पोर्चुगलले युरोकप छनोटका १० मध्ये १० खेलमै जित निकाल्न सफल भयो । राबर्टो मार्टिनेज प्रशिक्षक बनेर आएपछि पोर्चुगलले जनवरीपछि सबै खेल जितेको छ ।
यस्तै, स्पेनले युरोकप छनोटको खेलमा प्रभावशाली जित निकालेको छ । समूह ‘ए’को खेलमा स्पेनले जर्जियालाई तीन-एक ले हराएको हो । स्पेनले समूहको शीर्ष स्थानमा रहँदै छनोट यात्रा टुंग्याएको छ । स्पेनले आठ खेलबाट २१ अंक जोडेको छ । स्कटल्याण्ड १७ अंकसहित दोस्रो स्थानमा रहृयो ।
स्पेनलाई मिडफिल्डर गाभीको गम्भीर चोट महँगो पर्यो । १९ वर्षीय खेलाडीले बल नियन्त्रण गर्ने क्रममा चोट बोकेर रुँदै मैदान छोड्नुभएको थियो । जाभी स्पेन र क्लबका मुख्य खेलाडी हुनुहुन्छ । उहाँले स्पेनका लागि २७ र बार्सिलोनाका लागि १११ खेल खेल्नुभएको छ । ला रोजा यसअघि नै युरोकपमा छनोट भइसकेको छ ।
रियल सोसिडाडका डिफेन्डर रुबिन नोर्मान्डले स्पेनलाई अघि बढाउनुभएको थियो । त्यसको चार मिनेटमा पाहुना टोली जर्जियाका ख्विचा क्वारत्सखेलियाले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । दोस्रो हाफमा फेरान टोरेसको गोलमा घरेलु टोली स्पेनले पुनः खेलमा अग्रता बनाएको थियो । लुका लोकोश्विलीको आत्मघाती गोलले स्पेनलाई तीन-एकको सानदार जित दिलायो ।
योसँगै समूह ‘ए’का खेल सकिएका छन् । स्पेनले आठ खेलबाट २१ अंक बटुलेर शीर्ष स्थान हासिल गर्यो । स्कटल्याण्डसमेत १७ अंकसहित छनोट भयो । नर्वे ११ अंकसहित तेस्रो र जर्जिया आठ अंकसहित चौथो स्थानमा रहृयो । साइप्रस अंकविहीन हुँदै पुछारमा रहृयो ।
समूह ‘एफ’अन्तर्गतको खेलमा बेल्जियमले अजरबैजानमाथि पाँच-शून्यको जित निकालेको छ । बेल्जियमको जितमा रोमेलु लुकाकुले एक्लै चार गोल गर्नुभयो । अर्को गोल भने लियान्द्रो ट्रोसार्डले गर्नुभयो ।
१७औँ मिनेटमा जेरेमी डोकुको क्रसमा हेडर गोल गर्दै लुकाकुले खेलमा अग्रता दिलाउनुभयो । २४औँ मिनेटमा एडी इश्राफिलोभ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अजरबैजान १० खेलाडीमा सीमित भयो । त्यसपछि लुकाकुले पहिलो हाफमा तीन गोल थप्नुभयो । उहाँको दोस्रो गोल २६औँ मिनेटमा आयो । टिमोथी कास्टाग्नेको पासमा उहाँले सहज गोल गर्नुभएको थियो । ३०औँ मिनेटमा वाउट फेयसको पासमा गोल गर्दै उहाँले हृयाट्रिक पूरा गर्नुभयो । ३७औँ मिनेटमा ओरेल मंगालाको पासमा उहाँले व्यक्तिगत चौथो गोल गर्नुभयो ।
खेलको पाँचौँ गोल भने ट्रोसार्डले खेलको अन्त्यतिर गर्नुभयो । जितपछि बेल्जियम अपराजित रहँदै युरोकपका लागि छनोट भएको छ । समूहको आठ खेलमा ६ जित र दुई बराबरीसहित बेल्जियमको २० अंक रहृयो । यस्तै अष्ट्रिया १९ अंकसहित दोस्रो रहँदै छनोट भएको छ । स्विडेनको १० अंक रहँदा अजरबैजानको सात अंक रहृयो भने इस्टोनियाले एक अंकसहित छनोट यात्रा समाप्त गरेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच