काठमाडौं । बिहीबार बिहानैदेखि काठमाडौं उपत्यका अस्तव्यस्त बन्यो । दुई समूहले आयोजना गरेको शक्ति प्रदर्शनका कारण उपत्यकावासीले दिनभर दुःख पाए । दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाऊ अभियान’ र एमालेको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौंमा शक्ति प्रदर्शन गरेका हुन् । दुई समूहको प्रदर्शनका कारण उपत्यकाको ट्राफिक आवागमन बिहानैदेखि प्रभावित भएको थियो ।
प्रदर्शनका कारण बालबालिकाको पढाइसमेत प्रभावित भयो । उपत्यकाका धेरैजसो विद्यालय खुल्न सकेनन् । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूका जुलुस आउँदा सर्वसाधारणले सास्ती खेप्नुप¥यो । दुवै पक्षको प्रदर्शनका कारण काठमाडौंको चाबहिल, गौशाला, बानेश्वर, कोटेश्वर, बबरमहल पुतली सडकदेखि ललितपुरको सानेपा, काठमाडौंको कालीमाटी, कलंकी, बल्खु क्षेत्रमा यातायातसँगै सर्वसाधारणको दैनिकी प्रभावित भयो ।
जसै समय बित्दै गयो उनीहरू प्रदर्शनस्थल केन्द्रित हुन थाले । युवा संघले तीनकुनेमा र प्रसाईंको समूहले बल्खुमा जनप्रदर्शन गरेको थियो । बैंक तथा वित्तीय संस्थाबाट लिएको सर्वसाधारणको ऋण मिनाह गर्ने नारा दिएर जनमत बटुल्नुभएका प्रसाईंले वर्तमान व्यवस्थाविरुद्ध नै आन्दोलन प्रारम्भ भएको दाबी गर्नुभएको छ । सनातन हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना उहाँको अर्को एजेण्डा छ । उहाँको प्रदर्शनमा पनि राजसंस्थाका पक्षमा नाराबाजी भयो । आन्दोलनमा संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध पनि चर्को नाराबाजी भएको थियो । देशभरका विभिन्न ठाउँबाट आएका प्रदर्शनकारीहरूले बल्खुमा जम्मा भएर नाराबाजी गरेका थिए ।
जनप्रदर्शनपछि बल्खुमा आयोजित कोणसभामा प्रसाईंसहित विभिन्न व्यक्तिहरूले सम्बोधन गरे । सम्बोधनका क्रममा उनीहरूले वर्तमान व्यवस्था, सरकार र दलहरूविरुद्ध आक्रोश पोखे । राजसंस्था पुनःस्थापनाका पक्षमा आवाज उठाए । कोणसभापछि भने स्थिति तनावपूर्ण बन्यो । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भयो । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार ग¥यो । उनीहरूले प्रहरीमाथि पनि ढुंगा प्रहार गरे । प्रसाईंको आन्दोलनका कारण बल्खु क्षेत्र दिनभर तनावग्रस्त बन्यो । प्रसार्इंको प्रदर्शनमा छासमिस राजावादी पनि देखापरेका थिए । राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही प्रदर्शनस्थलमा पुग्नुभएको थियो । गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा रहेको राप्रपाकै संस्थागत समर्थन भने आन्दोलनमा देखिएन ।
सोही समयमा तीनकुनेमा युवा संघको जनप्रदर्शन थियो । तीनकुनेमा भेला भएका एमालेनिकट युवाहरूले व्यवस्थाका पक्षमा नाराबाजी गरे । गणतन्त्र जिन्दावादका नारा लगाउने एमालेनिकट प्रदर्शनकारीले प्रसाईंविरुद्ध पनि नाराबाजी गरे । उनीहरूले सरकारविरुद्ध पनि आक्रोश पोखे । तीनकुनेमा प्रदर्शनकारीहरूले सरकार र प्रसाईंविरुद्ध नाराबाजी गरेका थिए भने नेताहरूले सम्बोधन गरेका थिए । प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता कार्यकर्ता राजधानी आएका थिए । तीनकुनेको प्रदर्शन भने शान्तिपूर्ण नै रहृयो । बिहीबार दिनभर काठमाडौं अस्तव्यस्त बनाएको दुवै समूहको आन्दोलन भने अर्थहीन थियो । कुनै स्पष्ट एजेण्डाबिनै भएका प्रदर्शन नितान्त प्रतिस्पर्धा र जुँगाको लडाइँमा केन्द्रित मात्रै देखिए ।
प्रहरीमाथि ढुंगा प्रहार, स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा
प्रसाईं समूहको जनप्रदर्शनका कारण बिहीबार दिनभर काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बन्यो । बिहानै युवा संघका कार्यकर्तामाथि ढुंगा प्रहार गरेपछि सुरु भएको तनाव बेलुका अबेरसम्म कायम रहृयो । बल्खुमा प्रसाईंले सम्बोधन गरेपश्चात् प्रहरीसित समेत झडप भएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेपछि स्थिति थप तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको बताएको छ । प्रहरीका अनुसार : प्रसाईंका समर्थक त्यहाँबाट माइतीघर जाने भन्दै कालीमाटीतर्फ प्रवेश गरेपछि अश्रुग्याँस प्रहार गरिएको हो । प्रहरीको घेरा तोडेर जान लागेका प्रदर्शनकारीलाई रोक्न अश्रुग्याँस र पानीको फोहोरा हानेको थियो । दुर्गा प्रसाईंको जनप्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि पटक-पटक झडप भएका थिए । जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा फ्याँकेर प्रदर्शनकारीलाई तितरबितर बनाएको थियो । त्यसपछि एउटा समूहलाई बल्खु पुलपारि र अर्को समूहलाई परीक्षा नियन्त्रण कार्यालयतिर रोकिएको थियो । झडपका क्रममा केही घाइतेसमेत भएका थिए । अश्रुग्याँस प्रहारपछि प्रदर्शनकारीको भागाभाग भएको थियो । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालीमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो । बिहीबारको आन्दोलनमा प्रसाईं समूहबाट २६ जना घाइते भएका थिए । बल्खुको प्रदर्शनपछिको पत्रकार सम्मेलनमा प्रसाईंले २६ जना घाइते भएको जानकारी दिनुभएको हो । उहाँले घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक भएको पनि बताउनुभयो ।
राजतन्त्रको भूत पन्छाउन सडकमा आएका हौँ : बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरूसँग निहुँ खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिनुभएको छ । बिहीबार तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेता बस्नेतले आफूहरूको आन्दोलनले दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गर्नुभयो । ‘एमालेले समाज रूपान्तरणको अभियान चलाउने हो । हामी कसैलाई हस्तक्षेप गर्दैनौँ । कसैको विरुद्ध कार्यक्रम गर्दैनौँ,’ उहाँले भन्नुभयो, ‘तर, हाम्रो कार्यक्रमविरुद्ध निहुँ खोजेर आउँछ भने हामी छाड्दैनौँ । दुर्गा प्रसाईंको आजबाट हावा खुस्किएको छ । म चेतावनी दिन चाहन्छु भोलिदेखि ठिक ठाउँमा बस, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दै छौँ ।’
आगामी फागुनमा काठमाडौंमा मानवसागर उतार्ने बताउँदै उहाँले त्यसपछाडि अराजकतावादी, अपराधी र तस्करहरूलाई सदाको लागि सफा गर्ने उहाँले बताउनुभयो । बस्नेतले ‘राजतन्त्रको भूत पन्छाउन’ आफूहरू सडकमा आएको बताउनुभयो । ‘हामी शान्तिपूर्ण ¥याली गर्छौं । हामी महँगी, भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारलाई सचेतनाका लागि खबरदारी गर्न आन्दोलनमा आएका हौँ,’ उहाँले भन्नुभयो, ‘दुर्गा प्रसाईंजस्ता व्यक्तिलाई अघि सारेर राजतन्त्रको भूत आएकाले पन्छाउने गरी सडकमा आएका हौँ । यो पुरातनवादी शक्तिलाई पनि चेतावनी दिने कार्यक्रम हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए सिंहदबारको कुर्सीबाट ल्याएर सडकमा पछार्ने उहाँले चेतावनी दिनुभयो । ‘हामीले कानुन मान्यौँ र निषेधित क्षेत्र तोडेनौँ,’ उहाँले भन्नुभयो ‘प्रचण्डजीलाई पनि चेतावनी दिन चाहन्छु सच्चिनुभएन भने ३२ सिटे पार्टी र तपाईं जोगिन नेपाली जनताको भविष्य अन्धकारमय बनाउनुभयो भने सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघरमा कि तीनकुनेको सडकमा पछार्ने हो । त्यो तागत एमालेसँग छ ।’
यो आन्दोलन होइन, जनविद्रोह हो : प्रसाईं
आन्दोलनको नेतृत्व गर्नुभएका दुर्गा प्रसाईंले संघीयता भन्नेहरूलाई खेद्नुपर्ने बताउनुभएको छ । बिहीबार बल्खुमा आफ्नो समूहको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रसाईंले आफूहरूको प्रदर्शन आन्दोलन नभई जनविद्रोह भएको जिकिर गर्नुभयो । ‘यो देशलाई फेरि पुरानो नेपाल बनाउनुछ । संघीयता भन्नेलाई लात्ताले दिएर खेद्नुछ,’ उहाँले भन्नुभयो, ‘यो आन्दोलन होइन, यसलाई तपाईं आन्दोलन नभन्नुस्, जनताले भनेको जनविद्रोह हो ।’
प्रसाईंले प्रधानमन्त्री ‘प्रचण्ड’लाई जनतासमक्ष आत्मसमर्पण गर्न सुझाव दिनुभयो । ‘अहिलेका प्रधानमन्त्री प्रचण्डलाई म राम्रोसँग चिन्दछु । हिजो यिनै जनताले त्यो ठाउँमा पुर्याएका हुन्,’ उहाँले भन्नुभयो, ‘तपाईं सरेन्डर गर्नुहोस्, जनतासित आउनुहोस् ।’ नेपालका कैयौँ नेताहरूको विदेशमा लगानी रहेको उहाँले दाबी गर्नुभयो । उहाँले अब काठमाडौं कब्जा गर्ने चेतावनी दिनुभयो । ‘हामीले अब काठमाडौं कब्जा गर्नुपर्छ । संसद् भवन कब्जा गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीलाई चलाउने कोसिस भयो भने तपाईंहरूले काठमाडौंमा सबै दोकानहरू बन्द गराउनुपर्छ ।’
उहाँले आज (शुक्रबार)देखि काठमाडौं बन्द हुने चेतावनीसमेत दिनुभयो । बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिकले काठमाडौं बन्द गर्ने उहाँको दाबी छ ।
प्रदर्शनले सर्वसाधारणको अधिकारमा असर : आयोग
राष्ट्रिय मानव अधिकार आयोगले तीनकुनेमा आयोजित युवा संघको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । तर, बल्खुमा प्रसाई समूहको आन्दोलन भने तनावपूर्ण भनेको आयोगको निष्कर्ष छ । बिहीबार दुवै आन्दोलनको स्थलगत अवलोकन गरेको आयोगले प्रदर्शनका कारण प्रदर्शन क्षेत्रका विद्यालयहरूमा पठनपाठन अवरुद्ध भएको जनाएको छ । यस्तै, उक्त क्षेत्रका पसलहरू बन्द हुँदा निर्वाध रूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको आयोगले जनाएको छ । ‘बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूहबीच झडप तथा ढुंगा र इँटा प्रहार भएको, प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालिमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीका फोहोरा प्रहार गरेको र केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।
सर्वसाधारणले स्वतन्त्र र सुरक्षित रूपमा आवतजावत गर्न नपाएकाले यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगको अनुगमनबाट देखिएको छ । आयोगले आगामी दिनमा समेत आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन र प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन सरकार तथा प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।
आजदेखि आन्दोलन चर्काउने, उपत्यकावासीलाई सहभागी हुन आग्रह
बिहीबारको आन्दोलनको समापन गर्दै दुर्गा प्रसाईंले शुक्रबार (आज)देखि आन्दोलन झन् चर्काउने चेतावनी दिनुभएको छ । प्रसाईंले शुक्रबारको आन्दोलन तीनकुनेबाट सुरु हुने र सिंहदरबार घेर्ने चेतावनीसमेत दिनुभयो । उहाँले यो व्यवस्था परिवर्तन गरिछाड्ने चेतावनी पनि दिनुभएको छ । उहाँले यसमा व्यापक सहभागिता जनाउन उपत्यकावासीलाई पनि आग्रह गर्नुभएको छ । प्रसाईंले भन्नुभयो, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ ।’
उहाँले काठमाडौंलाई स्वस्फूर्त रूपमा बन्द गर्न आग्रह गर्दै पसलहरू बन्द गरेर अभियानलाई सघाउन आहृवान पनि गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘म काठमाडौंवासीलाई सटर बन्द गरेर आन्दोलनमा सहभागी हुन आहृवान गर्छु ।’
प्रसाईंले आफू नेतृत्वको आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतासमक्ष आत्मसमर्पण गर्न चेतावनी दिनुभयो । उहाँले जनतासमक्ष आत्मसमर्पण गरेर आफ्नो राजनीति सुरक्षित राख्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गर्नुभयो । प्रसाईंले सम्बोधनका क्रममा ट्याक्सी र टिपरवालालाई पनि आहृवान गर्दै आजदेखिको आन्दोलनमा सडकमा ट्याक्सी र टिपर तेस्र्याउन पनि भन्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच